Online Bible

- Reklamy -

लूकाको सुसमाचार 7 - सरल नेपाली पवित्र बाइबल


रोमी कप्‍तानको विश्‍वास
( मत्ती ८:५-१३ )

1 मानिसका भीडहरूलाई यी शिक्षाहरू दिइसक्‍नुभएपछि येशू कफर्नहुमतिर जानुभयो।

2 त्‍यहाँ रोमी कप्‍तानको औधी प्‍यारो नोकर बिरामी भएर मर्नै आँटेको थियो।

3 येशूको बारेमा सुनेपछि ती कप्‍तानले केही यहूदी अगुवाहरूलाई पठाए र आएर ‘मेरो नोकरलाई निको पारिदिनुहोस्’ भन्‍ने बिन्‍ती चढाउन लगाए।

4 ती अगुवाहरूले येशूकहाँ आएर बिन्‍ती चढाउँदै भने, “रोमी कप्‍तान साँच्‍चै तपाईंको सहायता पाउने योग्‍यका मानिस हुन्।

5 उनले हाम्रो जातिलाई माया गर्छन् र हाम्रो लागि एउटा सभाघर पनि बनाइदिएका छन्।”

6 यस्‍तो बिन्‍ती सुनेर येशू तिनीहरूसँगै जानुभयो। घरको नजिक आइपुग्‍नुहुँदा कप्‍तानले आफ्‍ना साथीहरूलाई येशूकहाँ यस्‍तो खबर पठाए, “हजुर दु:ख नगर्नुहोस्, हजुरलाई आफ्‍नो घरभित्र लैजाने लायकको म छैनँ

7 नता म आफैं पनि हजुरको सामुन्‍ने आउन लायकको छु। तर हजुरले आज्ञा दिनुहोस् र मेरो नोकर निको भइहाल्‍छ।

8 म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्‍छु, त्‍यो जान्‍छ, अर्कोलाई ‘आइज’ भन्‍छु, त्‍यो आउँछ अनि आफ्‍नो नोकरलाई पनि ‘यसो गर्‌’ भन्‍छु, त्‍यसले गरिहाल्‍छ।”

9 यो कुरा सुनेर येशू छक्‍कै पर्नुभयो अनि आफ्‍ना पछि लागेका मानिसहरूका हुलतिर हेरेर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, यति ठूलो विश्‍वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैन।”

10 ती खबर ल्‍याउने साथीहरू घर फर्कंदा त्‍यो नोकरचाहिँ निको भइसकेको थियो।


येशूले विधवाको छोरोलाई बचाउनुभएको

11 केही दिनपछि येशू नाइन भन्‍ने सहरमा जानुभयो। उहाँका चेलाहरू र अरू थुप्रै मानिसहरू पनि उहाँको पछि लागे।

12 येशू सहरको ढोकामा आइपुग्‍नुहुँदा एउटा मुर्दालाई बोकेर मलामीहरू जाँदै थिए। मरेको मानिसचाहिँ एउटी विधवाको एउटै मात्र छोरो थियो। ती विधवासँग मलामी जाने सहरका थुप्रै मानिसहरू पनि थिए।

13 विधवाको दु:ख देख्‍नुहुँदा प्रभुको हृदय दयाले भरिएर आयो र उहाँले तिनलाई भन्‍नुभयो, “तिमी नरोऊ!”

14 अनि अगाडि गएर येशूले मुर्दाको खटिया समातेर रोक्‍नुभयो। मलामीहरू टक्‍क अडिए। अनि येशूले मुर्दालाई भन्‍नुभयो, “ए केटा, म तिमीलाई भन्‍छु, उठ!”

15 त्‍यति नै खेर मरेको केटो उठेर बस्‍यो र कुरा गर्न लाग्‍यो। येशूले त्‍यो ठिटालाई उसकी आमाकहाँ सुम्‍पिदिनुभयो।

16 परमेश्‍वरको यस्‍तो शक्ति देखेर सबैले छक्‍क पर्दै उहाँको डर माने अनि परमेश्‍वरको प्रशंसा गर्दै भने, “एक जना ठूला अगमवक्ता हामीहरूका बीचमा देखा पर्नुभएको छ। परमेश्‍वर आफ्‍ना जनहरूलाई बचाउन आउनुभएको हो।”

17 येशूले त्‍यस केटोलाई बचाउनुभएको खबर यहूदियाभरि र त्‍यसका वरिपरिका सबै क्षेत्रहरूमा फैलियो।


यूहन्‍नाले येशूको बारेमा कुरा बुझ्‍न पठाएका
( मत्ती ११:२-१९ )

18 यूहन्‍नाका चेलाहरूले पनि येशूले गर्नुभएका यी सबै कुरा आफ्‍ना गुरुलाई सुनाए अनि यूहन्‍नाले आफ्‍ना दुई चेलाहरूलाई बोलाएर

19 प्रभु येशूकहाँ यसो भनी सोध्‍न पठाए, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?”

20 अनि तिनीहरूले येशूकहाँ आएर सोधे, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामी अरू कसैको बाटो हेरौं? यो कुरा बप्‍तिस्‍मा दिने यूहन्‍नाले हामीलाई सोध्‍न पठाएका हुन्।”

21 त्‍यति नै बेला येशूले धेरै मानिसहरूलाई रोग र भूतबाट निको पार्दै हुनुहुन्‍थ्‍यो र धेरै अन्‍धाहरू पनि देख्‍ने भए।

22 येशूले यूहन्‍नाका चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे-जे देखेका छौ र सुनेका छौ, गएर त्‍यही कुरा नै यूहन्‍नालाई भनिदेओ– अन्‍धाहरूले देख्‍दै छन्, लङ्गडाहरू हिँड्‍न सक्‍छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्‍दै छन्, मरेकाहरू बिउँतन्‍छन् र दु:खी-गरीबहरूले परमेश्‍वरको सुसमाचार सुन्‍न पाउँदै छन्।

23 मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्‍चै धन्‍य हो!”

24 यूहन्‍नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई उनका बारेमा भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्‍लिंदै गरेको निगालोलाई?

25 के राम्रा-राम्रा लुगा लगाएको मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा मोज-मज्‍जाले बसेका हुन्‍छन्।

26 साँच्‍चै भन त, तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्‍चै भनुँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ

27 किनभने यूहन्‍नाकै बारेमा धर्मशास्‍त्रमा परमेश्‍वरले यसरी भन्‍नुभएको छ– हेर, तिमीभन्दा अघि-अघि म मेरो दूतलाई पठाउँदै छु। अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।

28 “म तिमीहरूलाई भन्‍छु, स्‍वास्‍नी मानिसबाट जन्‍मिएकाहरूमध्‍ये यूहन्‍नाभन्दा ठूलो मानिस कोही छैन। तापनि परमेश्‍वरको राज्‍यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्‍नाभन्दा पनि ठूलो हो।

29 यूहन्‍नाको शिक्षा सुनेर मानिसहरूले ‘परमेश्‍वरको आज्ञा साँच्‍चै ठीक रहेछ’ भनेर उनले दिने बप्‍तिस्‍मा लिए। कर उठाउनेहरू पापी भए पनि तिनीहरूले पनि त्‍यही आज्ञा मानेर बप्‍तिस्‍मा लिए।

30 तर फरिसी र धर्म-गुरुहरूले चाहिँ परमेश्‍वरको उपायलाई बेकामको ठानेर यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएनन्।

31 “त्‍यस्‍ता मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू कस्‍ता छन्?

32 तिनीहरू त बजारमा बसेर यसरी कुरा गर्ने बालकहरूजस्‍ता छन्– हामीले तिमीहरूका लागि बाँसुरी बजाइदिँदा तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा तिमीहरू रोएनौ।

33 अङ्‌गुरको मद्य नपिउने र उपवास बस्‍ने यूहन्‍ना आए। उनलाई तिमीहरूले भूत चढेको मानिस भन्‍यौ।

34 खाने, पिउने म मानव पुत्र आएँ र मलाई चाहिँ तिमीहरूले ‘हेर, त्‍यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदै छौ।

35 परमेश्‍वरबाट बुद्धि पाउनेहरूले नै उहाँको बुद्धिलाई ठीक ठहराउँछन्।”


येशू सिमोन फरिसीको घरमा जानुभएको

36 एक जना फरिसीले येशूलाई खान बोलाए। येशू गएर उनको घरभित्र पसेर खान बस्‍नुभयो।

37 सहरकी एउटी पापी स्‍त्रीले येशू फरिसीको घरमा खान आउनुभएको छ भन्‍ने कुरा सुनिन्। उनी एउटा सिङ्गमरमरको भाँडाभरि अत्तर लिएर त्‍यही घरमा नै आइपुगिन्।

38 तिनी पछाडिबाट आएर येशूको पाउनेर उभिंदै रुन लागिन् र आँसुको धाराले येशूको पाउ धोइदिइन्। उहाँको पाउ कपालले पुछ्तै म्‍वाइँ खाएर अत्तर खन्‍याइदिइन्।

39 यो देखेर येशूलाई बोलाउने फरिसीले मनमनै भने, “यदि येशू साँच्‍चै अगमवक्ता हुन् भने त उनलाई छुने स्‍त्री कस्‍ती खालकी पापी स्‍त्री हो भनी जान्‍नेथिए।”

40 त्‍यतिखेर येशूले ती फरिसीलाई भन्‍नुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्‍नुपर्छ।” तिनले भने, “आज्ञा होस्, गुरुज्‍यू!”

41 सुन, “कुनै मानिसका दुई जना असामी थिए। एउटाले पाँच सय चाँदीको सिक्‍का अनि अर्कोले पचास चाँदीको सिक्‍का लिएका थिए।

42 तिनीहरू कसैले पनि ऋण तिर्न नसकेकाले साहूले दुवैलाई ऋण माफ गरिदिए। अब भन त, कुनचाहिँले साहूलाई बढ्ता माया गर्ला?”

43 सिमोनले भने, “मेरो विचारमा बढ्ता माफ पाउनेले।” येशूले भन्‍नुभयो, “तिमीले ठीक भन्‍यौ।”

44 उहाँले स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “यिनलाई हेर त। म तिम्रो घरमा आएँ, तर तिमीले मलाई खुट्टा धुने पानीसम्‍म दिएनौ। तर यिनले त मेरो खुट्टा आँसुले धोइदिइन् र आफ्‍नै कपालले पुछिन्।

45 तिमीले मलाई म्‍वाइँ खाएर स्‍वागत गरेनौ, यिनले त म आएदेखि नै खुट्टामा म्‍वाइँ खाइरहेकी छिन्।

46 तिमीले मेरो कपालमा तेल लगाइदिएनौ, यिनले त मेरो खुट्टामा अत्तरसमेत खन्‍याइदिइन्।

47 यिनले किन यस्‍तो गरेकी छिन् भने म तिमीलाई भन्‍छु, यिनका धेरै पापहरू क्षमा भइसकेका छन्। यसैले यिनले मलाई धेरै माया देखाइन्। थोरै पाप क्षमा भएको मानिसले चाहिँ थोरै माया गर्दछ।”

48 येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रा पाप क्षमा भइसकेका छन्।”

49 त्‍यहाँ खान बसेका मानिसहरूले भन्‍न लागे, “पाप क्षमा गर्ने यो को हो?”

50 तर येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ। अब शान्‍तिसित जाऊ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy