Online Bible

- Reklamy -

मत्ती 20 - सरल नेपाली पवित्र बाइबल


खेतालाहरूको दृष्‍टान्‍त

1 येशूले भन्‍दैजानुभयो, “परमेश्‍वरको राज्‍य दाख-बारीको धनीको दृष्‍टान्‍तको कथाजस्‍तै छ। एकाबिहानै ती धनी आफ्‍नो दाख-बारीमा काम गर्ने खेतालाहरूलाई खोज्‍न निस्‍के

2 अनि ‘दिनको ज्‍याला चाँदीको एक सिक्‍का दिन्‍छु’ भनेर केही खेतालाहरूलाई काममा लगाए।

3 नौ बजेतिर फेरि बजारमा जाँदा उनले केही मानिसहरूलाई काम नभएर त्‍यसै उभिरहेका देखे।

4 उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ, म तिमीहरूलाई पाउनुपर्ने ज्‍याला दिउँला।’

5 तिनीहरू काममा गए। त्‍यसपछि उनले बाह्र बजेतिर र फेरि तीन बजेतिर पनि त्‍यसै गरेर अरू मानिसहरूलाई पनि काममा लगाए।

6 फेरि पाँच बजेतिर जाँदा पनि उनले केही मानिसलाई काम नभई त्‍यसै बजारमा उभिरहेका देखे। उनले तिनीहरूलाई सोधे, ‘तिमीहरू यहाँ किन दिनभरि बेकाममा उभिरहेका छौ?’

7 तिनीहरूले जवाफ दिए, ‘खै हामीलाई कसैले पनि काममा लगाएन।’ तब तिनले भने, ‘त्‍यसो भए तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ न त।’

8 “साँझ परेपछि दाख-बारीका धनीले आफ्‍ना काम गर्नेहरूको नाइकेलाई भने, ‘खेतालाहरूलाई बोलाएर तिनीहरूले काम गरेको ज्‍याला देऊ। ज्‍याला सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर आखिरमा सबैभन्दा पहिले आउनेहरूलाई दिनू।’

9 अनि नाइकेले पाँच बजे काम सुरु गर्नेहरूलाई पहिले बोलाएर प्रत्‍येकलाई चाँदीको एकएक सिक्‍का दियो।

10 त्‍यस बेला सबभन्दा पहिले काममा लाग्‍नेहरूले चाहिँ धेरै पाइन्‍छ होला भनेर विचार गरे। तर तिनीहरूले पनि चाँदीको एकएक सिक्‍का मात्रै पाए।

11 त्‍यसो हुँदा तिनीहरूले आ-आफ्‍ना ज्‍याला लिए र बारीको धनीकहाँ गएर गनगनाउन थाले।

12 तिनीहरूले भने, ‘हेर्नुहोस्, यी पछि आउने मानिसहरूले त एक घण्‍टा मात्र काम गरे, हामीले त दिनभरि चर्को घाममा काम गर्‍यौं। तर तपाईंले त तिनीहरूलाई पनि हामीलाई जति नै ज्‍याला दिनुभयो!’

13 तर धनीले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दिँदै भने, ‘हेर बुबा, मैले तिमीलाई अन्‍याय गरेको छैन। तिमी त चाँदीको एक सिक्‍कामा दिनभरि काम गर्न मन्‍जुर भएका होइनौ र?

14 तिमी आफ्‍नो पाउनुपर्ने पैसा लिएर घर जाऊ। म यो ढीलो काममा आउनेलाई पनि तिमीलाई जति नै दिन चाहन्‍छु।

15 के मलाई आफ्‍नो पैसा आफूले दिन मन लागेकाहरूलाई दिने अधिकार छैन र? म दानी भएकोमा तिमीलाई रिस उठ्यो कि क्‍या हो’?”

16 कुरा टुङ्ग्याउँदै येशूले भन्‍नुभयो, “यही रीतले नै पछिल्‍लाहरू पहिला हुनेछन् अनि पहिलाहरूचाहिँ पछिल्‍ला हुनेछन्।”


येशूले तेस्रोपल्‍ट आफ्‍नो मृत्‍युको चर्चा गर्नुभएको
( मर्कूस १०:३२-३४ ; लूका १८:३१-३४ )

17 यरूशलेमतिर जानुहुँदा येशूले आफ्‍ना बाह्र चेलालाई एकातिर बोलाएर भन्‍नुभयो,

18 “हेर, हामी यरूशलेम जाँदै छौं। त्‍यहाँ मानव पुत्रलाई मुख्‍य पूजाहारी र धर्म-गुरुहरूको हातमा दिइनेछ। तिनीहरूले उसलाई ज्‍यान सजाय दिनेछन्

19 अनि अरू जातिका मानिसहरूको जिम्‍मा लगाउनेछन्। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, कोर्रा लाउनेछन् अनि क्रूसमा झुण्‍ड्याएर मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।”


एउटी आमाको बिन्‍ती
( मर्कूस १०:३५-४५ ; लूका २२:२४-२७ )

20 त्‍यसपछि जब्‍दियाका दुई छोरा आफ्‍नी आमासँग येशूकहाँ आए। तिनीहरूकी आमाले येशूको पाउमा परेर बिन्‍ती गरिन्, “मलाई दया गर्नुहोस्।”

21 येशूले तिनलाई सोध्‍नुभयो, “भन त, के चाहन्‍छौ?” तिनले भनिन्, “बिन्‍ती छ, हजुर राजा हुनुहुँदा मेरा यी दुई छोरा हजुरको दाहिने र देब्रेपट्टि बस्‍न पाऊन्।”

22 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के माग्‍दै छौ, त्‍यो तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुट्को तिमीहरू पनि पिउन सक्‍छौ?” तिनीहरूले सक्‍छौं भनेर जवाफ दिए।

23 तब येशूले भन्‍नुभयो, “हो, मैले पिउने घुट्को तिमीहरू पनि पिउनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्‍नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त मेरा पिताले जसको लागि तयार पार्नुभएको छ, उसलाई नै दिनुहुनेछ।”

24 यो कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ ती दुईसँग रिसाए

25 अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहै छ, संसारका राजाहरूले आफ्‍ना प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्।

26 तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमा त ठूलो हुन खोज्‍नेले सबैको सेवा गर्नुपर्छ।

27 सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ।

28 त्‍यसरी नै म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरैलाई छुटकारा दिन आफ्‍नै प्राण त्‍यागिदिन आएको हुँ।”


येशूले दुई जना अन्‍धालाई निको पार्नुभएको
( मर्कूस १०:४६-५२ ; लूका १८:३५-४३ )

29 उहाँहरू यरीहो सहरबाट जाँदा मानिसहरूको ठूलो धुइरो येशूको पछिपछि लाग्‍यो।

30 बाटोको छेउमा दुई जना अन्‍धाहरू बसिरहेका थिए। येशू त्‍यही बाटो भएर गइरहनुभएको थाहा पाएर तिनीहरूले कराउँदै भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!”

31 मानिसहरूले तिनीहरूलाई ‘चुप लाग’ भनेर हप्‍काए। तर तिनीहरूले झन् चिच्‍च्‍याएर भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!”

32 हिँड्दाहिँड्दै येशू टक्‍क अडिनुभयो अनि तिनीहरूलाई बोलाएर सोध्‍नुभयो, “तिमीहरूको लागि मैले के गर्नुपर्‍यो?”

33 “प्रभु, हामीले आँखा देख्‍न पाऔं!” तिनीहरूले बिन्‍ती चढाए।

34 येशूको हृदय मायाले भरियो र उहाँले तिनीहरूका आँखा छोइदिनुभयो। उति नै खेर तिनीहरू आँखा देख्‍ने भए अनि येशूको पछि लागे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy