Online Bible

- Reklamy -

मत्ती 23 - सरल नेपाली पवित्र बाइबल


धर्म-गुरु र फरिसीहरूको विरुद्धमा चेतावनी
( मर्कूस १२:३८-३९ ; लूका ११:४३ , ४६ ; २०:४५-४६ )

1 येशूले मानिसहरूको धुइरो र आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो,

2 “हेर, धर्म-गुरु र फरिसीहरूले मोशाका व्यवस्था सिकाउने अधिकार पाएका छन्।

3 यसकारण तिमीहरूले उनीहरूले भनेका सबै कुरा गर्नू। तर तिनीहरूले जे गर्छन्, त्‍योचाहिँ नगर्नू किनभने तिनीहरूले अरूलाई त सिकाउँछन्, तर आफूचाहिँ गर्दैनन्।

4 तिनीहरू अरूलाई चाहिँ धर्म-कर्मको गह्रुङ्गो भारी बोकाउँछन्, तर आफू भने त्‍यो भारी बोक्‍न त परै जाओस्, औँलाले पनि छुँदैनन्।

5 तिनीहरू सबै कुरा देखाउनको लागि मात्र गर्छन्। तिनीहरू आफ्‍ना निधार र नाडीका व्‍यवस्‍था-पत्री ठूलो-ठूलो बनाउँछन् र धर्मी हुँ भनी देखाउन आफ्‍नो लुगामा लामा-लामा झुम्‍का जोड्छन्।

6 तिनीहरू भोजमा आदरको र सभाघरमा उत्तम ठाउँहरूमा बस्‍न रुचाउँछन्।

7 बजारहरूमा घुम्‍दा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरिदेऊन् अनि गुरु भनून् भन्‍ने तिनीहरू चाहन्‍छन्।

8 “तिमीहरूलाई कसैले गुरु नभनून् किनभने तिमीहरू त सबै दाजुभाइहरू नै हौ। तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्‍छ।

9 यस पृथ्‍वीमा तिमीहरूले कसैलाई पनि पिता नभन्‍नू किनभने तिमीहरूका एउटै मात्र पिता हुनुहुन्‍छ, जो स्‍वर्गमा हुनुहुन्‍छ।

10 तिमीहरूलाई कसैले अगुवा नभनून् किनभने तिमीहरूका अगुवा एउटै मात्र हुनुहुन्‍छ, जो मुक्ति दिने ख्रीष्‍ट हुनुहुन्‍छ।

11 तिमीहरूमा सबभन्दा ठूलोले चाहिँ सबैको सेवा गर्नुपर्छ।

12 आफैं ठूलो हुन खोज्‍नेचाहिँ होच्‍याइनेछ र आफूलाई होच्‍याउनेचाहिँ ठूलो बनाइनेछ।


कपटीको विरुद्धमा चेतावनी
( मर्कूस १२:४० ; लूका ११:३९-४२ , ४४ , ५२ ; २०:४७ )

13 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू त कपटी छौ। तिमीहरूले स्‍वर्गको राज्‍यको ढोकामा ताल्‍चा मारेका छौ। तिमीहरू आफैं पनि भित्र पस्‍दैनौ अनि भित्र पस्‍न खोज्‍नेहरूलाई पनि पस्‍न दिँदैनौ।

14 [“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले विधवाहरूको घरबार खोस्‍छौ र अझै देखाउनलाई लामा-लामा प्रार्थना पो गर्छौ। यसैकारण तिमीहरूले भयङ्कर दण्‍ड पाउनेछौ।]

15 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। अरूलाई आफ्‍नो धर्ममा ल्‍याउन संसारभरि चहार्छौ र कसैलाई आफ्‍नो धर्ममा ल्‍याइहाल्‍यौ भने उसलाई आफूभन्दा दोब्‍बर नरकको लायक बनाउँछौ।

16 “ए अन्‍धा अगुवाहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरूले ‘मन्‍दिर छोएर शपथ खाँदा केही हुँदैन, तर मन्‍दिरको सुन छोएर शपथ खाँदाचाहिँ शपथ लाग्‍छ’ भनेर सिकाउँछौ।

17 तिमीहरू कस्‍ता अन्‍धा र मूर्ख छौ! ठूलो कुरा कुनचाहिँ हो, सुन कि सुनलाई चोख्‍याउने मन्‍दिर?

18 फेरि ‘वेदी छोएर शपथ खायौ भने केही पनि हुँदैन, तर वेदीमा चढाइएको भेटी छोएर शपथ खाँदाचाहिँ शपथ लाग्‍छ’ भनेर सिकाउँछौ।

19 तिमीहरू कस्‍ता अन्‍धा! ठूलो कुरा कुनचाहिँ हो, वेदीमा चढाएको भेटी कि भेटीलाई शुद्ध पार्ने वेदी?

20 वेदी छोएर शपथ खानेले त वेदी र यसमा चढाइएका सबै भेटीहरू छोएर शपथ खान्‍छ!

21 त्‍यसै गरी मन्‍दिर छोएर शपथ खानेले चाहिँ मन्‍दिर र मन्‍दिरमा रहने परमेश्‍वरलाई नै छोएर शपथ खान्‍छ।

22 स्‍वर्गको नाउँ लिएर शपथ खानेले चाहिँ स्‍वर्गको सिंहासन र यसमा रहने परमेश्‍वरकै नाउँमा शपथ खान्‍छ।

23 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कत्ति कपटी छौ। तिमीहरू बाबरी, सुप र जीराको उब्‍जनीबाट दश भागको एक भाग परमेश्‍वरलाई चढाउँछौ। तर न्‍याय, दया र विश्‍वासजस्‍ता व्यवस्थाका मुख्‍य कुराहरूको चाहिँ तिमीहरू वास्‍तै गर्दैनौ। ती अरू कुराको साथसाथै न्‍याय, दया र विश्‍वास पनि गर्ने गर।

24 तिमीहरू अन्‍धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्‍छौ, तर ऊँटलाई भने निल्‍छौ।

25 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्‍याउन त चोख्‍याउँछौ, तर त्‍यसको भित्र भने स्‍वार्थ र लोभले लुटेर ल्‍याएका कुराहरूले भर्छौ।

26 ए आँखै नभएका फरिसीहरू हो! पहिले कचौराको भित्रपट्टि सफा गर अनि बाहिरपट्टि पनि सफा हुनेछ।

27 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कति कपटी छौ। तिमीहरू त कमेरोले पोतेको चिहानजस्‍तै छौ। त्‍यो चिहान बाहिरबाट हेर्दा त राम्रो देखिन्‍छ, तर भित्रपट्टि भने मुर्दा कुहेको हाड र अशुद्ध कुरा मात्र रहेको हुन्‍छ।

28 त्‍यसै गरी बाहिरबाट हेर्दा भने तिमीहरू मानिसको अगाडि धर्मात्‍माजस्‍तै देखा पर्छौ, तर भित्र भने छल र पापले भरिएका हुन्‍छौ।


दोषको दण्‍ड
( लूका ११:४७-५१ )

29 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ र परमेश्‍वरको आज्ञामा लागिरहेका पवित्र जनहरूका चिहानहरू पनि सिङ्गार्छौ

30 अनि तिमीहरू भन्‍छौ, ‘उहिले हाम्रा पिता-पुर्खाहरूले त अगमवक्ताहरूलाई मारे। तर हामीहरू पनि उनीहरूको साथमा भएको भए हामीहरूले चाहिँ त्‍यस्‍तो काम गर्न उनीहरूलाई सहायता गर्ने थिएनौं।’

31 यसो भनेर तिमीहरू आफैंलाई ती अगमवक्ताहरूलाई मार्नेकै सन्‍तान हौं भनी स्‍वीकार गर्छौ!

32 अब तिमीहरूका पुर्खाहरूले सुरु गरेको काम पूरा गर!

33 “ए सर्पहरू र विषालु सर्पका सन्‍तानहरू हो! तिमीहरू कसरी नरकको आगोबाट उम्‍कने आशा राख्‍छौ?

34 अब राम्ररी सुन, म तिमीहरूकहाँ अगमवक्ता, बुद्धिमान् मानिस र सत्‍य धर्म-गुरुहरूलाई पठाउनेछु। तिनीहरूमध्‍ये तिमीहरूले कतिलाई मार्नेछौ, कतिलाई क्रूसमा टाँग्‍नेछौ अनि कतिलाई चाहिँ सभाघरहरूमा कोर्रा लाउनेछौ र कतिलाई एउटा सहरबाट अर्को सहरसम्‍म खेद्‌नेछौ।

35 यसले गर्दा निर्दोष हाबिलदेखि मन्‍दिर र चोकमा भएको वेदीको बीचमा मारिएका बेरेक्‍याहका छोरा जकरियासम्‍मको दोष तिमीहरूमाथि पर्नेछ।

36 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबैको दोष यस पुस्‍ताको थाप्‍लोमा नै पर्नेछ।


यरूशलेमलाई चेतावनी
( लूका १३:३४-३५ )

37 “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्‍वरले पठाएकाहरूलाई ढुङ्गाले हान्‍छस्। कुखुराको पोथीले चल्‍लाहरूलाई छोपेजस्‍तै मैले कतिपल्‍ट तेरा छोरा-छोरीहरूलाई जोगाउन खोजें, तर तैँले मानिनस्।

38 हेर्‌, तेरो घर त्‍यागिनेछ र उजाड हुनेछ।

39 अब म भन्‍छु, जबसम्‍म तैँले ‘परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ’ भन्‍दैनस्, तबसम्‍म तैँले मलाई देख्‍नेछैनस्।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy