Online Bible

- Reklamy -

लूकाको सुसमाचार 22 - सरल नेपाली पवित्र बाइबल


येशूलाई मार्ने दाउ
( मत्ती २६:१-५ , १४-१६ ; मर्कूस १४:१-२ , १०-११ ; यूहन्‍ना ११:४५-५३ )

1 अखमिरी रोटी खाने निस्तार भन्‍ने चाड आउन लागेको थियो।

2 मुख्‍य पूजाहारी र धर्म-गुरुहरू येशूलाई मार्न चाहन्‍थे, तर मानिसहरूको डरले उहाँलाई सुटुक्‍कै मार्ने युक्ति खोज्‍न लागे।

3 त्‍यसै समय बाह्र जना चेलाहरूमध्‍ये यहूदा इस्‍करियोत भन्‍नेको हृदयमा शैतान पस्‍यो।

4 त्‍यसले मुख्‍य पूजाहारी र मन्‍दिरका सिपाहीहरूकहाँ गएर ‘येशूलाई कसरी पक्राइदिन सक्‍छु’ भन्‍नेबारे सरसल्‍लाह गर्‍यो।

5 यो सुनेर तिनीहरू खुसी भएर त्‍यसलाई पैसा दिने भए।

6 यहूदा राजी भयो र मानिसहरूले थाहै नपाउने गरी येशूलाई सुटुक्‍क पक्राइदिने मौका खोज्‍न लाग्‍यो।


अन्‍तिम भोज
( मत्ती २६:१७-३० ; मर्कूस १४:१२-२६ ; यूहन्‍ना १३:२१-३० ; १ कोरिन्थी ११:२३-२५ )

7 अखमिरी रोटी खाने निस्तार चाडको समयमा भेडाको पाठोलाई बलि चढाउने दिन आइपुग्‍यो।

8 येशूले पत्रुस र यूहन्‍नालाई “गएर हाम्रो लागि निस्तार चाडको भोज ठीक गर,” भनी पठाउनुभयो।

9 तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ ठीक पारौं?”

10 उहाँले भन्‍नुभयो, “हेर, तिमीहरू सहरमा पस्‍नेबित्तिकै गाग्रीमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ र उसकै पछि-पछि जाओ।

11 जुन घरमा ऊ पस्‍छ, त्‍यही घरको मालिकलाई ‘म आफ्‍ना चेलाहरूसँग बसेर निस्तार चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्‍नुभएको छ, भनिदेओ।

12 उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको फराकिलो कोठा देखाइदिनेछन्। त्‍यहीँ नै भोज ठीकठाक पार।”

13 तिनीहरू गए अनि सबै कुरा येशूले भन्‍नुभएजस्‍तै पाए अनि तिनीहरूले निस्तार चाडको भोज त्‍यहीँ नै ठीकठाक पारे।

14 खाने बेला भएपछि येशू आफ्‍ना बाह्र चेलाहरूसँग खान बस्‍नुभयो।

15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दु:ख भोग्‍नुभन्दा अघि मैले तिमीहरूसँग निस्तार चाडको यो भोज खाने ठूलो इच्‍छा गरेको थिएँ।

16 अब म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यमा यस भोजको अर्थ पूरा नहुञ्‍जेल म फेरि यो भोज खानेछैनँ।”

17 त्‍यसपछि येशूले कचौरा लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर भन्‍नुभयो, “यो लेओ र तिमीहरू सबैले बाँडेर खाओ।

18 म तिमीहरूलाई भन्‍छु, अबदेखि परमेश्‍वरको राज्‍य नआउञ्‍जेल म फेरि अङ्‌गुरको रस पिउनेछैनँ।”

19 त्‍यसपछि येशूले रोटी लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर टुक्र्याउनुभयो र चेलाहरूलाई दिँदै भन्‍नुभयो, “तिमीहरूलाई दिएको यो मेरो शरीर हो। अबदेखि मेरो सम्‍झनाको निम्‍ति यसरी नै खाने गर।”

20 त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा बाँधेको नयाँ वाचा हो। यो रगत तिमीहरूको निम्‍ति बगाइएको छ।

21 “तर हेर, मलाई पक्राइदिने मानिस मसँगै खान बसेको छ।

22 परमेश्‍वरले पहिले नै ठहराउनुभएअनुसार मानव पुत्र त जानु नै पर्छ, तर धिक्‍कार, त्‍यस मानिसलाई! जसले मानव पुत्रलाई पक्राइदिनेछ।”

23 यो कुरा सुनेर चेलाहरूले ‘यस्‍तो काम गर्ने को होला?’ भनेर एकले अर्कालाई सोधासोध गरे।


को ठूलो भन्‍ने बारे चेलाहरूको तर्क
( मत्ती २०:२५-२८ ; १९:२८ ; मर्कूस १०:४२-४५ )

24 त्‍यसपछि चेलाहरूमा को ठूलो भन्‍ने हानाथाप हुन थाल्‍यो।

25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “संसारका राजाहरूले चाहिँ आफ्‍ना प्रजामाथि राज्‍य गर्छन् र अधिकार चलाउनेहरूले आफूलाई उपकारी भन्‍न लगाउँछन्।

26 तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमध्‍ये सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैभन्दा सानो हुनुपर्छ र अगुवा हुन चाहनेचाहिँ नोकरजस्‍तै हुनुपर्छ।

27 खान बस्‍ने मालिक र खान दिने नोकरमा कुनचाहिँ ठूलो हो? मालिक होइन र? तर हेर, म त तिमीहरूको बीचमा खाना दिने नोकरजस्‍तै भएको छु।

28 “मेरा सबै दु:खको बेलामा तिमीहरूले मलाई साथ दियौ।

29 मेरा पिताले मलाई शासन गर्ने अधिकार दिनुभयो र म पनि तिमीहरूलाई अधिकार दिनेछु।

30 मेरो राज्‍यमा तिमीहरू मसँगै बसेर खानेछौ अनि सिंहासनमा बसेर इस्राएलका बाह्र कुलको न्‍याय गर्नेछौ।”


येशूले पत्रुसलाई सम्‍झाउनुभएको
( मत्ती २६:३१-३५ ; मर्कूस १४:२७-३१ ; यूहन्‍ना १३:३६-३८ )

31 त्‍यसपछि येशूले भन्‍नुभयो, “सिमोन, ए सिमोन सुन, शैतानले तिमीहरू सबैलाई गहुँजस्‍तै गरी निफन्‍ने आज्ञा पाएको छ।

32 तर तिम्रो विश्‍वास नहराओस् भनेर मैले प्रार्थना गरेको छु। फेरि मकहाँ फर्केपछि तिमीले आफ्‍ना दाजुभाइहरूलाई पनि दरिलो पार्नुपर्छ।”

33 पत्रुसले भने, “प्रभु, म तपाईंसँगै झ्‍यालखानमा पर्न र मर्नसमेत तयार छु।”

34 तर येशूले भन्‍नुभयो, “पत्रुस साँच्‍चै म तिमीलाई भन्‍छु, तिमीले चिन्‍दै-चिन्‍दिनँ भनेर मलाई तीनपल्‍टसम्‍म इन्‍कार नगरेसम्‍म भोलि बिहान भाले बास्‍नेछैन।”


आइपर्ने परीक्षाको लागि तयारी

35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई झोला, जुत्ता र पैसाबिना पठाएँ, के तिमीहरूलाई कुनै कुराको खाँचो भयो?” तिनीहरूले भने, “अहँ, भएन।”

36 येशूले भन्‍नुभयो, “अबचाहिँ पैसा हुनेले पैसा बोकोस्, झोला हुनेले झोला बोकोस् अनि तरवार छैन भने आफ्‍नो ओढ्‍ने बेचेर भए पनि तरवार किनोस्!

37 किनभने म तिमीहरूलाई भन्‍छु, धर्मशास्‍त्रमा ‘उनी अपराधीहरूसँग गनिए’ भनी लेखिएको कुरा मेरो जीवनमा पूरा हुनु नै पर्छ। साँच्‍चै मेरो बारेमा लेखिएका कुरा पूरा भइरहेका पनि छन्।”

38 चेलाहरूले भने, “हेर्नुहोस् प्रभु, यहाँ दुई वटा तरवार छन्।” येशूले जवाफ दिनुभयो, “त्‍यति भए पुग्‍छ!”


जैतुन डाँडामा येशूको प्रार्थना
( मत्ती २६:३६-४६ ; मर्कूस १४:३२-४२ )

39 सधैँजस्‍तै येशू सहर छोडेर जैतुन डाँडामा जानुभयो र चेलाहरू पनि उहाँसँगै गए।

40 त्‍यस ठाउँमा पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “जाँचमा तिमीहरूले फस्‍नुनपरोस् भनेर प्रार्थना गर।”

41 त्‍यसपछि येशू अलिक पर गएर घुँडा टेकेर प्रार्थना गर्न लाग्‍नुभयो।

42 उहाँले भन्‍नुभयो, “हे पिता, तपाईंको इच्‍छा भए यो दु:खको कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्।”

43 अनि स्‍वर्गबाट एउटा स्‍वर्गदूत आएर उहाँलाई बल र सहने शक्ति दिए।

44 उहाँको हृदय ज्‍यादै कष्‍टले भरिएको थियो अनि उहाँले अझै धेरै प्रार्थना गर्नुभयो। उहाँको पसिना रगतको थोप्‍लाझैँ भूइँमा चुहुँदै थियो।

45 येशू प्रार्थनाबाट उठेर चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू आफ्‍नै शोकले थाकेर सुतिरहेका थिए।

46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन सुतिरहेका छौ? उठ र आइपर्ने जाँचको बेलामा पापमा फस्‍नु नपरोस् भनेर प्रार्थना गर!”


येशूको पक्राउ
( मत्ती २६:४७-५६ ; मर्कूस १४:४३-५० ; यूहन्‍ना १८:३-११ )

47 येशूले यो कुरा भन्दाभन्‍दै एक हुल मानिसहरू त्‍यहाँ आइपुगे। बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ ती मानिसहरूका अगुवा भई येशूलाई चुम्‍बन गर्न उहाँको नजिक आयो।

48 येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के चुम्‍बन गरेर तिमीले मानव पुत्रलाई धोखा दिन्‍छौ?”

49 आइपर्ने खतरा देखेर येशूसँग हुने चेलाहरूले भने, “प्रभु, तरवार पो चलाउनुपर्छ कि?”

50 एक जना चेलाले चाहिँ तरवार चलाइहाले र मुख्‍य पूजाहारीको नोकरको दाहिने कान नै काटिदिए।

51 तर येशूले, “भयो, छोडिदेओ!” भनेर त्‍यस मानिसको कान छोएर निको पारिदिनुभयो।

52 येशूलाई पक्रन आउनेहरूचाहिँ मुख्‍य सिपाहीहरू, मन्‍दिरका चौकीदार र अरू अगुवाहरू थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका?

53 म दिनहुँ मन्‍दिरमा तिमीहरूसँगै थिएँ। त्‍यस बेला त तिमीहरूले मलाई पक्रने आँट गरेनौ! तर अब त तिमीहरूको काम गर्ने बेला आयो र अन्‍धकारको शक्तिले राज्‍य गर्छ।”


पत्रुसले येशूलाई अस्‍वीकार गरेका
( मत्ती २६:५७-५८ , ६९-७५ ; मर्कूस १४:५३-५४ , ६६-७२ ; यूहन्‍ना १८:१२-१८ , २५-२७ )

54 ती मानिसहरूले येशूलाई पक्रेर प्रधान पूजाहारीको घरमा लगे। पत्रुसचाहिँ पर-परैबाट उहाँको पछि लागे।

55 मानिसहरू आँगनमा आगो बालेर ताप्‍दै थिए अनि पत्रुस आएर तिनीहरूसँगै बसे।

56 एउटी नोकर्नीले पत्रुसलाई आगो तापिरहेको देखेर नियालेर हेर्दै भनी, “यी मान्‍छे पनि त येशूसँगै थिए।”

57 तर पत्रुसले भने, “बहिनी, उनलाई म चिन्‍दिनँ!”

58 एक छिनपछि अर्को एक जनाले उनलाई देखेर भने, “तिमी पनि त तिनीहरूकै साथी हौ नि।” पत्रुसले भने, “हजुर, म त होइन!”

59 एक घण्‍टा जति बितेपछि अर्को एक जना मानिसले भन्‍यो, “यी मान्‍छे पनि पक्‍कै येशूसँग थिए, यिनी त गालीलकै रहेछन् नि।”

60 “हजुर, तपाईं के कुरा गर्दै हुनुहुन्‍छ, म त केही जान्‍दिनँ!” पत्रुसले यसो भन्दाभन्‍दै भाले बासिहाल्‍यो।

61 त्‍यत्तिकैमा प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो अनि ‘भोलि बिहान भाले बास्‍नुभन्दा अघि नै तिमीले मलाई तीनपल्‍टसम्‍म चिन्‍दैचिन्‍दिनँ भन्‍नेछौ’ भनी प्रभुले भन्‍नुभएको कुरा पत्रुसले सम्‍झे।

62 बाहिर गएर उनी धुरुधुरु रोए।


येशू महासभाको सामुन्‍ने
( मत्ती २६:५९-६८ ; मर्कूस १४:५५-६५ ; यूहन्‍ना १८:१९-२४ )

63 येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिल्‍ला गरे र पिटे

64 अनि उहाँका आँखा छोपिदिएर हिर्काउँदै सोधे, “लौ भन् त, तँलाई कसले हिर्कायो?”

65 यसरी तिनीहरूले उहाँको बेइज्‍जती गर्दै अनेक गाली गरे।

66 अगुवा, मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरू बिहानै जम्‍मा भए। तिनीहरूले येशूलाई महासभामा ल्‍याए र भने,

67 “तँ मुक्ति दिने राजा ख्रीष्‍ट होस् भने हामीलाई भनिहाल्।” येशूले जवाफ दिनुभयो, “मैले भनें पनि तपाईंहरूले विश्‍वास गर्नुहुन्‍न,

68 मैले केही सोधें भने पनि तपाईंहरूले जवाफ दिनुहुन्‍न।

69 तर अबदेखि उसो म मानव पुत्र सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बस्‍नेछु।”

70 तिनीहरू सबैले भने, “उसो भए के तँ परमेश्‍वरको पुत्र होस् त?” उहाँले जवाफ दिनुभयो, “तपाईंहरूले भन्‍नुभएजस्‍तै म उही हुँ।”

71 उहाँको कुरा सुनेर तिनीहरूले भने, “अब यसको विरुद्धमा हामीलाई अरू कुनै प्रमाण चाहिएन। यसकै मुखबाट हामीले सुनिहाल्‍यौं!”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy