मत्ती 10 - सरल नेपाली पवित्र बाइबलबाह्र जना प्रेरितहरूका काम ( मर्कूस ३:१३-१९ ; ६:७-१३ ; लूका ६:१२-१६ ; ९:२-६ ) 1 येशूले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर भेला गराउनुभयो अनि तिनीहरूलाई भूतहरू निकाल्ने र सबै किसिमका रोगी-बिरामीहरूलाई निको पार्ने अधिकार दिनुभयो। 2 यी बाह्र प्रेरितहरू यिनै हुन्– पहिलोचाहिँ पत्रुस भनिने सिमोन अनि उनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना, 3 फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसको छोरा याकूब, थेदियस 4 र देशभक्त दलका सिमोन अनि येशूलाई पक्राइदिने यहूदा इस्करियोत। 5 येशूले ती बाह्र जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरू अरू जातिका मानिसहरूकहाँ र सामरीहरूका सहरहरूमा नजाओ। 6 तर हराएका भेडाहरूजस्ता इस्राएलीहरूकहाँ जाओ। 7 मानिसहरूलाई ‘परमेश्वरको राज्य आइसक्न लागेको छ’ भनेर सुनाओ। 8 बिरामीहरूलाई निको पार, मरेकालाई बिउँताओ, कुष्ठरोगीलाई शुद्ध पार र भूतहरू निकाल। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ। 9 सुन, चाँदी वा तामाको एक पैसा पनि नबोक्नू। 10 परदेशको लागि झोला, फाल्तु लुगा, फाल्तु जुत्ता र टेक्ने लौरोसमेत नबोक्नू किनभने खेतालालाई खाँचो परेको कुरा पाउनु नै पर्छ। 11 “तिमीहरू गाउँ-सहरमा जाँदा स्वागत गर्ने मानिसलाई खोज अनि त्यस गाउँबाट बिदा नहोउञ्जेल त्यसैकहाँ बस। 12 उसको घरमा पस्दा ‘तपाईंलाई शान्ति होस्’ भन्नू। 13 त्यस घरानाले तिमीहरूको शान्ति लिन लायकको रहेछ भने त्यहाँ शान्ति रहनेछ। तर तिनीहरू लायकका रहेनछन् भने शान्ति तिमीहरूकहाँ नै फर्केर आउनेछ। 14 कुनै घरमा अथवा गाउँ-सहरमा मानिसहरूले तिमीहरू गएको मन पराएनन् भने या तिमीहरूका कुरा नै सुन्न मानेनन् भने त्यो ठाउँ नै छोडेर हिँडिहाल्नू। ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिन तिमीहरूको पैतालामा लागेको धुलो त्यहीँ टक्टक्याएर जाओ। 15 साँच्चै म तिमीहरूलाई भन्छु, न्यायको दिनमा परमेश्वरले त्यस सहरका मानिसहरूलाई भन्दा त बरु सदोम र गमोरा सहरका मानिसहरूलाई बढी सहनुहुनेछ। आउन लागेको सतावटको बारेमा ( मर्कूस १३:९-१३ ; लूका २१:१२-१७ ) 16 “हेर, भेडाहरूलाई ब्वाँसाहरूको बीचमा पठाएजस्तै म तिमीहरूलाई मानिसहरूको बीचमा पठाउँदै छु। त्यसकारण तिमीहरू सर्पजस्तै बाठो र ढुकुरजस्तै सुधो हुनुपर्छ। 17 मानिसहरूदेखि होशियार भएर बस किनभने तिनीहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। 18 मेरो कारणले तिनीहरूले तिमीहरूलाई बडा-हाकिम र राजाहरूका अगाडि उभ्याउनेछन्। त्यति बेला तिमीहरूले तिनीहरूलाई र अरू जातिका मानिसहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ। 19 तिमीहरूलाई पक्रेर लाने बेलामा के भन्ने र कसरी बोल्ने भनेर सुर्ता नगर। भन्नुपर्ने कुरा तिमीहरूले त्यही समयमा पाउनेछौ 20 किनभने त्यति बेला तिमीहरूले आफ्नै तर्फबाट बोल्नेछैनौ, परमेश्वर पिताको आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। 21 “मानिसहरूले आफ्नै दाजुभाइहरूलाई मार्न सुम्पिदिनेछन्। बुबाले छोरा-छोरीलाई र छोरा-छोरीले आमा-बुबालाई विरोध गरेर मार्न लाउनेछन्। 22 मेरै कारणले तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्म स्थिर रहनेहरूचाहिँ बचाइनेछन्। 23 मानिसहरूले तिमीहरूलाई एउटा गाउँमा दु:ख दिए भने अर्को गाउँमा भागेर जाओ। साँच्चै म तिमीहरूलाई भन्छु, मानव पुत्र आउनुभन्दा अघि तिमीहरूले इस्राएलका सबै गाउँ-सहरमा काम भ्याइसकेका हुनेछैनौ। 24 “कुनै पनि चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन। नता मालिकभन्दा कुनै दास ठूलो हुन सक्छ। 25 यसकारण चेलाले आफ्नो गुरुसमान भएकोमा सन्तोष मानोस्, त्यसै गरी दासले मालिकसमान हुन पाएकोमा सन्तोष मानोस्। अब घर धनीलाई नै भूतका राजा बालजिबुल भन्छन् भने उसको घरानालाई त झन् के भन्लान्? कोदेखि डराउने? ( लूका १२:२-७ ) 26 “त्यसकारण मानिसहरूदेखि नडराउनू किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबैलाई थाहा हुनेछ। 27 मैले तिमीहरूलाई अँध्यारोमा भनेका कुरा तिमीहरूले उज्यालोमा सबैलाई बताउनू, कानमा सुटुक्क भनेका कुरा घरको धुरीबाट प्रचार गर्नू। 28 मानिसहरूले त तिम्रो शरीरलाई मात्र मार्न सक्छन्, तिमीहरूको आत्मालाई चाहिँ तिनीहरूले बिगार गर्न सक्दैनन् नि! यसैले आत्मालाई मार्न नसक्नेहरूदेखि नडराउनू, बरु तिम्रो आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नुहुने परमेश्वरदेखि नै डराउनू। 29 तर हेर, दुईटा भङ्गेरा एक पैसामा बेचिन्छन्, होइन र? तापनि एउटै भङ्गेरा पनि परमेश्वरको इच्छाबिना भूइँमा खस्दैन। 30 झन् तिमीहरूका एक-एक केशसमेत गनिएका छन्। 31 त्यसैले नडराओ! भङ्गेराहरूभन्दा त तिमीहरू धेरै मूल्यवान् छौ। 32 “हेर, जसले मलाई मानिसहरूका सामने आफ्नो प्रभु भनेर स्वीकार गर्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताका सामने आफ्नो हो भनी स्वीकार गर्नेछु। 33 तर जसले मलाई मानिसहरूका सामने चिन्दिनँ भन्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताको सामने चिन्दिनँ भन्नेछु। चेलाले तिर्नुपर्ने मोल ( लूका १२:५१-५३ ; १४:२६-२७ ) 34 “म पृथ्वीमा मेलमिलाप ल्याउन आएको हुँ भन्ने नसम्झ। म मेलमिलाप ल्याउन होइनँ, तर तरवार चलाउन पो आएको हुँ। 35 म त छोरालाई आफ्नै बुबाको विरोधमा, छोरीलाई आमाको विरोधमा र बुहारीलाई सासूको विरोधमा जुधाउन आएको हुँ। 36 मानिसको ठूलो शत्रुचाहिँ आफ्नो घरकै मानिस हुनेछन्। 37 मलाई भन्दा आफ्ना आमा-बुबालाई बढी माया गर्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन। त्यसै गरी मलाई भन्दा आफ्ना छोरा-छोरीलाई बढी माया गर्ने पनि मेरो चेला बन्ने लायकको हुँदैन। 38 आफ्नो क्रूस बोकेर मेरो पछिपछि नहिँड्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन। 39 आफ्नै ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ, तर मेरो लागि आफ्नो जीवन गुमाउनेले चाहिँ त्यो पाउनेछ। चेलाले पाउने इनामको बारेमा ( मर्कूस ९:४१ ; लूका १०:१६ ) 40 “तिमीलाई स्वागत गर्नेले मलाई स्वागत गर्छ र मलाई स्वागत गर्नेले मलाई पठाउनुहुनेलाई नै स्वागत गर्छ। 41 अगमवक्तालाई ‘अगमवक्ता हुन्’ भनेर स्वागत गर्नेले अगमवक्ताकै जस्तो इनाम पाउनेछ। त्यसरी नै परमेश्वरको अघि धर्मी ठहरिएको मानिसलाई स्वागत गर्नेले उसकै जस्तो इनाम पाउनेछ। 42 कसैले सानोभन्दा सानोलाई मेरो चेला हो भनेर एक गिलास चिसो पानी मात्र पिउन दियो भने पनि उसले साँच्चै इनाम पाउनेछ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society