Online Bible

- Reklamy -

मत्ती 16 - सरल नेपाली पवित्र बाइबल


अचम्‍मको कामको माग
( मर्कूस ८:११-१३ ; लूका १२:५४-५६ )

1 केही फरिसी र सदुकीहरू मिलेर येशूलाई कुरामा फसाउन उहाँकहाँ आए र भने, “यदि तपाईं परमेश्‍वरको तर्फबाट नै आउनुभएको हो भने स्‍वर्गबाट आएको एउटा चिन्‍ह देखाउनुहोस्।”

2 तर येशूले जवाफ दिनुभयो, “घाम डुब्‍न लाग्‍दा तिमीहरू आकाशतिर हेरेर ‘आकाश रातो भयो, अब त भोलि राम्रो दिन हुन्‍छ’ भनी भन्‍छौ।

3 फेरि बिहानै आकाश रातो र अँध्‍यारो हुँदा ‘आज त पानीपर्नेछ’ भन्‍छौ। यसरी आकाशलाई हेरेर मौसम कस्‍तो हुनेछ, त्‍यो त बुझ्‍न सक्‍छौ, तर यस समयमा हुन आउने घटनाको लक्षणचाहिँ तिमीहरू बुझ्‍दैनौ।

4 हिजो-आजका यी मानिसहरू कति दुष्‍ट र व्‍यभिचारी छन्। यिनीहरू शक्तिशाली चिन्‍ह हेर्न खोज्‍छन्। तर यिनीहरूले योनाको चिन्‍हबाहेक अरू कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्।” त्‍यसपछि येशू तिनीहरूलाई छोडेर त्‍यहाँबाट जानुभयो।


फरिसी र सदुकीहरूको शिक्षाको बारेमा
( मर्कूस ८:१४-२१ )

5 उहाँका चेलाहरूले समुद्रपारि आइपुग्‍दा रोटी ल्‍याउन बिर्सेछन्

6 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि जोगिएर बस!”

7 अनि चेलाहरूले “हामीहरूले रोटी नल्‍याएको हुनाले उहाँले यसो भन्‍नुभएको हो,” भनेर एक-अर्कासँग कुरा गर्न थाले।

8 आफ्‍ना चेलाहरूले यसरी कुरा गरिरहेका सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “खै तिमीहरूको विश्‍वास? किन तिमीहरूले रोटी ल्‍याएनौं भनेर आपसमा कुरा गरिरहेका छौ?

9 अझै पनि तिमीहरूले बुझेका छैनौ? पाँच हजार मानिसलाई पाँच वटा रोटीले खुवाउँदा तिमीहरूले कति डाला भरेर उठायौ? के त्‍यो बिर्स्‍यौ?

10 अनि सात वटा रोटीले चार हजारलाई खुवाउँदा कति डाला उठायौ? त्‍यो पनि बिर्स्‍यौ?

11 कस्‍तो अझै नबुझेको! मैले तिमीहरूको रोटीको बारेमा कुरा गरेको होइनँ। मैले त तिमीहरूलाई फरिसी र सदुकीहरूको खमिरदेखि पो होशियार रहनू भनेको हुँ!”

12 अनि बल्‍ल पो चेलाहरूले बुझे, उहाँले रोटी फुलाउने खमिरदेखि जोगिएर बस्‍न भन्‍नुभएको होइन रहेछ, तर उहाँले त फरिसी र सदुकीहरूले दिने शिक्षादेखि पो जोगिएर बस्‍न भन्‍नुभएको रहेछ।


येशू को हुनुहुन्‍छ?
( मर्कूस ८:२७-३० ; लूका ९:१८-२१ )

13 येशू कैसरिया-फिलिप्‍पीको इलाकामा पुग्‍नुभयो। त्‍यहाँ उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म मानव पुत्रलाई को हो भन्‍छन्?”

14 चेलाहरूले भने, “कतिले तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन्, कतिले एलिया हो भन्‍छन्, अनि कतिले चाहिँ यर्मिया वा कुनै अरू अगमवक्ता होलान् भन्‍छन्।”

15 येशूले भन्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?”

16 सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्‍वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ।”

17 येशूले भन्‍नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्‍य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो।

18 अब म तिमीलाई भन्‍छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्‍थर’ हो)। यही पत्‍थरको जगमा म आफ्‍नो मण्‍डली खडा गर्नेछु अनि मृत्‍युका सबै शक्तिहरूले पनि यसलाई जित्‍न सक्‍नेछैनन्।

19 स्‍वर्गको राज्‍य खोल्‍ने साँचाहरू म तिम्रो हातमा दिनेछु। जे तिमीले यस पृथ्‍वीमा बाँध्‍नेछौ, त्‍यो स्‍वर्गमा पनि बाँधिनेछ अनि जे तिमीले यस पृथ्‍वीमा फुकाउँछौ, त्‍यो स्‍वर्गमा पनि फुकाइनेछ।”

20 त्‍यसपछि उहाँले चेलाहरूलाई ‘म मुक्ति दिने ख्रीष्‍ट हुँ भन्‍ने कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो।


येशूले आफ्‍नो मृत्‍युको चर्चा गर्नुभएको
( मर्कूस ८:३१-३३ ; लूका ९:२२ )

21 त्‍यस बेलादेखि येशूले आफ्‍ना चेलाहरूलाई आफूले भोग्‍नुपर्ने दु:खको बारेमा सोझै भन्‍न लाग्‍नुभयो। उहाँले भन्‍नुभयो, “मैले यरूशलेम गएर अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूबाट दु:ख भोग्‍नुपर्छ, आखिरमा म मारिनेछु, तर तेस्रो दिनमा म फेरि मरेकोबाट बिउँतनेछु।”

22 यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर सम्‍झाउँदै भने, “परमेश्‍वरले यस्‍तो हुन नदेऊन्। प्रभु! यस्‍तो त तपाईंलाई कहिल्‍यै पनि नहोस्।”

23 येशूले पत्रुसतिर फर्केर भन्‍नुभयो, “ए शैतान, मेरो पछि हट्। तँ मेरो बाटोमा ठेस लाग्‍ने ढुङ्गा राख्‍न खोज्‍छस्! तेरो यो विचार परमेश्‍वरबाटको होइन, तर मान्‍छेबाटको हो।”


चेलाले गर्नुपर्ने त्‍याग
( मर्कूस ८:३४—९:१ ; लूका ९:२३-२७ )

24 त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्‍नो क्रूस बोकी मलाई पछ्‌याउनुपर्छ

25 किनभने आफ्‍नो ज्‍यान जोगाउन खोज्‍नेले त्‍यो गुमाउनेछ। तर आफ्‍नो ज्‍यान मेरो लागि गुमाउनेले चाहिँ त्‍यो पाउनेछ।

26 मानिसले जम्‍मै संसार नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? उसले गुमाएको आत्‍मा फेरि केले फिर्ता गर्छ र?

27 किनभने म मानव पुत्र आफ्‍नै पिताको महिमा लिएर स्‍वर्गदूतहरूको साथमा आउँदा सबै मानिसहरूलाई आ-आफ्‍नो कामअनुसारको इनाम दिनेछु।

28 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, म मानव पुत्र मेरो राज्‍यमा आएको नदेखेसम्‍म यहाँ सुनेर उभिनेहरूमध्‍ये कति त मर्ने पनि छैनन्।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy