लूकाको सुसमाचार 5 - सरल नेपाली पवित्र बाइबलयेशूले तीन जना चेलाहरूलाई बोलाउनुभएको ( मत्ती ४:१८-२२ ; मर्कूस १:१६-२० ) 1 एक दिन येशू गनेसरेत भन्ने ताल (अर्थात् गालीलको ताल) को किनारामा उभिरहनुभएको थियो। धेरै मानिसहरू परमेश्वरको शिक्षा सुन्न घुइँचो लागेर आए। 2 येशूले तालको किनारमा दुईटा नाउ देख्नुभयो। जालहारीहरू नाउ छोडेर जाल धुन लागेका थिए। 3 एउटा नाउचाहिँ सिमोनको थियो। येशूले त्यही नाउमा चढेर सिमोनलाई ‘नाउ किनारबाट अलिक पर लैजाऊ’ भन्नुभयो र बसेर मानिसहरूलाई शिक्षा दिन लाग्नुभयो। 4 शिक्षा दिइसकेपछि येशूले सिमोनलाई भन्नुभयो, “नाउ गहिरो ठाउँमा लैजाऊ र जाल हान!” 5 यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्नुभएको हुनाले म जाल हानिदिन्छु।” 6 जाल हान्दा त यति धेरै माछा परे कि तिनीहरूको जालै फाट्न लाग्यो 7 अनि तिनीहरूले अर्को नाउमा भएका साथीहरूसँग गुहार मागे। तिनीहरू आएर माछा निकाल्न लागे। निकाल्दा-निकाल्दै दुईटै नाउमा माछा यति धेरै भयो कि नाउ नै डुब्न लाग्यो। 8 यो देखेर सिमोन पत्रुसले येशूको पाउमा परेर भने, “हे प्रभु, म पापी छु, मबाट पर बस्नुहोस्!” 9 किनभने यति धेरै माछा परेकोमा सिमोन र तिनका साथीहरू छक्क परे 10 र सिमोनसँगै मिलेर काम गर्ने जब्दियाका छोराहरू याकूब र यूहन्नालाई पनि साह्रै अचम्म लागेको थियो। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमी माछा होइन, तर मानिसलाई पक्रेर मकहाँ ल्याउने हुनेछौ।” 11 यो सुनेर तिनीहरूले नाउ किनारामा तानेर ल्याए अनि सबै कुरा छोडेर येशूको पछि लागे। येशूले कुष्ठरोगीलाई निको पार्नुभएको ( मत्ती ८:१-४ ; मर्कूस १:४०-४५ ) 12 एकपल्ट येशू कुनै एउटा सहरमा हुनुहुन्थ्यो। त्यस सहरमा कुष्ठरोग लागेको एउटा मानिस थियो। येशूलाई देखेर त्यस कुष्ठरोगीले उहाँको पाउमा परेर यसरी बिन्ती गर्यो, “गुरुज्यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” 13 येशूले उसमाथि हात राखेर भन्नुभयो, “तिमी शुद्ध होऊ भन्ने म चाहन्छु।” अनि तुरुन्तै उसको कुष्ठरोग निको भइहाल्यो। 14 तब येशूले उसलाई आज्ञा दिएर भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू! तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ। मोशाले अह्राएजस्तै बलि चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।” 15 त्यस दिनदेखि येशूको चर्चा झन् फैलिएर गयो अनि धेरैभन्दा धेरै मानिसहरू उहाँको शिक्षा सुन्न र निको हुन आउन थाले। 16 तर उहाँचाहिँ सुनसान ठाउँहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो। येशूले कुँजोलाई निको पार्नुभएको ( मत्ती ९:१-८ ; मर्कूस २:१-१२ ) 17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। केही धर्म-गुरुहरू र फरिसीहरू पनि उहाँको छेउमा बसिरहेका थिए। तिनीहरूचाहिँ गालील र यहूदिया क्षेत्रका सबै गाउँहरूबाट अनि यरूशलेम सहरबाट पनि आएका थिए। येशूसँग बिरामीहरूलाई निको पार्ने प्रभु परमेश्वरको शक्ति थियो। 18 मानिसहरूले एक जना कुँजो बिरामीलाई ओछ्यानसँगै बोकेर ल्याए। तिनीहरूले उसलाई भित्र येशूको अगाडि पुर्याउन कोसिस गरे। 19 तर मानिसको हुलले गर्दा येशूकहाँ पुर्याउन बाटो नै पाएनन्। यसकारण तिनीहरूले त्यो बिरामीलाई घरको छानामा लगे र झिँगटी उघारे अनि त्यहाँबाट बिरामीलाई ओछ्यानसँगै बिस्तारै येशूको अगाडि ओराले। 20 ती मानिसहरूले यस्तो विश्वास गरेको देखेर येशूले त्यस बिरामीलाई भन्नुभयो, “तिम्रो पाप क्षमा भएको छ।” 21 येशूले भन्नुभएको यो कुरा सुनेर धर्म-गुरु र फरिसीहरूले एक-अर्कासँग भन्न लागे, “परमेश्वरको निन्दा गर्ने यो को हो? परमेश्वरले पो पाप क्षमा गर्न सक्नुहुन्छ। मानिसले पनि पाप क्षमा गर्न सक्छ र?” 22 तिनीहरूका मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू किन यस्तो विचार गर्छौ? 23 त्यस कुँजो मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला, लौ भन? 24 तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्ने कुराको प्रमाण म तिमीहरूलाई दिन्छु।” अनि येशूले त्यस कुँजो बिरामीलाई भन्नुभयो, “म तिमीलाई भन्छु, अब उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” 25 त्यो मानिस तुरुन्तै उठ्यो अनि आफ्नो ओछ्यान बोकेर परमेश्वरको प्रशंसा गर्दै घर गयो। 26 तिनीहरू सबैले ज्यादै अचम्म माने र परमेश्वरको यस्तो ठूलो शक्ति देखेर डराए। तिनीहरूले परमेश्वरको प्रशंसा गर्दै भने, “आज हामीले त कस्तो अचम्मको कुरा देख्यौं!” येशूले लेवीलाई बोलाउनुभएको ( मत्ती ९:९-१३ ; मर्कूस २:१३-१७ ) 27 त्यहाँबाट गइरहँदा येशूले लेवी भन्ने एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” 28 लेवीले सबै कुरा छोडेर उहाँको पछि लागे। 29 त्यसपछि लेवीले येशूलाई आफ्नो घरमा भोज खान बोलाए। त्यस भोजमा कर उठाउने धेरै कर्मचारीहरू र अरू थुप्रै मानिसहरू पनि थिए। 30 फरिसी र फरिसीका धर्म-गुरुहरूले गनगनाउँदै येशूका चेलाहरूलाई भने, “तिमीहरू किन कर उठाउने र अरू पापीहरूसँगै बसेर खान्छौ हँ?” 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “डाक्टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्छ! 32 त्यसरी नै म धर्मीलाई होइन, तर पापीलाई पश्चात्ताप गर भनी बोलाउन आएको हुँ।” उपवास बस्ने बारेमा प्रश्न ( मत्ती ९:१४-१७ ; मर्कूस २:१८-२२ ) 33 कति मानिसहरूले येशूलाई भने, “यूहन्नाका चेलाहरू सधैँजसो उपवास बस्छन् र प्रार्थना गर्छन्। फरिसीका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरूचाहिँ खानपिन मात्र गर्छन्।” 34 येशूले जवाफ दिनुभयो, “तिमीहरू विवाहको भोजमा दुलहासँग आउने जन्तीहरूलाई केही खानै नदिई पठाउँछौ र? 35 तर त्यस्ता दिनहरू पनि आउँछन्, जब दुलहा तिनीहरूबाट छुट्टाइनेछन्, तब पो तिनीहरू उपवास बस्नेछन्।” 36 येशूले फेरि अर्को उदाहरण पनि दिनुभयो, “कसैले पनि नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। यदि टालिहाल्यो भने नयाँ लुगा पनि बिग्रन्छ र नयाँ टालो पुरानो लुगासँग पनि मिल्दैन। 37 “फेरि कसले ताजा अङ्गुरको मद्य पुरानो छालाको थैलामा राख्छ र? यदि राखिहाल्यो भने पनि थैलो फुट्छ अनि मद्य पनि पोखिन्छ। 38 ताजा अङ्गुरको मद्यचाहिँ नयाँ छालाको थैलोमा नै राख्नुपर्छ। 39 हुन त कसैले पनि पुरानो अङ्गुरको मद्य खाएर ताजा अङ्गुरको मद्य खान रुचाउँदैन। उसले भन्छ, पुरानोचाहिँ मीठो हुन्छ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society