Online Bible

- Reklamy -

मत्ती 15 - सरल नेपाली पवित्र बाइबल


रीतिथिति मान्‍ने बारेमा शिक्षा
( मर्कूस ७:१-१३ )

1 केही फरिसी र धर्म-गुरुहरू यरूशलेम सहरबाट आएर येशूलाई सोधे,

2 “तपाईंका चेलाहरूले पिता-पुर्खादेखि चलिरहेका रीतिथितिहरू किन मान्‍दैनन्? तिनीहरूले खानुअघि हात धुने रीति पनि पूरा गर्दैनन्।”

3 येशूले जवाफ दिनुभयो, “अनि तिमीहरूचाहिँ किन परमेश्‍वरको धार्मिक आज्ञा भङ्ग गरेर आफ्‍नै रीतिथितिमा भुलिरहन्‍छौ?

4 जस्‍तो, परमेश्‍वरको यो आज्ञा छ, ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’

5 तर तिमीहरूले भन्‍छौ– कसैले आफ्‍ना आमा-बुबालाई ‘हेर्नुहोस् तपाईंहरूलाई दिनुपर्ने कुरा मैले परमेश्‍वरलाई चढाइसकें’ भन्‍यो भने

6 उसले चाहिँ आफ्‍ना आमा-बुबाको सेवा गर्नुपर्दैन। यसरी तिमीहरू आफ्‍नै रीतिथितितिर लागेर परमेश्‍वरको आज्ञालाई बेकामको ठान्‍छौ।

7 हे कपटीहरू हो! यशैया अगमवक्ताले भनेको यो कुरा तिमीहरूलाई ठ्याक्‍कै मिल्‍छ–

8 ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्! तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ।

9 तिनीहरूले मलाई पुजेको त व्‍यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएको नियमहरू मात्रै सिकाउँछन्’।”


मानिसलाई अशुद्ध पार्ने कुराहरू
( मर्कूस ७:१४-२३ )

10 त्‍यसपछि येशूले मानिसहरूको धुइरोलाई बोलाएर भन्‍नुभयो, “मेरो कुरा मन लगाएर सुन,

11 मुखबाट भित्र पस्‍ने कुराले मानिसलाई अशुद्ध पार्ने होइन, उसको मुखबाट बाहिर निस्‍कने कुराले उसलाई अशुद्ध पार्छ।”

12 पछिबाट चेलाहरूले आएर उहाँलाई भने, “के तपाईंले थाहा पाउनुभयो? तपाईंले भन्‍नुभएको कुराले गर्दा फरिसीहरू रिसाए।”

13 येशूले भन्‍नुभयो, “स्‍वर्गमा बास गर्नुहुने मेरा पिताले नरोप्‍नुभएको चाहिँ सबै जरैदेखि उखेलिनेछन्।

14 तिनीहरूको वास्‍ता नगर, तिनीहरू त अन्‍धाहरूका अन्‍धा अगुवा हुन्। एउटा अन्‍धाले अर्को अन्‍धालाई डोर्‍यायो भने के दुवै खाडलमा पर्दैनन् र?”

15 पत्रुसले भने, “तपाईंले अशुद्ध पारिने बारेमा भन्‍नुभएको कुरा हामीलाई बुझाइदिनुहोस्।”

16 येशूले भन्‍नुभयो, “के तिमीहरू अझै अबुझ नै छौ?

17 तिमीहरूलाई थाहा छैन र? मानिसको मुखबाट भित्र पसेको कुरा त त्‍यसको पेटमा पुग्‍छ अनि पछि शरीरबाट निस्‍केर जान्‍छ।

18 तर मानिसको मुखबाट निक्‍लने कुरा उसको मनबाट आएको हुन्‍छ। यी नै कुराहरूले उसलाई अशुद्ध पार्छन्

19 किनभने मानिसको मनभित्रबाटै दुष्‍ट विचारहरू निस्‍कन्‍छन्। यिनै दुष्‍ट विचारहरूले गर्दा उसले मान्‍छे मार्नु, व्‍यभिचार गर्नु, चोर्नु, झूटो साक्षी दिनु, निन्‍दा गर्नुजस्‍ता खराब कामहरू गर्छ।

20 मानिसहरूलाई अशुद्ध पार्ने कुराहरू यी नै हुन्। तर हात नचोख्‍याई खाँदैमा त मानिस अशुद्ध हुँदैन!”


स्‍त्रीको विश्‍वास
( मर्कूस ७:२४-३० )

21 येशू त्‍यो ठाउँ छोडेर टुरोस र सीदोन सहरतिर जानुभयो।

22 त्‍यहीँ एउटी कनानी स्‍त्री आएर चिच्‍च्‍याउँदै भनिन्, “हे प्रभु, दाऊदको सन्‍तान, मलाई दया गर्नुहोस्! मेरी छोरी भूत लागेकोले नराम्रो अवस्‍थामा छ।”

23 तर येशूले तिनलाई केही पनि जवाफ दिनुभएन अनि उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यस स्‍त्रीलाई पठाइदिनुहोस्। ऊ त हाम्रो पछिपछि रुँदै-कराउँदै आइरहेकी छ!”

24 तर येशूले भन्‍नुभयो, “म त खालि हराएका भेडाजस्‍तै भएका इस्राएल जातिका मानिसहरूकहाँ मात्रै पठाइएको हुँ!”

25 यो सुनेर ती स्‍त्रीले येशूको पाउमा परेर भनिन्, “मलाई गुहार गर्नुहोस् हजुर!”

26 तर येशूले भन्‍नुभयो, “आफ्‍ना बालबच्‍चाहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!”

27 अनि तिनले भनिन्, “हो हजुर, त्‍यो त ठीकै हो! तर कुकुरहरूले पनि त आफ्‍ना मालिकहरूले खाँदा झरेका टुक्राहरू खान्‍छन् नि!”

28 तब येशूले तिनलाई भन्‍नुभयो, “ए स्‍त्री, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले भनेकै पुगोस्।” त्‍यति नै खेर उनकी छोरी निको भइहाली।


येशूले चार हजार मानिसहरूलाई खुवाउनुभएको
( मर्कूस ७:३१—८:१० )

29 येशू त्‍यो ठाउँ छोडेर गालील तालको किनारै-किनार गएर डाँडामा उक्‍लनुभयो र त्‍यहाँ बस्‍नुभयो।

30 फेरि मानिसहरूको धुइरो लाग्‍यो। तिनीहरूले लङ्गडा, अन्‍धा, लाटा र अरू धेरै बिरामीहरू लिएर आइपुगे। तिनीहरूले ती बिरामीहरूलाई येशूको चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।

31 लाटाहरू फटाफट बोल्‍न थाले, कुँजाहरू चल्‍ने भए, लङ्गडाहरू हिँड्‍न थाले र अन्‍धाहरू देख्‍ने भए। यो देखेर मानिसहरू छक्‍कै परे अनि तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।

32 त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई बोलाएर भन्‍नुभयो, “यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्‍यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्‍यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ। म यिनीहरूलाई भोकै बिदा गर्न चाहन्‍नँ, नत्रता यिनीहरू घर जाँदाजाँदै बाटैमा मुर्छा पर्लान्।”

33 चेलाहरूले भने, “अहो! यतिका मानिसहरूलाई यो उजाड ठाउँमा कहाँबाट खानेकुरा ल्‍याएर खुवाउने?”

34 येशूले सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्?” “सात वटा रोटी र केही स-साना माछा मात्र छन्!” तिनीहरूले जवाफ दिए।

35 अनि येशूले मानिसहरूलाई चउरमा बस्‍न लाउनुभयो।

36 त्‍यसपछि उहाँले ती रोटी र माछाहरू लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो। रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिँदै बाँड्‍न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए।

37 सबैले अघाउञ्‍जेल खाए र पनि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर उठाउँदा त सात डाला भरिए।

38 त्‍यहाँ खाने स्‍वास्‍नी मानिस र केटा-केटीहरूबाहेक लोग्‍ने मानिसहरू मात्रै चार हजार जति थिए।

39 त्‍यसपछि येशूले ती मानिसहरूलाई बिदा गर्नुभयो। उहाँचाहिँ नाउमा चढेर मगादान भन्‍ने क्षेत्रमा जानुभयो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy