Online Bible

- Reklamy -

मत्ती 5 - सरल नेपाली पवित्र बाइबल


येशूले डाँडामा दिनुभएको उपदेश
( लूका ६:२०-२६ )

1 मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्‍नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे।

2 अनि उहाँले तिनीहरूलाई शिक्षा दिँदै यसो भन्‍नुभयो–

3 “आफूलाई आत्‍मामा गरीब ठान्‍नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो।

4 शोक गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले तिनीहरूलाई मनमा शान्‍ति दिनुहुनेछ।

5 नम्र हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले पृथ्‍वीमा अधिकार गर्न पाउनेछन्।

6 परमेश्‍वरको हरेक आज्ञा र इच्‍छा पूरा होस् भनेर सम्‍पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ।

7 दया गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ।

8 शुद्ध मन हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्।

9 मेलमिलाप गराउनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरू परमेश्‍वरका सन्‍तान कहलिनेछन्।

10 परमेश्‍वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो।

11 “मलाई विश्‍वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्‍दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्‍य हौ!

12 त्‍यति बेला तिमीहरू खुसी र आनन्‍दित होओ किनभने तिमीहरूको लागि स्‍वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्‍यसरी नै दु:ख दिएर सताएका थिए।


नुन र ज्‍योतिको उदाहरण
( मर्कूस ९:५० ; लूका १४:३४-३५ ; ११:३३ )

13 “तिमीहरू त पृथ्‍वीका नुन हौ। तर नुन नै अलिनो भयो भने फेरि केले नुनिलो पार्ने? त्‍यो त कामै नलाग्‍ने भई फ्‍याँकिनेछ र मानिसले कुल्‍चनेछन्।

14 “तिमीहरूचाहिँ संसारका ज्‍योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्‍न सक्‍दैन

15 अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्‍दैन। बरु घरभरि उज्‍यालो होस् भनेर बत्तीचाहिँ अग्‍लो ठाउँमा राखिन्‍छ।

16 त्‍यसरी नै तिमीहरूको उज्‍यालो पनि अरू मानिसहरूको अगाडि चम्‍कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्‍नेछन् र स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताको महिमा गर्नेछन्।


व्यवस्थाको पालन गर्ने बारेमा शिक्षा
( लूका १६:१७ )

17 “मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्‍ने नसम्‍झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ।

18 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आकाश र पृथ्‍वी बितेर नगएसम्‍म परमेश्‍वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्‍नेछैन।

19 व्यवस्थाको सानोभन्दा सानो कुरालाई मिच्‍ने र मिच्‍न सिकाउने मानिस परमेश्‍वरको राज्‍यमा सबैभन्दा सानो ठहरिनेछ। तर व्यवस्था आफू पनि मान्‍ने र अरूलाई पनि मान्‍न लगाउनेचाहिँ परमेश्‍वरको राज्‍यमा ठूलो ठहरिनेछ।

20 यसैकारण म तिमीहरूलाई भन्‍छु, व्यवस्थाका आज्ञाहरूलाई धर्म-गुरु र फरिसीहरूले भन्दा राम्ररी पालन गरेनौ भने तिमीहरू परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ।


रिसको बारेमा शिक्षा

21 “उहिलेका मानिसहरूलाई ‘मान्‍छे नमार्नू, मार्‍यौ भने दण्‍ड पाउनेछौ’ भनिन्‍थ्‍यो। यो त तिमीहरूलाई थाहै छ।

22 तर म तिमीहरूलाई भन्‍छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्‍ड पाउनेछ। कसैले आफ्‍नो भाइलाई मूर्ख भन्‍यो भने त्‍यसले सभामा जवाफ दिनुपर्छ। आफ्‍नो भाइलाई सराप्‍ने त झन् नरकको आगोमैपर्नेछ।

23 “यसकारण परमेश्‍वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने

24 आफ्‍नो भेटी वेदीकै अघि छोडी तुरुन्‍तै गएर आफ्‍नो भाइसँग मिलाप गर। त्‍यसपछि मात्रै आएर आफ्‍नो भेटी चढाऊ।

25 “अदालतमा पुग्‍नुभन्दा अघि, मौका हुँदै आफ्‍नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्‍यायाधीशकहाँ उजुर गर्नेछ अनि न्‍यायाधीशले तिमीलाई सिपाहीको जिम्‍मा लाउनेछ र तिमी थुनामापर्नेछौ।

26 साँच्‍चै म तिमीलाई भन्‍छु, त्‍यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्‍म तिमी त्‍यहाँबाट उम्‍कन पाउनेछैनौ।


व्‍यभिचार नगर्ने बारेमा शिक्षा

27 “ ‘व्‍यभिचार गर्नुहुँदैन’ भनेको कुरा त तिमीहरूले सुनेका छौ।

28 तर म भन्‍छु, कसैले कुनै स्‍त्रीलाई नराम्रो विचारले हेर्‍यो भने पनि त्‍यसले मनमा व्‍यभिचार गरिसकेको हुन्‍छ।

29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई झिकेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा फालिनुभन्दा त शरीरको कुनै अङ्ग नहुनु नै तिम्रो लागि धेरै राम्रो हो।

30 त्‍यसरी नै तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्‍यसलाई काटेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा पर्नुभन्दा त त्‍यो हात नहुनु नै तिम्रो लागि धेरै राम्रो हो।


विवाह त्‍याग-पत्र बारेमा शिक्षा
( मत्ती १९:९ ; मर्कूस १०:११-१२ ; लूका १६:१८ )

31 “ ‘स्‍वास्‍नी त्‍याग्‍नेले त्‍यागपत्र लेखेर त्‍यागोस्’ भनिएको छ।

32 तर म भन्‍छु, व्‍यभिचारको दोषबिना स्‍वास्‍नी त्‍याग्‍नेले उसलाई व्‍यभिचार गर्न लगाउँछ र यसरी त्‍यागेकीलाई विवाह गर्नेले पनि व्‍यभिचार गर्छ।


शपथ नखाने बारेमा शिक्षा

33 “उहिलेका मानिसहरूलाई ‘झूटो शपथ नखानू र परमप्रभुलाई गरेको वाचा पूरा गर्नू’ भनेको तिमीहरूलाई थाहै छ।

34 तर म तिमीहरूलाई भन्‍छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्‍वरको सिंहासन हो।

35 पृथ्‍वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त परमेश्‍वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त स्‍वर्गमा हुनुहुने महाराजाको सहर हो।

36 आफ्‍नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्‍नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्‍दैनौ।

37 जे कुरा भन्‍नु छ, हो भने हो, होइन भने होइन भन। त्‍योभन्दा बढी भन्‍नुचाहिँ दुष्‍टका कुरा हुन्।


बदला नलिने बारेमा शिक्षा
( लूका ६:२९-३० )

38 “ ‘आँखाको बदला आँखा, दाँतको बदला दाँत’ भनेको तिमीहरूलाई थाहा छ।

39 तर म भन्‍छु, तिमीहरूले कसैसँग बदला नलिनू। यदि कसैले तिम्रो दाहिने गालामा हिर्काउँछ भने देब्रे गाला पनि थापिदेओ।

40 कसैले मुद्दा चलाएर तिम्रो दौरा लान खोज्‍छ भने उसलाई तिम्रो कोट पनि देओ।

41 तिमीलाई जबरजस्‍तीसँग आधा कोस लान खोज्‍नेसँग एक कोससम्‍मै गइदेओ

42 अनि तिमीसँग माग्‍नेलाई देओ र ऋण माग्‍नेलाई पनि ऋण देओ।


शत्रुलाई पनि प्रेम गर्नुपर्छ
( लूका ६:२७-२८ , ३२-३६ )

43 “ ‘छिमेकीलाई प्रेम गर, शत्रुलाई चाहिँ घृणा गर’ भनेको तिमीहरूलाई थाहै छ।

44 तर म तिमीहरूलाई भन्‍छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्‍ति प्रार्थना गर।

45 सो गर्‍यौ भने तिमीहरू स्‍वर्गमा हुनुहुने परमेश्‍वर पिताका छोरा-छोरी हुनेछौ किनभने परमेश्‍वरले पनि दुष्‍ट र असल दुवैलाई घाम लगाइदिनुहुन्‍छ अनि पापी र धर्मात्‍मा दुवैका लागि नै पानी बर्साइदिनुहुन्‍छ।

46 आफूलाई माया गर्नेलाई मात्रै माया गर्छौ भने तिमीहरूले के इनाम पाउन सक्‍छौ र? त्‍यस्‍तो माया त कर उठाउनेहरूले पनि गर्छन् नि!

47 तिमीहरू खालि आफ्‍नाहरूलाई मात्रै स्‍वागत-सत्‍कार गर्छौ भने अरूभन्दा कुन ठूलो काम गरेका हुन्‍छौ र? परमेश्‍वरलाई नचिन्‍नेहरूले पनि त त्‍यस्‍तो काम गर्छन्!

48 स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिता सबै कुरामा ठीक हुनुभएजस्‍तै तिमीहरू पनि सबै कुरामा ठीक होओ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy