Online Bible

- Reklamy -

मत्ती 3 - सरल नेपाली पवित्र बाइबल


बप्‍तिस्‍मा दिने यूहन्‍नाको प्रचार
( मर्कूस १:१-८ ; लूका ३:१-१८ ; यूहन्‍ना १:१९-२८ )

1 त्‍यस समयमा बप्‍तिस्‍मा दिने यूहन्‍नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्‍दै प्रचार गर्न लागे,

2 “आ-आफ्‍नो पाप मानिलेऊ र त्‍यो छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।”

3 अब यशैया अगमवक्ताले पनि यिनै यूहन्‍नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ’!”

4 यूहन्‍नाले ऊँटको रौंले बुनेको लुगा लगाउँथे, कम्‍मरमा छालाको पेटी बाँध्‍थे अनि सलह र बन-मह खान्‍थे।

5 यरूशलेम सहर, यहूदियाका सबै गाउँ र यर्दन नदीका चारैतिरबाट मानिसहरू उनीकहाँ आउन थाले

6 अनि आ-आफ्‍ना पाप मानिलिने जतिलाई यूहन्‍नाले यर्दन नदीमा बप्‍तिस्‍मा दिए।

7 फरिसी र सदुकी भन्‍ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्‍तिस्‍मा लिन यूहन्‍नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्‍नाले भने, “ए विषालु सर्पका सन्‍तान हो, परमेश्‍वरले गर्नुहुने न्‍यायबाट उम्‍कन तिमीहरूलाई कसले सिकायो?

8 तिमीहरूले आ-आफ्‍ना पापलाई मानिलिएर आफ्‍नो मन परमेश्‍वरतिर फर्काएका हौ भने त्‍यहीअनुसार चल्‍ने गर।

9 ‘हामी अब्राहामका सन्‍तान हौं’ भन्‍दैमा तिमीहरू उम्‍कन्‍छौ भन्‍ने नसम्‍झ। म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरले यी ढुङ्गाबाट पनि अब्राहामका सन्‍तान जन्‍माउन सक्‍नुहुन्‍छ।

10 रूखको फेदमा बन्‍चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।

11 “साँच्‍चै, तिमीहरूले आ-आफ्‍नो पाप मानिलिएर त्‍यसलाई छोड्‍न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्‍छ। म त उहाँको जुत्ता बोक्‍ने लायकको पनि छैनँ।

12 अन्‍न निफन्‍नलाई उहाँले हातमा नाङ्लो लिइसक्‍नुभएको छ। निफनेर अन्‍नचाहिँ भकारीमा थन्‍क्‍याउनुहुनेछ, तर भुसचाहिँ कहिल्‍यै ननिभ्‍ने आगोमा डढाउनुहुनेछ।”


येशूको बप्‍तिस्‍मा
( मर्कूस १:९-११ ; लूका ३:२१-२२ ; यूहन्‍ना १:३२-३४ )

13 त्‍यस समय येशू गालीलबाट आइपुग्‍नुभयो र यूहन्‍नाबाट बप्‍तिस्‍मा लिन यर्दन नदीमा जानुभयो।

14 तर यूहन्‍नाले उहाँलाई रोक्‍न खोजेर यसो भने, “मैले त होइनँ, हजुरले पो मलाई बप्‍तिस्‍मा दिनुपर्थ्‍यो। तर अब हजुर मकहाँ पो आउनुभयो!”

15 येशूले उनलाई भन्‍नुभयो, “यसै हुन देऊ, परमेश्‍वरको हरेक इच्‍छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।” यो कुरा मानेर यूहन्‍नाले येशूलाई बप्‍तिस्‍मा दिए।

16 बप्‍तिस्‍मा लिइसक्‍नुभएपछि येशू झट्टै पानीबाट निस्‍कनुभयो, त्‍यति बेला स्‍वर्ग उघ्रियो र उहाँले परमेश्‍वरको आत्‍मालाई ढुकुरजस्‍तै आफूमाथि आइरहनुभएको देख्‍नुभयो।

17 त्‍यति नै खेर स्‍वर्गबाट यस्‍तो बोलिएको सुनियो, “यिनी मेरा प्‍यारा छोरा हुन्, यिनीदेखि म धेरै खुसी छु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy