Online Bible

- Reklamy -

मत्ती 22 - सरल नेपाली पवित्र बाइबल


विवाहको भोज
( लूका १४:१५-२४ )

1 अनि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो,

2 “परमेश्‍वरको राज्‍य त आफ्‍नो छोराको विवाहमा निम्‍तारुहरूलाई भोज खुवाउन बोलाउने एउटा राजासँग दाँज्‍न सकिन्‍छ।

3 ती राजाले निम्‍तारुहरूलाई बोलाउन आफ्‍ना नोकरहरू पठाए। तर तिनीहरू भने आउन चाहेनन्।

4 अनि उनले फेरि अरू नोकरहरूलाई यसो भनेर पठाए, “गएर ती निम्‍तारुहरूलाई भन, ‘खाने बेला भयो, मोटा-मोटा पशुहरू काटेका छन्। अब भोज मनाउनको लागि आउनुहोस्’।”

5 तर ती निम्‍तारुहरूले वास्‍तै नगरीकन आ-आफ्‍ना काममा गए। कोही आफ्‍नो बारीतिर लागे अनि कोहीचाहिँ आफ्‍ना व्‍यापार-धन्‍दातिर लागे।

6 अरू बाँकीले चाहिँ राजाका नोकरहरूलाई नै पक्री कुटपिट गरेर अन्‍तमा मारिदिए।

7 ती राजा रिसले आगो भए अनि आफ्‍ना सेनाहरू पठाएर ती ज्‍यानमाराहरूलाई मार्न लगाए र तिनीहरूको सहरमा आगो लगाइदिए।

8 “त्‍यसपछि तिनले नोकरहरूलाई फेरि भने, ‘विवाहको भोज त तयार छ, तर मैले निम्‍त्‍याएकाहरूचाहिँ यो भोज खान लायकका रहेनछन्।

9 यसकारण तिमीहरू सडकका छेउछाउतिर जाओ र ज-जसलाई भेट्टाउँछौ, तिनीहरूलाई भोजमा बोलाएर ल्‍याओ।’

10 अनि नोकरहरू सडकमा गए र भेटिए जति राम्रा-नराम्रा सबैलाई बोलाएर ल्‍याए। यसरी बिहे घर मानिसहरूले भरिभराउ भयो।

11 “राजाले पाहुनाहरूलाई हेर्न आउँदा त एक जनालाई बिहेमा लाउनुपर्ने लुगा नलगाई आएको देखे।

12 राजाले तिनलाई सोधे, ‘ए मित्र! तिमी विवाहको लुगै नलगाईकन कसरी भित्र पस्‍यौ?’ तर ती मानिसले केही पनि जवाफ दिन सकेनन्।

13 तब राजाले आफ्‍ना नोकरहरूलाई अह्राए, ‘लौ, यसका हात-खुट्टा बाँधेर बाहिर अन्‍धकारमा फ्‍याँकिदेओ। त्‍यहाँ यसले दाह्रा किट्दै रुवाबासी गरिरहोस्’!”

14 अन्‍तमा येशूले भन्‍नुभयो, “निम्‍त्‍याइएका त धेरै छन्, तर चुनिएका चाहिँ थोरै मात्र हुन्‍छन्।”


कर बुझाउने बारेमा प्रश्‍न
( मर्कूस १२:१३-१७ ; लूका २०:२०-२६ )

15 फरिसीहरूले गएर येशूलाई कुरैकुरामा फसाउन जाल रचे।

16 तिनीहरूले आफ्‍ना केही चेलाहरूलाई हेरोद राजाका मानिसहरूसँगै येशूकहाँ पठाए। तिनीहरूले गएर उहाँलाई भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्‍नुहुन्‍छ भनी हामीलाई थाहा छ। मानिसहरूलाई सिकाउनुहुँदा तपाईंले साँचोसित परमेश्‍वरको बाटो देखाउनुहुन्‍छ। मानिसहरूले के भन्‍लान् भनेर तपाईंले वास्‍ता पनि गर्नुहुन्‍न। तपाईंले त कसैको मुख हेरेर कुरा गर्नुहुन्‍न!

17 तब हामीलाई भन्‍नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन तपाईंको विचारमा ठीक छ कि छैन?”

18 तिनीहरूको यस्‍तो दुष्‍ट विचार बुझेर येशूले भन्‍नुभयो, “ए कपटीहरू हो, मलाई किन फसाउन खोज्‍छौ?

19 खै कर तिर्ने सिक्‍का देखाओ त।” तिनीहरूले उहाँलाई सिक्‍का ल्‍याएर देखाए।

20 अनि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “यो छाप र नाउँ कसको हो?”

21 “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्‍नुभयो, “त्‍यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्‍वरको जति परमेश्‍वरलाई देओ।”

22 येशूको जवाफ सुनेर तिनीहरूले अचम्‍म माने अनि उहाँलाई छाडेर आ-आफ्‍नो बाटो लागे।


मरेकोबाट बिउँतने बारेमा प्रश्‍न
( मर्कूस १२:१८-२७ ; लूका २०:२७-४० )

23 त्‍यही दिन कति जना सदुकीहरू येशूकहाँ आए। (सदुकीहरूले भन्‍ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्‍ने कुरामा विश्‍वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे,

24 “हे गुरु, मोशाले त यसो भनेका थिए, कसैको दाजु सन्‍तान नभईकन मर्‍यो भने दाजुको लागि सन्‍तान होस् भनेर भाइले दाजुको विधवालाई बिहे गर्नुपर्छ।

25 अब हाम्रो बीचमा सात दाजुभाइहरू थिए। जेठो दाजुले बिहे गर्‍यो, तर छोरा-छोरी नभईकन मर्‍यो। त्‍यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्‍यो।

26 तर ऊ पनि सन्‍तान नभई मर्‍यो। साहिँलो भाइलाई पनि यस्‍तै भयो र त्‍यसरी नै सातै भाइले बिहे गरे, तर बिनासन्‍तान मरे।

27 आखिरमा त्‍यो स्‍वास्‍नी मानिस पनि मरी।

28 अब सबै जना मरेकोबाट बिउँते भने त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई त सातै भाइले बिहे गरेका थिए!”

29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू भुलमा परेछौ। तिमीहरूले न धर्मशास्‍त्र नता परमेश्‍वरको शक्तिको बारेमा नै बुझेका रहेछौ।

30 मरेका मानिसहरू बिउँतेपछि त तिनीहरूको बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्‍वर्गमा रहने स्‍वर्गदूतहरूजस्‍तै हुन्‍छन्।

31-32 मरेकोबाट बिउँतने बारेमा अझै भन्‍ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्‍वर हुँ’ भनेर परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्‍वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्‍वर हुनुहुन्‍छ।”

33 यसरी उहाँको शिक्षा सुनेर सबै मानिसहरू छक्‍क परे।


सबैभन्दा ठूलो आज्ञा
( मर्कूस १२:२८-३४ ; लूका १०:२५-२८ )

34 येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए।

35 तिनीहरूमध्‍ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे,

36 “हे गुरु, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?”

37 येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर।

38 सबैभन्दा मुख्‍य र ठूलो आज्ञा यही हो।

39 अनि यस्‍तै अर्को मुख्‍य र ठूलो आज्ञाचाहिँ, ‘आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।’

40 मोशाका सबै व्यवस्था र अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्।”


ख्रीष्‍टको बारेमा प्रश्‍न
( मर्कूस १२:३५-३७ ; लूका २०:४१-४४ )

41 त्‍यस बेला येशूले गुट बाँधेर आएका फरिसीहरूलाई सोध्‍नुभयो,

42 “मुक्ति दिने राजा ख्रीष्‍टको बारेमा तिमीहरूको के विचार छ त? उनी कसका सन्‍तान हुन्?” तिनीहरूले जवाफ दिए, “उनी त दाऊदका सन्‍तान हुन्।”

43 येशूले सोध्‍नुभयो, “त्‍यसो भए किन दाऊदलाई परमेश्‍वरको आत्‍माले उहाँलाई ‘प्रभु’ भन्‍न लाउनुभयो? किनभने दाऊद आफैंले त यसरी भनेका छन्–

44 परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारुञ्‍जेल तिमी मेरो दाहिनेपट्टि नै बस।’

45 यसरी दाऊद आफैंले ख्रीष्‍टलाई प्रभु भनेपछि कसरी ख्रीष्‍टलाई दाऊदको सन्‍तान भन्‍ने?”

46 तर कसैले पनि कुनै जवाफ दिन सकेनन्। अनि त्‍यस दिनदेखि कसैले पनि येशूलाई कुनै कुरा सोध्‍ने आँटसमेत गरेनन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy