लूकाको सुसमाचार 20 - सरल नेपाली पवित्र बाइबलयेशूको अधिकारको बारेमा प्रश्न ( मत्ती २१:२३-२७ ; मर्कूस ११:२७-३३ ) 1 एक दिन येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो र परमेश्वरले पठाउनुभएको सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। त्यति बेला मुख्य पूजाहारी र धर्म-गुरुहरू अरू अगुवाहरूसँगै मिलेर उहाँकहाँ आएर भने, 2 “हामीलाई भन्नुहोस्, तपाईंले कहाँबाट अधिकार पाएर यी कामहरू गर्नुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?” 3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु। भन त, 4 यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” 5 यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामी के भनौं? परमेश्वरबाट भनौं भने त ‘तिमीहरूले किन यूहन्नालाई विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्। 6 मानिसबाट भनौं भने यी जम्मा भएका मानिसहरूले हामीलाई ढुङ्गाले हानेर मार्नेछन् किनभने तिनीहरू यूहन्ना अगमवक्ता हुन् भनी विश्वास गर्छन्।” 7 यसकारण तिनीहरूले येशूलाई भने, “खै, उनले त्यो अधिकार कहाँबाट पाए हामीलाई थाहा छैन।” 8 तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।” अङ्गुरको खेत कमाउने मोहीहरू ( मत्ती २१:३३-४६ ; मर्कूस १२:१-१२ ) 9 त्यसपछि येशूले मानिसहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसले अङ्गुरको बारी लगाए र खेती कमाउन मोहीहरूलाई दिए। तिनी आफैंचाहिँ परदेश गएर धेरै दिनसम्म उतै बसे। 10 दाख पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए। तर ती मोहीहरूले त्यसलाई कुटेर केही पनि नदिई फर्काइदिए। 11 फेरि बारीका धनीले अर्को नोकर पठाए। मोहीहरूले उसलाई पनि कुटे र बेइज्जती गरेर केही पनि नदिई खेदे। 12 त्यसपछि तिनले तेस्रो नोकरलाई पठाए। त्यस नोकरलाई पनि मोहीहरूले घाइते बनाएर फालिदिए। 13 “यति भइसकेपछि दाखबारीका धनीले भने, ‘अब म के गरूँ? आफ्नै प्यारो छोरालाई पठाउँछु। मेरो छोरालाई त तिनीहरूले पक्कै आदर गर्नेछन्।’ 14 तर बारी धनीका छोरालाई परैबाट आएको देखेर ती मोहीहरूले यसरी सल्लाह गरे, ‘लौ, त्यो त बारी धनीकै छोरा हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति हाम्रै हुनेछ।’ 15 यसो भनेर तिनीहरूले उनलाई बारीबाट घोक्र्याउँदै बाहिर लगेर मारे।” येशूले सोध्नुभयो, “अब त्यस बारीका धनीले तिनीहरूलाई के गर्लान् त? 16 तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् र आफ्नो बारी अरूहरूलाई कमाउन दिनेछन्!” यो सुनेर मानिसहरूले भने, “त्यस्तो त कहिल्यै नहोस्!” 17 अनि येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “त्यसो भए धर्मशास्त्रमा लेखिएका यी कुराहरूको अर्थ के हुन् त?– डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा बन्न आयो। 18 त्यस ढुङ्गामाथि बजारिने सबै चकनाचुर हुनेछन् अनि कसैमाथि त्यो ढुङ्गा बजारियो भने ऊ धुलोपिठो हुनेछ।” कर बुझाउने बारेमा प्रश्न ( मत्ती २२:१५-२२ ; मर्कूस १२:१३-१७ ) 19 धर्म-गुरु र मुख्य पूजाहारीहरूले यी कुरा उनीहरूकै विरोधमा भनेको हो भन्ने बुझेर येशूलाई पक्रने विचार गरे, तर तिनीहरूलाई मानिसहरूको डर भयो। 20 त्यसो हुँदा तिनीहरूले उहाँलाई सुटुक्क पक्रने दाउ हेर्न थाले। तिनीहरूले उहाँलाई पक्रेर रोमी बडा-हाकिमको हातमा सुम्पन चाहन्थे। इमानदार भइटोपली ‘येशूसँग कुरा धुतेर फसाऊ’ भनी तिनीहरूले केही मानिसहरूलाई घुस दिएर पठाए। 21 ती सुराकी मानिसहरूले गएर येशूलाई सोधे, “हे गुरु, हामीलाई थाहा छ, तपाईंले भन्नुभएका कुरा र शिक्षा ठीक छन्। तपाईंले मानिसको मुख हेरेर कुरा गर्नुहुन्न, तपाईंले त परमेश्वरको सत्य बाटो नै देखाउनुहुन्छ। 22 तब भन्नुहोस्, के हाम्रो व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउनु ठीक छ कि छैन?” 23 तिनीहरूको चलाकी बुझेर येशूले भन्नुभयो, 24 “खै, सिक्का देखाओ त, त्यसमा कसको नाउँ र छाप छ?” तिनीहरूले भने, “यसमा त रोमी सम्राट्को नाउँ र छाप छ!” 25 तब येशूले भन्नुभयो, “त्यसो भए सम्राट्को जति सम्राट्लाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” 26 तिनीहरूले मानिसको सामुन्ने उहाँलाई कुनै कुरामा पनि फसाउन सकेनन् र उहाँको जवाफमा अचम्म मान्दै चुपचाप बसे। मरेकोबाट बिउँतने बारेमा प्रश्न ( मत्ती २२:२३-३३ ; मर्कूस १२:१८-२७ ) 27 केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) 28 तिनीहरूले येशूलाई सोधे, “हे गुरु, मोशाले हामीलाई लेखिदिएको व्यवस्थाअनुसार कसैको दाजु सन्तान नभई मर्यो भने दाजुका लागि सन्तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ। 29 अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो। तर ऊ छोरा-छोरी नभई मर्यो। 30 त्यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्यो, तर ऊ पनि सन्तान नभई मर्यो। 31 त्यसपछि साहिँलो भाइलाई पनि त्यस्तै भयो र त्यसरी नै सातै भाइले पालैसँग भाउजूलाई बिहे गरेर ल्याए, तर सबै जना बिनासन्तान मरे। 32 आखिरमा त्यो स्वास्नी मानिस पनि मरी। 33 मरेकोबाट बिउँतने समयमा त्यो कसकी स्वास्नी हुन्छे? उसलाई सातै भाइले बिहे गरेका थिए।” 34 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “यस संसारमा हुने मानिसहरूले विवाह गर्छन् अनि गराउँछन्। 35 तर मरेकोबाट बिउँतेर स्वर्ग जानको लागि योग्य ठहरिएका मानिसहरूमा चाहिँ बिहे गर्ने र गराउने कुरा नै हुनेछैन। 36 तिनीहरू फेरि मर्नेछैनन् तर स्वर्गदूतहरूजस्तै हुनेछन्। तिनीहरू मरेकोबाट बिउँतिएका परमेश्वरका सन्तान हुनेछन्। 37 मरेकाहरू बिउँतन्छन् भन्ने कुराको प्रमाण मोशाले राम्ररी दिएका थिए। बलिरहेको पोथ्राको बखानमा उनले प्रभु परमेश्वरलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर’ भनेर पुकारेका छन्। 38 उहाँ त मरेकाहरूको होइन, तर जिउँदाहरूको परमेश्वर हुनुहुन्छ! परमेश्वरको दृष्टिमा त सबै जिउँदा छन्।” 39 तब कुनै-कुनै धर्म-गुरुहरूले भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो।” 40 त्यसपछि ती मानिसहरूले उहाँलाई फेरि कुनै कुरा सोध्ने साहस नै गरेनन्। ख्रीष्ट कसको सन्तान ( मत्ती २२:४१-४६ ; मर्कूस १२:३५-३७ ) 41 येशूले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मुक्ति दिनुहुने राजा ख्रीष्टलाई कसरी दाऊदको सन्तान भन्न सक्छन्? 42-43 दाऊदले लेखेको भजनमा उनी आफैंले यसरी भनेका छन्– प्रभु परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रो शत्रुहरूलाई तिम्रै खुट्टाको पाउदान नबनाउञ्जेल तिमी मेरो दाहिनेपट्टि बस। 44 दाऊद आफैंले ख्रीष्टलाई प्रभु भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” धर्म-गुरुहरूको विरुद्धमा चेतावनी ( मत्ती २३:१-३६ ; मर्कूस १२:३८-४० ) 45 सबै मानिसहरूले सुनिरहेकै बेलामा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 “धर्म-गुरुहरूबाट होशियार भएर बस। तिनीहरू त देखावटी लुगा लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँ खोज्छन्। 47 तिनीहरूले विधवाको घरबार खोस्छन् र देखाउनको लागि लामा-लामा प्रार्थना गर्छन्। त्यस्ताहरूले ठूलो सजाय पाउनेछन्।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society