Online Bible

- Reklamy -

लूकाको सुसमाचार 9 - सरल नेपाली पवित्र बाइबल


येशूले चेलाहरूलाई प्रचारमा पठाउनुभएको
( मत्ती १०:५-१५ ; मर्कूस ६:७-१३ )

1 येशूले बाह्रै चेलाहरूलाई बोलाउनुभयो। तिनीहरूलाई भूत निकाल्‍ने र बिरामीहरूलाई निको पार्ने शक्ति र अधिकार दिएर

2 परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्न र बिरामीहरूलाई निको पार्न पठाउनुभयो।

3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाटोको लागि केही पनि नलैजाओ। लट्ठी, झोला, फेरफारे लुगा, पैसा र खानेकुरासमेत नबोक।

4 जुन घरका मानिसहरूले तिमीहरूको स्‍वागत गर्छन्, त्‍यस गाउँबाट बिदा नहुञ्‍जेल त्‍यही घरमा बस।

5 कुनै ठाउँका मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिन पैतालाको धुलोसमेत टक्टक्‍याएर त्‍यस ठाउँलाई छोडिदेओ।”

6 चेलाहरूले गाउँ-गाउँमा गएर सुसमाचार प्रचार गर्दै बिरामीहरूलाई निको पारे।


हेरोद अलमल्‍ल परेका
( मत्ती १४:१-१२ ; मर्कूस ६:१४-२९ )

7 रोमी महाराजाको अधीनमा गालील क्षेत्रमा राज्‍य गर्ने हेरोदले येशूले गर्नुभएका कामहरूको चर्चा सुने अनि उनी अलमल्‍ल परे किनभने कतिले “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्,” भन्‍थे।

8 कतिले चाहिँ “एलिया देखा परेछन्,” भन्‍थे। अरूले “कुनै अगमवक्ता मरेकोबाट बिउँतेछन्,” भन्‍थे।

9 हेरोदले चाहिँ यसो भने, “यूहन्‍नाको त मैले नै टाउको काट्‍न लगाएको हुँ। तर ती मानिसचाहिँ को हुन् जसको बारेमा मैले यस्‍ता अनौठा कुराहरू सुन्‍दै छु?” तिनले येशूलाई भेट्‍ने इच्‍छा गरे।


येशूले पाँच हजारलाई खुवाउनुभएको
( मत्ती १४:१३-२१ ; मर्कूस ६:३०-४४ ; यूहन्‍ना ६:१-१४ )

10 येशूले पठाउनुभएका बाह्र जना प्रेरितहरू प्रचार गरेर फर्केपछि उनीहरूले आफूले गरेका सबै कुरा येशूलाई सुनाए। उहाँ तिनीहरूलाई लिई आफूहरू मात्र बेथसेदा सहरमा जानुभयो।

11 तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो र परमेश्‍वरको राज्‍यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो।

12 घाम अस्‍ताउन लागेको बेलामा ती बाह्र जना आएर भने, “यहाँ त केही पनि छैन। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू वरपर गाउँमा गएर आफ्‍नो गाँस-बासको बन्‍दोबस्‍त आफैंले गरून्।”

13 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” उनीहरूले भने, “प्रभु, हामीसँग के छ र? पाँच वटा रोटी र दुईटा माछा मात्रै छन्। के हामीले यति धेरै मानिसहरूलाई खानेकुरा किनेर ल्‍याउनू?”

14 त्‍यहाँ लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए। येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानिसहरूलाई पचास-पचासको लहरमा बस्‍न लगाओ।”

15 चेलाहरूले मानिसहरूलाई त्‍यसै गरी बस्‍न लगाए।

16 त्‍यसपछि येशूले पाँच वटा रोटी र दुईटा माछा लिनुभयो र स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो अनि उहाँले रोटी र माछा टुक्रा-टुक्रा पारेर चेलाहरूलाई बाँड्‍न लाउनुभयो।

17 सबैले अघाउञ्‍जेल खाए। उब्रिएका रोटी र माछाका टुक्राहरू उठाउँदा त बाह्र डाला भरिए।


येशू मुक्ति दिने ख्रीष्‍ट
( मत्ती १६:१३-२३ ; मर्कूस ८:२७-३३ )

18 येशू एकपल्‍ट एक्‍लै प्रार्थना गरिरहनुभएको बेलामा चेलाहरू पनि उहाँकै छेउमा थिए। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्?”

19 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन् कसैले एलिया हो भन्‍छन् अनि कतिले चाहिँ उहिलेका कुनै अगमवक्ता मरेकाबाट बिउँतेका होलान् भन्‍छन्।”

20 येशूले तिनीहरूलाई सोध्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं परमेश्‍वरले पठाउनुभएको ख्रीष्‍ट हुनुहुन्‍छ!”

21 तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो

22 अनि तिनीहरूलाई कुरा बुझाउँदै भन्‍नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्‍नुपर्छ। अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले उसलाई मान्‍नेछैनन् अनि मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।”


चेलाले गर्नुपर्ने त्‍याग
( मत्ती १६:२४-२८ ; मर्कूस ८:३४—९:१ )

23 उहाँले सबैलाई भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर मलाई पछ्याउनुपर्छ

24 किनभने आफ्‍नो जीवन जोगाउन खोज्‍नेले जीवन नै गुमाउनेछ, तर आफ्‍नो जीवन मेरो लागि गुमाउनेले चाहिँ आफ्‍नो जीवन बचाउनेछ।

25 मानिसले संसारलाई नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र?

26 जसले मेरो नाउँ लिन र मेरो शिक्षासित लाज मान्‍छ, म मानव पुत्रले पनि मेरो र परमेश्‍वर पिताको अनि पवित्र स्‍वर्गदूतहरूको महिमा लिएर आउँदा उसलाई आफ्‍नो भन्‍न लजाउनेछु।

27 तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यलाई नदेखेसम्‍म यहाँ उभिनेहरूमध्‍ये कति जनाचाहिँ मर्नेछैनन्।”


येशूको रूप फेरिएको
( मत्ती १७:१-८ ; मर्कूस ९:२-८ )

28 यी कुरा भनेको प्राय: एक हप्‍तापछि पत्रुस, यूहन्‍ना र याकूबलाई लिएर येशू पहाडमा प्रार्थना गर्न जानुभयो।

29 उहाँले प्रार्थना गरिरहनुभएको बेलामा उहाँको अनुहार भिन्‍नै भयो र उहाँको लुगा सेतो र चहकिलो भएर आयो।

30 एक्‍कासि दुई जना मानिस देखा परे र येशूसँग कुरा गर्न लागे। उनीहरू मोशा र एलिया थिए।

31 उनीहरू पनि स्‍वर्गको उज्‍यालोमा चम्‍किरहेका थिए र यरूशलेममा येशू मर्नुपर्ने बारेमा उहाँसँग कुरा गर्दै थिए।

32 पत्रुस र उनका साथीहरू मस्‍त निदाएका थिए। बिउँझँदा त तिनीहरूले येशूलाई स्‍वर्गको चहकिलो उज्‍यालोमा ती अरू दुईसँग कुरा गरिरहनुभएको देखे।

33 ती दुई येशूसँग बिदा हुन आँट्दा पत्रुसले भने, “गुरु, हामी पनि यहाँ भएको त राम्रो भएछ। यहाँ तीन वटा छाप्रो बनाऔं, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” तर उनलाई आफूले भनेका कुराको ख्‍यालै थिएन।

34 पत्रुस बोल्‍दाबोल्‍दै एउटा बादल आएर उनीहरूलाई ढाक्‍यो अनि चेलाहरू डराए।

35 त्‍यतिखेर बादलभित्रबाट यस्‍तो आवाज आयो, “यिनी मैले छानेका मेरा पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान।”

36 त्‍यो आवाज रोकिएपछि चेलाहरूले येशूलाई मात्रै देखे। त्‍यस बेला चेलाहरूले आफूले देखेका कुरा कसैलाई पनि बताएनन्।


येशूले भूत लागेको ठिटोलाई निको पार्नुभएको
( मत्ती १७:१४-१८ ; मर्कूस ९:१४-२७ )

37 भोलिपल्‍ट येशू चेलाहरूसँगै पहाडबाट ओर्लनुहुँदा धेरै मानिसहरू उहाँलाई भेट्‍न आए।

38 तिनीहरूमध्‍ये एक जनाले कराएर भन्‍यो, “गुरुज्‍यू, कृपा गरी मेरो छोरालाई हेरिदिनुहोस् किनकि यो मेरो एउटै छोरा हो!

39 भूतले घरीघरी उसलाई छोप्‍छ र ऊ चिच्‍च्‍याउँदै मूर्च्‍छा पर्छ। मुखबाट फिँज काढ्दै लडीबडी गर्छ अनि चोट पटक नलगाएसम्‍म भूतले उसलाई छोड्दै छोड्दैन।

40 मैले हजुरका चेलाहरूलाई भूत निकालिदिनुहोस् भनी बिन्‍ती गरें, तर तिनीहरूले सकेनन्।”

41 येशूले भन्‍नुभयो, “कस्‍ता विश्‍वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिञ्‍जेल सहिरहने?” त्‍यसपछि येशूले केटाका बुबालाई भन्‍नुभयो, “तिम्रो छोरालाई लिएर आऊ!”

42 बुबाले छोरालाई ल्‍याउँदाल्‍याउँदै भूतले उसलाई पछारेर कक्र्याककुक्रुक पार्‍यो। तर येशूले भूतलाई हकार्नुभयो र केटालाई निको पारेर बुबालाई दिनुभयो।

43 परमेश्‍वरको यस्‍तो ठूलो शक्ति देखेर सबै मानिसहरू छक्‍क परे। मानिसहरू उहाँको काम देखेर छक्‍क परिरहेकै बेलामा येशूले चेलाहरूलाई भन्‍नुभयो,


येशूले फेरि आफ्‍नो मृत्‍युको चर्चा गर्नुभएको
( मत्ती १७:२२-२३ ; मर्कूस ९:३०-३२ )

44 “मैले के भन्‍न लागेको छु, त्‍यो कुरा नभुल किनभने मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्‍पिदिइनेछ।”

45 तर चेलाहरूले चाहिँ बुझ्‍न सकेनन्। यो कुरा बुझ्‍न सक्‍ने ज्ञान नपाएको हुनाले येशूले के भन्‍नुभएको होला भनी तिनीहरूले विचारै गर्न सकेनन्। के भनेको हो भनेर तिनीहरूले सोध्‍ने साहस पनि गरेनन्।


सबैभन्दा ठूलो को
( मत्ती १८:१-५ ; मर्कूस ९:३३-४० )

46 बाह्र जना चेलाहरूको बीचमा कोचाहिँ ठूलो हो भन्‍ने कुरा चल्‍यो।

47 येशूले तिनीहरूको विचार बुझेर एउटा बालकलाई आफ्‍नो छेउमा ल्‍याएर उभ्‍याउनुभयो

48 अनि तिनीहरूलाई भन्‍नुभयो, “मेरो नाउँमा यस्‍ता बालकलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुने पितालाई ग्रहण गर्छ। तिमीहरूमध्‍ये जो सबैभन्दा सानो छ, त्‍यही नै सबैभन्दा ठूलो हुन्‍छ।”

49 यूहन्‍नाले भने, “गुरुज्‍यू, हामीले एक जना मानिसले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्‍यौं अनि हामीले उसलाई यसो गर्न दिएनौं किनभने ऊ हाम्रो समूहको मान्‍छे थिएन।”

50 येशूले तिनीहरूलाई भन्‍नुभयो, “उसलाई नरोक, तिमीहरूको विरोध नगर्ने जति तिमीहरूकै पक्षका हुन्।”


सामरीहरूले येशूलाई सत्‍कार नगरेका

51 स्‍वर्ग जाने समय हुन लागेकोले येशू अठोट लिएर यरूशलेमतिर लाग्‍नुभयो।

52 येशूले ‘पहिले नै सबै कुरा तयार पार्दै गर’ भनेर केही मानिसहरूलाई सामरिया क्षेत्रको एउटा गाउँमा पठाउनुभयो।

53 तर उहाँ यरूशलेम जाँदै हुनुहुन्‍छ भन्‍ने कुरा थाहा पाएर कसैले पनि उहाँको स्‍वागत-सत्‍कार गरेनन्।

54 यो देखेर याकूब र यूहन्‍नाले येशूलाई भने, “प्रभु, स्‍वर्गबाट आगो झारेर हामी तिनीहरूलाई नाश गरौं भन्‍ने तपाईं चाहनुहुन्‍छ?”

55 तर येशूले फनक्‍क फर्केर तिनीहरूलाई त्‍यसो भनेकोमा हप्‍काउनुभयो। [अनि यसरी भन्‍नुभयो, “तिमीहरूमा कस्‍तो खालको मन हुनुपर्छ, त्‍यो त तिमीहरूले बुझेकै रहेनछौ। म मानव पुत्र त मानिसहरूलाई नाश गर्न भनेर होइनँ, तर तिनीहरूलाई बचाउन पो आएको हुँ।”]

56 त्‍यसपछि उहाँ तिनीहरूलाई लिएर अर्को गाउँमा जानुभयो।


चेलाको गुण
( मत्ती ८:१९-२२ )

57 येशू र उहाँका चेलाहरू गइरहँदा एक जना मानिस आएर येशूलाई भने, “जहाँ गए पनि म तपाईंको पछि जानेछु।”

58 येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, स्‍यालहरूका लुक्‍ने ओडार छन्, चरा-चुरुङ्गीका गुँडहरू छन्, तर म मानव पुत्रको भने आराम गर्ने ठाउँसम्‍म पनि छैन।”

59 अनि अर्का एक जना मानिसलाई येशूले भन्‍नुभयो, “मेरो पछि लाग!” तर तिनले भने, “गुरुज्‍यू, पहिले गएर मेरो बुबाको लाश गाड्‍न दिनुहोस्।”

60 तिनलाई चाहिँ येशूले जवाफ दिनुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्। तर तिमीचाहिँ गएर परमेश्‍वरको राज्‍यको प्रचार गर।”

61 फेरि अर्को एक जना मानिसले येशूलाई भन्‍यो, “हजुर, म तपाईंको चेला हुन चाहन्‍छु, तर म पहिले घरबाट बिदा हुन पाऊँ।”

62 तिनलाई चाहिँ येशूले भन्‍नुभयो, “हलो जोत्‍दा पछिल्‍तिर फर्कंदै हेरिरहने मानिसचाहिँ परमेश्‍वरको राज्‍यको निम्‍ति काम लाग्‍दैन।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy