मत्ती 27 - सरल नेपाली पवित्र बाइबलयेशू पिलातसकहाँ लगिनुभएको ( मर्कूस १५:१ ; लूका २३:१-२ ; यूहन्ना १८:२८-३२ ) 1 बिहानीपख मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई मार्ने निधो गरे 2 अनि तिनीहरूले उहाँलाई बाँधेर रोमी बडा-हाकिम पिलातसकहाँ लगेर सुम्पिदिए। यहूदाको मृत्यु ( प्रेरित १:१८-१९ ) 3 येशूलाई ज्यान सजाय दिएको कुरा सुनेर पक्राइदिने यहूदालाई पश्चात्ताप लाग्यो। त्यसले ती चाँदीका तीस सिक्का लिई मुख्य पूजाहारी र अरू अगुवाहरूकहाँ गएर 4 भन्यो, “मैले अपराध गरें, निर्दोष मानिसलाई मार्नलाई पक्राइदिएँ।” तिनीहरूले जवाफ दिए, “त्यसको हामीलाई के मतलब? त्यो त तिम्रो कुरा पो हो।” 5 यो सुनेर यहूदाले त्यो पैसा मन्दिरभित्र फ्याँकिदियो अनि त्यहाँबाट गएर त्यो झुण्डिएर मर्यो। 6 मुख्य पूजाहारीहरूले चाहिँ त्यो पैसा टिपेर भने, “यो त रगतको पैसा हो, यसलाई मन्दिरको ढुकुटीमा राख्नु ठीक हुँदैन।” 7 यसकारण तिनीहरूले परदेशीहरूका लाश गाड्न कुमालेको बारी भनिने जमिन किन्ने सल्लाह गरे। 8 त्यसैकारण आजसम्म पनि त्यो जमिनलाई ‘रगतको जमिन’ भन्ने चलन छ। 9 यसरी त्यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो, “इस्राएलका मानिसहरूले उहाँको लागि तोकेको मोलचाहिँ चाँदीका तीस सिक्का थियो। त्यो तिनीहरूले लिए। 10 अनि परमप्रभुले मलाई अह्राउनुभएजस्तै गरी तिनीहरूले त्यो पैसा कुमालेको बारीको लागि दिए।” पिलातसको सामुन्ने येशू ( मर्कूस १५:२-१५ ; लूका २३:३-५ , १३-२५ ; यूहन्ना १८:२९—१९:१६ ) 11 येशू रोमी बडा-हाकिमको अघि उभिनुभएपछि हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” 12 मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई धेरै दोष लगाउन थाले। तर जतिसुकै दोष लगाए तापनि उहाँले केही पनि भन्नुभएन। 13 यसकारण पिलातसले उहाँलाई भने, “तिनीहरूले यतिका दोषहरू लगाएको तिमी सुन्दैनौ?” 14 तर येशूले एउटै कुराको पनि जवाफ दिनुभएन। यो देखेर बडा-हाकिमलाई साह्रै अचम्म लाग्यो। 15 निस्तार चाडको बेलामा बडा-हाकिमले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए। 16 त्यस बेला बारब्बा नाउँ गरेको एक जना डरलाग्दो मानिस झ्यालखानमा थियो। 17 अनि पिलातसले जम्मा भएका मानिसहरूलाई सोधे, “लौ भन, म कसलाई छोडिदिऊँ? बारब्बालाई कि ख्रीष्ट भन्ने येशूलाई?” 18 किनभने तिनीहरूले येशूलाई डाह गरेर सुम्पन ल्याएका हुन् भन्ने कुरा बडा-हाकिमलाई थाहा थियो। 19 पिलातस न्याय आसनमा बसेका थिए। त्यसै बेला उनकी स्वास्नीले उनलाई यसो भनेर खबर पठाइन्, “ती धर्मात्मा मानिसलाई केही पनि नगर्नुहोला किनभने आज राती मैले उनको बारेमा सपना देखेर धेरै दु:ख पाएकी छु।” 20 तर मुख्य पूजाहारी र अरू अगुवाहरूले चाहिँ मानिसहरूको धुइरोलाई सुर्याएर यसो भन्न लगाए, “येशूलाई मार्नुहोस्, बारब्बालाई चाहिँ छोडिदिनुहोस्।” 21 बडा-हाकिमले फेरि सोधे, “साँच्चै भन, कसलाई छोडिदिऊँ?” तिनीहरूले “बारब्बालाई नै छोडिदिनुहोस्,” भनेर कराए। 22 अनि पिलातसले तिनीहरूलाई फेरि सोधे, “त्यसो भए ख्रीष्ट भन्ने येशूलाई चाहिँ म के गरूँ त?” “त्यसलाई क्रूसमा झुण्ड्याइयोस्!” तिनीहरू सबैले कराएर भने। 23 पिलातसले सोधे, “यिनले के अपराध गरेका छन् र?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमै झुण्ड्याइयोस्!” 24 पिलातसलाई अब केही सीप नलाग्लाजस्तो भयो। अब त गोल-माल मच्चिएला भन्ने ठानेर उनले सबैको अगाडि हात धुँदै भने, “हेर, यी मानिसलाई मारेको दोष मलाई होइन, तर तिमीहरूलाई नै लागोस्।” 25 “हुन्छ-हुन्छ, यसलाई मारेको दोष हामी र हाम्रै छोरा-छोरीमाथि नै परोस्!” तिनीहरूले कराउँदै भने। 26 तब पिलातसले बारब्बालाई छोडिदिए। येशूलाईचाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन सिपाहीहरूलाई जिम्मा लगाए। सिपाहीहरूले येशूलाई गिल्ला गरेका ( मर्कूस १५:१६-२० ; यूहन्ना १९:२-३ ) 27 त्यसपछि पिलातसका सिपाहीहरूले येशूलाई दरबारभित्र लगे अनि अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए। 28 तिनीहरूले येशूको लुगा फुकालेर उहाँलाई राजाको जस्तै रातो पोशाक पहिराइदिए। 29 काँडाको मुकुट बनाएर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातले निगालो लिन लगाएर उहाँको अगाडि झुकेर गिल्ला गर्दै भने, “यहूदीहरूका राजाको जय होस्!” 30 त्यसपछि सिपाहीहरूले उहाँलाई थुके अनि निगालो खोसेर उहाँकै टाउकोमा हिर्काए। 31 तिनीहरूले उहाँलाई यसरी गिल्ला गरिसकेपछि रातो पोशाक फुकालेर उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्ड्याउन लगे। येशू क्रूसमा टाँगिनुभएको ( मर्कूस १५:२१-३२ ; लूका २३:२६-४३ ; यूहन्ना १९:१७-२७ ) 32 बाटोमा जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ गरेका एक जना कुरेनी देशको मानिसलाई भेटे। तिनीहरूले तिनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए 33 अनि तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। 34 त्यहाँ पुगेर तिनीहरूले येशूलाई तीतो औषधी हालेको सिर्का खान दिए। चाखेपछि उहाँले पिउन मान्नुभएन। 35 त्यसपछि तिनीहरूले येशूलाई क्रूसमा किला ठोकेर झुण्ड्याए। उहाँको लुगाचाहिँ तिनीहरूले आपसमा चिट्ठा हालेर बाँडे। 36 तिनीहरू उहाँलाई कुरेर बसे। 37 उहाँको शिरमाथि तिनीहरूले “यो येशू यहूदीहरूको राजा हो,” भनी दोष पत्र लेखेको टाँगिदिए। 38 येशूलाई झुण्ड्याउँदा तिनीहरूले दुई डाकुहरूलाई पनि उहाँको दायाँ र बायाँपट्टि क्रूसमा झुण्ड्याए। 39 त्यो बाटो भएर जाने जति सबै मानिसहरूले मुण्टो हल्लाई-हल्लाई येशूको गिल्ला गर्दै भने, 40 “मन्दिर भत्काएर फेरि तीन दिनमा नै बनाउन सक्ने मानिस तैं होइनस्? यदि परमेश्वरकै पुत्र होस् भने लौ त आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” 41 त्यसै गरेर मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पनि येशूलाई गिल्ला गरे। 42 तिनीहरूले भने, “त्यसले अरूलाई त बचायो, तर हेर, आफैंलाई चाहिँ बचाउन सकेन। यदि यो इस्राएलीहरूकै मुक्ति दिने राजा हो भने क्रूसबाट ओर्लिएर आओस् अनि पो हामी विश्वास गरौंला! 43 यसले परमेश्वरमा विश्वास गर्थ्यो र ‘म त परमेश्वरको पुत्र हुँ’ भनी हिँड्थ्यो। परमेश्वर यससँग खुसी हुनुभएको छ भने अब उहाँले नै यसलाई बचाऊन्।” 44 त्यसै गरी उहाँकै साथमा झुण्ड्याइएका ती डाँकाहरूसमेतले येशूको गिल्ला गरे। येशूको मृत्यु ( मर्कूस १५:३३-४१ ; लूका २३:४४-४९ ; यूहन्ना १९:२८-३० ) 45 दिउँसो बाह्र बजेदेखि तीन बजेसम्म देशभरि नै अँध्यारो भइरह्यो। 46 तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्नुभयो, “इलोई-इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, मलाई किन त्याग्नुभयो?” 47 येशू यसरी कराउनुभएको सुनेर त्यहाँ उभिनेहरूमध्ये कसै कसैले भने, “यो मानिसले त एलियालाई पो बोलाउँदो रहेछ!” 48 एक जनाचाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्यायो र त्यो झुम्रो निगालोको टुप्पामा अड्काएर येशूलाई पिउन दियो। 49 तर अरूहरूले भने, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई बचाउँछन् कि, हेरौं!” 50 तर त्यति नै बेला येशूले फेरि एकपल्ट ठूलो सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो। 51 तब हेर, त्यही समयमा मन्दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्मै दुई भाग भएर च्यातियो। भूइँचालो गयो, पहराहरू फुटे, 52 चिहानहरू उघ्रिए र मरिसकेका परमेश्वरका धेरै जनहरू बिउँते। 53 येशू मरेकोबाट बिउँतनुभएपछि तिनीहरू आ-आफ्ना चिहानबाट निस्केर पवित्र सहरमा पसे र धेरै मानिसहरूकहाँ देखा परे। 54 भूइँचालो गएको र त्यहाँ भएका सबै थोक देखेर येशूलाई कुरेर बसेका सिपाहीहरू र तिनीहरूका कप्तान ज्यादै डराए। अनि तिनीहरूले भने, “साँच्चै यिनी त परमेश्वरकै पुत्र रहेछन्।” 55 धेरै जना स्वास्नी मानिसहरू पनि टाढैबाट उभिएर हेरिरहेका थिए। तिनीहरूले येशूलाई गालीलदेखि पछ्याउँदै र सहायता गर्दै आएका थिए। 56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम अनि जब्दियाका दुई छोराकी आमा थिए। येशूलाई चिहानमा राखिएको ( मर्कूस १५:४२-४७ ; लूका २३:५०-५६ ; यूहन्ना १९:३८-४२ ) 57 साँझमा योसेफ नाउँ गरेका एक जना अरिमाथिया सहरका धनी मानिस आए। उनी पनि येशूकै चेला भएका थिए। 58 अब उनले पिलातसकहाँ गएर येशूको लाश मागे। पिलातसले पनि उनलाई लाश लाने अनुमति दिए। 59 योसेफले लाश लगेर एउटा नयाँ असल सुती कपडामा बेरे 60 र त्यो लाशलाई भर्खरै मात्र पहरा खोपेर आफ्नो लागि बनाइराखेको नयाँ चिहानमा राखे अनि एउटा ठूलो ढुङ्गो गुडाएर चिहानको मुख बन्द गरी उनी त्यहाँबाट गए। 61 मरियम मग्दलिनी र अर्की मरियमचाहिँ चिहानको अगाडि नै बसिरहे। सिपाहीहरूले येशूको चिहान कुरेका 62 भोलिपल्ट विश्रामको दिनमा मुख्य पूजाहारी र फरिसीहरू मिलेर पिलातसकहाँ गएर भने, 63 “हजुर, हामीले सम्झिराखेका छौं, त्यस ठगले जिउँदो छँदा ‘म मरेर तेस्रो दिनमा फेरि बिउँतनेछु’ भन्दै हिँड्थ्यो। 64 यसकारण तीन दिन नबितेसम्म त्यो चिहान राम्ररी कुर्न लगाइदिनुहोस्। कहीँ उसका चेलाहरूले आएर उसको लाश चोरेर लगी ‘उहाँ त मरेकोबाट बिउँतनुभएको छ’ भनेर मानिसहरूलाई छल्न नपाऊन्! नत्रता पहिलेको छलभन्दा पनि त्यो नराम्रो हुनेछ।” 65 त्यसो हुँदा पिलातसले तिनीहरूलाई भने, “सिपाहीहरूलाई लगेर जतिसक्दो राम्ररी चिहानको पहरा दिन लगाउनुहोस्।” 66 अनि उनीहरूले गएर चिहान सुरक्षित राख्न चिहानको मुख छोप्ने ढुङ्गामा छाप मारे र सिपाहीहरूलाई कुर्न लगाए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society