लूकाको सुसमाचार 3 - सरल नेपाली पवित्र बाइबलबप्तिस्मा दिने यूहन्नाको प्रचार ( मत्ती ३:१-१२ ; मर्कूस १:१-८ ; यूहन्ना १:१९-२८ ) 1 रोमी महाराजा तिबेरिअसले राज्य गरेको पन्ध्र वर्ष भएको थियो। त्यस बेला पन्तियस पिलातस यहूदिया क्षेत्रका रोमी बडा-हाकिम थिए। रोमी महाराजाका अधीनमा हेरोदले गालील क्षेत्रमा राज्य गर्थे र तिनका भाइ फिलिपले इतुरिया र त्राखोनितिस क्षेत्रमा राज्य गर्थे। अबिलेने क्षेत्रमा लुसानियास भन्ने व्यक्तिले राज्य गर्थे। 2 त्यस बेलाका प्रधान पूजाहारीहरूचाहिँ हन्नास र कैयाफा थिए। त्यति नै खेर उजाड-स्थानमा परमेश्वरले जकरियाका छोरा यूहन्नालाई प्रचार गर्ने आदेश दिनुभयो। 3 यूहन्नाले यर्दन नदीका चारैतिरका क्षेत्रतर्फ गएर मानिसहरूलाई यसरी प्रचार गर्न थाले, “आ-आफ्ना पाप मानेर छोड र बप्तिस्मा लेओ अनि परमेश्वरले तिमीहरूले गरेका पाप क्षमा गर्नुहुनेछ।” 4 यसरी यशैया अगमवक्ताले धर्मशास्त्रमा लेखेका यी कुराहरू पूरा हुन आए– सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्, “प्रभु आउनुहुने बाटो तयार पार, उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ! 5 सबै खोल्सा-खोल्सी पुर्नुपर्छ, डाँडा-काँडा र पहाडहरू सम्याउनुपर्छ, घुमाउरो बाटो सोझो र अप्ठ्यारो बाटो सजिलो बनाउनुपर्छ 6 अनि सबै मानिसहरूले मुक्ति देख्नेछन्।” 7 धेरै मानिसहरू यूहन्नाकहाँ बप्तिस्मा लिन आए। तर यूहन्नाले तिनीहरूलाई भने, “ए विषालु सर्पका सन्तान हो! ‘परमेश्वरले गर्नुहुने न्यायबाट हामी उम्कन सकौंला’ भनेर तिमीहरूलाई कसले सिकायो? 8 तिमीहरूले साँच्चै आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर। तर ‘हामी अब्राहामका सन्तान हौं’ भन्दैमा तिमीहरू उम्कन्छौ भन्ने नसम्झ। म तिमीहरूलाई भन्छु, परमेश्वरले अब्राहामका सन्तानलाई यी ढुङ्गाहरूबाट पनि जन्माउन सक्नुहुन्छ। 9 रूखको फेदमा बन्चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।” 10 मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्नुपर्ने हो त?” 11 उनले तिनीहरूलाई जवाफ दिए, “दुईटा दौरा हुनेले दौरा नहुनेलाई देओस्। त्यस्तै खानेकुरा हुनेले नहुनेलाई देओस्।” 12 कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए र यूहन्नालाई सोधे, “गुरुज्यू, हामीहरूले चाहिँ के गर्नुपर्ने हो?” 13 तिनीहरूलाई उनले भने, “सरकारले तोकेको भन्दा धेरै कर नउठाओ।” 14 सिपाहीहरूले पनि सोधे, “हामीहरूले के गर्नुपर्ने हो?” यूहन्नाले तिनीहरूलाई भने, “करकापमा पारेर वा झूटो दोष लगाएर कसैसँग पैसा नलेओ। बरु आफ्नै तलबमा सन्तुष्ट रहो।” 15 मानिसहरू मुक्ति दिनुहुने राजा ख्रीष्टको आशामा थिए अनि तिनीहरूले मनमनै ‘यूहन्ना नै ख्रीष्ट हुनुहुन्छ कि?’ भनेर विचार गर्दै थिए। 16 त्यसो हुँदा यूहन्नाले सबैलाई भने, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु। तर मभन्दा ठूला एक जना आउँदै हुनुहुन्छ। म त उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। हेर, उहाँले अन्न निफन्न हातमा नाङ्लो लिइसक्नुभएको छ। 17 निफनेर अन्नचाहिँ भकारीमा थन्क्याउनुहुनेछ, तर भुसचाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।” 18 यस्ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्नाले मानिसहरूलाई सुसमाचार सुनाए। 19 राजा हेरोदले आफ्ना भाइकी जहान हेरोदियासलाई राखेकोमा यूहन्नाले उनलाई हप्काए र उनका अरू धेरै पापहरू पनि देखाइदिए। 20 त्यसो हुँदा हेरोदले यूहन्नालाई थुने र यसरी अझै ठूलो खराब काम गरे। येशूले बप्तिस्मा लिनुभएको ( मत्ती ३:१३-१७ ; मर्कूस १:९-११ ; यूहन्ना १:३२-३४ ) 21 सबै मानिसले बप्तिस्मा लिंदैगर्दा येशूले पनि बप्तिस्मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्वर्ग उघ्रियो 22 र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” येशू ख्रीष्टका पुर्खाहरू ( मत्ती १:१-१७ ) 23 येशूले आफ्नो काम सुरु गर्नुहुँदा उहाँको उमेर तीस वर्ष जति भएको थियो। मानिसहरूले योसेफलाई नै उहाँका पिता भनी ठान्थे। योसेफका पिता एली थिए, 24 एलीका पिता मत्तात, मत्तातका लेवी, लेवीका मल्की, मल्कीका यान्ना, यान्नाका योसेफ, 25 यसरी नै योसेफका पिता मत्ताथियास, मत्ताथियासका आमोस, आमोसका नहूम, नहूमका इसली, इसलीका नग्गै। 26 नग्गैका माथ, माथका मत्ताथियास, मत्ताथियासका सेमैन, सेमैनका योसेख अनि योसेखका पिता योदा थिए। 27 योदाका पिता योआनन र योआननका रेसा, रेसाका यरुबाबेल, यरुबाबेलका शालतिएल र शालतिएलका नेरी, 28 नेरीका पिता मल्की, मल्कीका अद्दी, अद्दीका कोसाम, कोसामका एलमादम, एलमादमका एर्, 29 एर्का पिता यहशू, यहशूका एलीएजर र एलीएजरका योरीम, योरीमका मत्तात, मत्तातका लेवी, 30 लेवीका शिमियोन, शिमियोनका यहूदा र यहूदाका योसेफ, योसेफका योनान, योनानका एल्याकीम थिए। 31 एल्याकीमका पिता मलेआ र मलेआका पिता मिन्ना थिए। मिन्नाका मत्ताथा, मत्ताथाका नातान, नातानका दाऊद, 32 दाऊदका यिशै, यिशैका ओबेद, ओबेदका बोअज, बोअजका सल्मोन, सल्मोनका नहशोन, 33 नहशोनका अम्मीनादाब, अम्मीनादाबका पिता आराम थिए। आरामका पिता हेस्रोन, हेस्रोनका फारेस, फारेसका यहूदा, 34 यहूदाका याकूब, याकूबका इसहाक, इसहाकका अब्राहाम, अब्राहामका तेरह र तेरहका नाहोर थिए। 35 नाहोरका पिता सरूग, सरूगका रऊ, रऊका पेलेग र पेलेगका एबेर, एबेरका शेलह, 36 शेलहका केनान, केनानका अर्पक्षद र अर्पक्षदका शेम, शेमका नोआ र नोआका लेमेख, 37 लेमेखका मतूशेलह, मतूशेलहका हनोक, हनोकका येरेद र येरेदका महलालेल, महलालेलका केनान, 38 केनानका एनोश, एनोशका शेत र शेतका पिता आदम थिए अनि आदमका पिता परमेश्वर हुनुहुन्थ्यो। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society