मत्ती 4 - सरल नेपाली पवित्र बाइबलशैतानले येशूलाई पापमा फसाउन खोजेको ( मर्कूस १:१२-१३ ; लूका ४:१-१३ ) 1 त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो। 2 उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्म केही पनि खानुभएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। 3 त्यसै बेला शैतानले उहाँकहाँ आएर भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होइजा भन्नुहोस्।” 4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्तैन, तर ऊ परमेश्वरको मुखबाट निक्लेको हरेक बोलीले बाँच्दछ।” 5 त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्यो र मन्दिरको टुप्पोमा पुर्याएर भन्यो, 6 “यदि साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने लौ यहाँबाट तल हाम फाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– ‘परमेश्वरले तिम्रो लागि आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र ढुङ्गाले तिम्रा खुट्टामा चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्’।” 7 येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्’।” 8 फेरि शैतानले येशूलाई एउटा अग्लो पहाडमा लग्यो र संसारका सबै राज्य र तिनीहरूको चमक देखाउँदै भन्यो, 9 “मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।” 10 येशूले भन्नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्’।” 11 शैतानले येशूलाई छोडेर गयो अनि स्वर्गदूतहरू आएर येशूको सेवा गरे। येशूले गालीलमा आफ्नो काम सुरु गर्नुभएको ( मर्कूस १:१४-१५ ; लूका ४:१४-१५ ) 12 यूहन्ना थुनामा परेका छन् भन्ने कुरा सुनेर येशू गालीलतिर जानुभयो। 13 तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्ताली कुलका क्षेत्रमा पर्थ्यो। 14 यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो। 15 “यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्ने अरू जातिका मानिसहरू हो! 16 अन्धकारमा बस्नेहरूले ठूलो उज्यालो देख्नेछन्। मृत्यु र अन्धकारमा परेकाहरू, तिमीहरूमाथि त्यो ठूलो उज्यालो चम्कनेछ।” 17 त्यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्नुभयो, “आ-आफ्नो पापलाई मानिलिएर त्यसलाई छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।” येशूले जलाहारीहरूलाई बोलाउनुभएको ( मर्कूस १:१६-२० ; लूका ५:१-११ ) 18 एक दिन गालील तालको किनारै-किनार हिँडिरहनुहुँदा येशूले दुई जना जलाहारीलाई जाल हानिरहेका देख्नुभयो। तिनीहरू पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियास थिए। 19 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्छे समात्ने जलाहारी बनाउनेछु।” 20 यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे। 21 त्यसपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई भेट्नुभयो। तिनीहरू आफ्ना बुबा जब्दियासँग नाउमा बसेर जाल तुन्दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो। 22 तब तिनीहरूले तुरुन्तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे। येशूका शिक्षा, प्रचार र चङ्गाइ ( लूका ६:१७-१९ ) 23 येशू गालील क्षेत्रभरि घुम्नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्वरको राज्य आइसक्न लाग्यो भन्ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। 24 त्यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्यो। मानिसहरूले सबै किसिमका रोग र व्यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्याए। तिनीहरूमध्ये कसैलाई दुष्टात्मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो। 25 धेरै मानिसहरूले उहाँलाई पछ्याए। ती मानिसहरू गालील क्षेत्र, दश सहर भन्ने क्षेत्र, यरूशलेम सहर, यहूदिया क्षेत्र र यर्दन नदीको पारिबाट आएका थिए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society