मत्ती 26 - सरल नेपाली पवित्र बाइबलयेशूलाई मार्ने मतो ( मर्कूस १४:१-२ ; लूका २२:१-२ ; यूहन्ना ११:४५-५३ ) 1 यी सबै कुरा सिकाइसक्नुभएपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 2 “तिमीहरूलाई थाहै छ, दुई दिनपछि निस्तार चाड आउनेछ। त्यतिखेर क्रूसमा झुण्ड्याएर मार्नलाई मानव पुत्र सुम्पिइनेछ।” 3 त्यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे। 4 त्यस सभामा तिनीहरूले येशूलाई सुटुक्क पक्रेर मार्ने मतो गरे। तर तिनीहरूले यस्तो विचार गरे, 5 “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रता मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।” येशूको टाउकोमा अत्तर खन्याइएको ( मर्कूस १४:३-९ ; यूहन्ना १२:१-८ ) 6 येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। 7 एउटी स्त्री सिङ्गमरमरको भाँडामा धेरै महँगो अत्तर लिएर येशूकहाँ आइन्। उहाँले खाना खान लाग्नुभएको बेला उहाँको टाउकोमा सबै अत्तर खन्याइदिइन्। 8 उनले यसो गरेको सहन नसकेर चेलाहरूले भने, “यति धेरै अत्तर किन त्यसै खेर फालेको? 9 बरु यसलाई धेरै पैसामा बेचेर गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि!” 10 तिनीहरूले यस्तो कुरा भनेको सुनेर येशूले भन्नुभयो, “किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छिन्। 11 गरीबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म त हुन्न! 12 यो अत्तर खन्याएर यिनले मेरो शरीरलाई गाड्नको लागि तयार पारेकी हुन्। 13 साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा यो सुसमाचार जहाँ-जहाँ सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।” येशूलाई पक्राइदिन यहूदा तयार भएको ( मर्कूस १४:१०-११ ; लूका २२:३-६ ) 14 त्यसपछि बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गएर भन्यो, 15 “यदि मैले येशूलाई पक्राइदिएँ भने मलाई के दिनुहुन्छ?” अनि तिनीहरूले त्यसलाई यस कामको लागि चाँदीका तीस वटा सिक्का दिए। 16 त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो। अन्तिम भोज ( मर्कूस १४:१२-२६ ; लूका २२:७-२३ ; यूहन्ना १३:२१-३० ; १ कोरिन्थी ११:२३-२५ ) 17 खमिर नहालेको रोटी खाने निस्तार चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आए र सोधे, “तपाईंको लागि चाडको भोज हामी कहाँ ठीक पारौं?” 18 उहाँले तिनीहरूलाई भन्नुभयो, “सहरमा एक विशेष मानिसकहाँ जाओ र भनिदेओ: गुरुले यसो भन्नुभएको छ, ‘मेरो बेला भयो। म आफ्ना चेलाहरूसँग तपाईंको घरमा निस्तार चाडको भोज खान चाहन्छु’।” 19 चेलाहरूले गएर येशूले अह्राउनुभएजस्तै गरे अनि त्यहीँ नै चाडको भोज ठीक पारे। 20 येशू बेलुका बाह्र जना चेलाहरूसँगै खान बस्नुभयो। 21 खाइरहँदा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” 22 यो सुनेर चेलाहरूलाई ज्यादै दु:ख लाग्यो र एक-एक जनाले “साँच्चै मलाई त भन्नुभएको होइन प्रभु?” भनी सोधे। 23 येशूले तिनीहरूलाई भन्नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्नेले मलाई पक्राइदिनेछ। 24 धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ। तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ। त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो!” 25 पक्राइदिने यहूदाले पनि भन्यो, “साँच्चै मलाई त भन्नुभएको होइन, गुरु?” येशूले जवाफ दिनुभयो, “त्यो त तिमी आफैंले नै भन्दै छौ।” 26 खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।” 27 त्यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिँदै भन्नुभयो, “यो तिमीहरू सबैले पिउनू। 28 यो नयाँ करार जोड्ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्नलाई बगाइनेछ। 29 म तिमीहरूलाई भन्छु, मेरो पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी नपिउञ्जेलसम्म म फेरि यो दाखमद्य पिउनेछैन।” 30 अनि एउटा भजन गाउनुभएपछि येशू चेलाहरूसँग जैतुन डाँडातिर लाग्नुभयो। पत्रुसको इन्कारबारे येशूको अगमवाणी ( मर्कूस १४:२७-३१ ; लूका २२:३१-३४ ; यूहन्ना १३:३६-३८ ) 31 त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्नेछौ। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्। 32 तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” 33 यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्यै छोड्नेछैन।” 34 येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि नै मलाई चिन्दैचिन्दिनँ भनेर तिमीले तीनपल्टसम्म इन्कार गर्नेछौ।” 35 “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्दिनँ भनेर कहिल्यै पनि भन्नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्यसै भने। गेतसमनी बगैँचामा येशूको प्रार्थना ( मर्कूस १४:३२-४२ ; लूका २२:२९-४६ ) 36 त्यसपछि येशू आफ्ना चेलाहरूसँग गेतसमनी भन्ने बगैँचामा जानुभयो। त्यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू यहीँ बसिराख है, म अलि पर गएर प्रार्थना गर्छु।” 37 तर पत्रुस र जब्दियाका दुई छोरालाई चाहिँ उहाँले आफूसँगै लानुभयो अनि येशू असाध्यै दु:ख र पीडामा पर्नुभयो। 38 उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।” 39 उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्न लाग्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।” 40 येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू एक घण्टा पनि मेरो लागि जागै बस्न सक्दैनौ? 41 तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” 42 फेरि गएर येशूले दोस्रोपल्ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्छा पूरा होस्।” 43 अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि पनि निदाइरहेका भेट्टाउनुभयो। तिनीहरूले आँखा उघार्न नै सकेनन्। 44 अनि येशूले तिनीहरूलाई त्यत्तिकै छोडेर गई तेस्रोपल्ट फेरि अघिजस्तै प्रार्थना गर्नुभयो। 45 त्यसपछि उहाँ चेलाहरू भएको ठाउँमा फर्की आएर भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? सुन, म मानव पुत्र पापी मानिसको हातमा सुम्पिने बेला भइसक्यो। 46 अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।” येशू पक्राउ पर्नुभएको ( मर्कूस १४:४३-५० ; लूका २२:४७-५३ ; यूहन्ना १८:३-१२ ) 47 येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ आइपुग्यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए। 48 पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्वाइँ खान्छु, त्यही येशू हो, त्यसलाई नै पक्रिनू’ भनेको थियो। 49 अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्वाइँ खायो। 50 येशूले भन्नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्यो गरिहाल।” त्यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे। 51 यो देखेर येशूको एक जना चेलाले आफ्नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए। 52 तर येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्। 53 मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्टनभन्दा पनि धेरै स्वर्गदूतहरू पठाइहाल्नुहुन्थ्यो। के तिमी यो हुन नसक्ने सम्झन्छौ? 54 तर यदि मैले मागे भने त धर्मशास्त्रमा यस्तो हुनुपर्छ भनी लेखिएका कुरा कसरी पूरा हुन सक्छ र?” 55 त्यसपछि येशूले आफूलाई पक्रन आएका मानिसहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आयौ? मैले दिनहुँ मन्दिरमा बसेर शिक्षा दिँदा त खै मलाई पक्रने आँट नै गरेनौ! 56 तैपनि अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका कुरा पूरा होऊन् भनेर नै यो सबै हुन आएको हो।” त्यति नै खेर चेलाहरू जति सबै येशूलाई छोडेर भागे। महासभाको सामुन्ने येशू ( मर्कूस १४:५३-६५ ; लूका २२:५४-५५ , ६३-७१ ; यूहन्ना १८:१३-१४ , १९-२४ ) 57 तिनीहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे। त्यहाँ धर्म-गुरु र अरू अगुवाहरू जम्मा भएका थिए। 58 पत्रुसचाहिँ येशूलाई परपरैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनमा पुगे। अनि त्यहाँ के हुने हो भनी हेर्न उनी गएर पालेहरूसँग बसे। 59 मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्न लागे। 60 धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने, 61 “यस मानिसले त ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा नै फेरि बनाउन सक्छु’ भन्थ्यो।” 62 अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्नु छैन?” 63 तर येशू चुपै लाग्नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् त?” 64 येशूले जवाफ दिएर भन्नुभयो, “त्यो त तपाईं आफैंले नै भन्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई भन्छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ।” 65 यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “लौ हेर, यसले परमेश्वरको निन्दा गरेको तिमीहरूले सुनिहाल्यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र? 66 लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्यान सजाय पाउनैपर्छ,” भन्दै 67 तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्पड लाउँदै भने, 68 “लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्ट र अगमवक्तालाई कसले पिट्यो?” पत्रुसले येशूलाई चिन्दिनँ भनेका ( मर्कूस १४:६६-७२ ; लूका २२:५६-६२ ; यूहन्ना १८:१५-१८ , २५-२७ ) 69 त्यस बेलासम्म पत्रुस बाहिर आँगनमा नै बसिरहेका थिए। एउटी नोकर्नी आएर तिनलाई भनी, “तिमी पनि त गालीलका येशूसँगै थियौ नि, होइन र?” 70 तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!” 71 भनेर आँगनको ढोकातिर गए। ढोकानेर अर्की एउटी नोकर्नीले त्यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!” 72 फेरि पत्रुसले शपथ हालेर भने, “म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” 73 केही बेरपछि त्यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्छ नि!” 74 अनि फेरि पनि पत्रुसले शपथ हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि नै परोस्, म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” त्यसो भन्नेबित्तिकै भाले बासिहाल्यो 75 र “भाले बास्नुभन्दा अघि मलाई तीनपल्टसम्म चिन्दै चिन्दिनँ भनेर इन्कार गर्नेछौ,” भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे। उनी बाहिर गएर धुरुधरु रोए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society