Online Bible

- Reklamy -

लूकाको सुसमाचार 17 - सरल नेपाली पवित्र बाइबल


पाप र माफ
( मत्ती १८:६-७ , २१-२२ ; मर्कूस ९:४२ )

1 येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै मानिसलाई पापमा फसाउने कुराहरू त आइपर्दछन्। तर धिक्‍कार, अरूलाई पापमा फसाउने मानिसलाई!

2 जसले यी सानाभन्दा सानाहरूलाई पापमा पार्छ, त्‍यसलाई त घिच्रोमा जाँतो झुण्‍ड्याइदिएर समुद्रमा फालिदिनु बेस हुनेछ।

3 यसकारण होश राख! “तिम्रो भाइले पाप गरेको छ भने उसलाई सम्‍झाऊ। उसले आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।

4 तिम्रो भाइले तिम्रो विरोधमा दिनमा सातपल्‍ट पाप गर्छ अनि उसले सातैपल्‍ट आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।”

5 बाह्र जना चेलाहरूले प्रभुलाई भने, “प्रभु, हाम्रो विश्‍वास बढाइदिनुहोस्।”

6 येशूले जवाफ दिनुभयो, “तिमीहरूसँग रायोको एउटा दाना जत्रै विश्‍वास छ भने यस किम्‍बुको बोटलाई ‘उखेलिएर तँ समुद्रमा रोपिन जा’ भन्‍यौ भने त्‍यसले मान्‍नेछ।


नोकरको कर्तव्‍य

7 “तिमीहरू कसैले आफ्‍नो नोकर खेतबाट काम गरेर वा भेडा चराएर घर फर्किंदा ‘छिटो आएर खान बस्’ भन्‍छौ र?

8 बरु यसो पो भनौला, ‘जा, गएर भान्‍सा ठीक पार अनि तयार भएपछि मलाई खान दे, त्‍यसपछि मात्र तँ खालास्।’

9 आज्ञा मानेकोमा त्‍यस नोकरलाई तिमीले धन्‍यवाद दिन्‍छौ र?

10 त्‍यसै गरी तिमीहरूले पनि आफूलाई अह्राएको सबै काम गरिसकेर भन, ‘हामी त नोकर मात्र हौं, आफूले गर्नुपर्ने काम गरेका छौं’।”


दश कुष्ठरोगीहरू

11 येशू यरूशलेम जानुहुँदा सामरिया र गालील क्षेत्रको सिमानै-सिमाना भएर जानुभयो।

12 एउटा गाउँमा पस्‍न लाग्‍नुहुँदा दश जना कुष्ठरोगीहरूसँग उहाँको भेट भयो। अलिक परैबाट उभिएर

13 तिनीहरूले कराएर भने, “हे प्रभु येशू, हामीमाथि दया गर्नुहोस्!”

14 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पूजाहारीकहाँ गएर आफैंलाई जाँच गराओ।” तिनीहरू जाँदाजाँदै बाटैमा निको भइहाले।

15 एक जनाचाहिँ आफू निको भएको थाहा पाएर ठूलो सोरले परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो

16 अनि येशूको पाउमा परेर धन्‍यवाद चढायो। त्‍यो फर्केर आउनेचाहिँ सामरी थियो।

17 अनि येशूले भन्‍नुभयो, “दशै जना निको भएका होइनन् र? अरू नौ जनाचाहिँ कहाँ छन्?

18 यिनी सामरीबाहेक अरूचाहिँ परमेश्‍वरलाई धन्‍यवाद चढाउन किन आएनन्?”

19 त्‍यसपछि येशूले त्‍यो सामरीलाई भन्‍नुभयो, “अब जाऊ, तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”


परमेश्‍वरको राज्‍य
( मत्ती २४:२३-२८ , ३७-४१ )

20 परमेश्‍वरको राज्‍य कहिले आउँछ भनेर फरिसीहरूले येशूलाई सोधे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य त देखिने गरेर आउँदैन।

21 कसैले पनि ‘हेर, परमेश्‍वरको राज्‍य यहाँ छ वा त्‍यहाँ छ’ भन्‍न सक्‍दैन किनभने परमेश्‍वरको राज्‍य त तिमीहरू भित्रै छ।”

22 त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “त्‍यस्‍तो समय पनि आउनेछ, जब तिमीहरूले ‘मानव पुत्रको एकै दिन पनि देख्‍न पाए हुनेथियो’ भनेर भन्‍नेछौ, तर देख्‍न पाउनेछैनौ।

23 मानिसहरूले ‘यहाँ हेर’ वा ‘त्‍यहाँ हेर’ भन्‍नेछन्, तर त्‍यस बेला तिमीहरू तिनीहरूको पछि नलाग

24 किनभने म मानव पुत्र आउने दिनमा आकाशको वारपार बिजुली चम्‍किएजस्‍तै गरी म देखापर्नेछु।

25 तर यस्‍तो हुनुभन्दा अघि मैले धेरै दु:ख भोग्‍नुपर्नेछ अनि यस जातिका मानिसहरूले मलाई इन्‍कार गर्नेछन्।

26 नोआको पालामा भएजस्‍तै म मानव पुत्रको समयमा पनि हुनेछ।

27 नोआ जहाजमा पसुञ्‍जेल पनि मानिसहरू भोज-भतेर खान र बिहेबारी गर्नमा व्‍यस्‍त थिए। त्‍यतिकैमा बाढी आएर सबैलाई नष्‍ट पार्‍यो।

28 लोतको समयमा पनि त्‍यस्‍तै भएको थियो। मानिसहरू खाने-पिउने, किनबेच गर्ने, बाली लाउने र घर बनाउने काममा लागिरहेका थिए।

29 लोतले सदोम छोडेको दिन नै स्‍वर्गबाट आगो र गन्‍धक बर्सेर सबै मरे।

30 म मानव पुत्र फेरि देखा पर्ने बेलामा पनि त्‍यस्‍तै हुनेछ।

31 “त्‍यस बेला छतमा हुनेहरू चीजबीज लिन भित्र जाँदै नजाऊन्, त्‍यस्‍तै खेतमा हुनेहरू घर नफर्कून्।

32 लोतकी जहानलाई भएको कुरा सम्‍झ।

33 आफ्‍नो जीवन जोगाउन खोज्‍नेले जीवन गुमाउनेछ। तर आफ्‍नो जीवन गुमाउनेले चाहिँ जीवन पाउनेछ।

34 म तिमीहरूलाई भन्‍छु, त्‍यस रात एउटै ओछ्यानमा सुतेका दुई जना मानिसमध्‍ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ।

35 फेरि सँगसँगै जाँतो पिंधिरहेका दुई जना स्‍त्रीमध्‍ये एउटी लगिनेछ र अर्कीचाहिँ छोडिनेछ।

36 त्‍यस्‍तै खेतमा हुने दुई जना मानिसमध्‍ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ।”

37 चेलाहरूले येशूलाई सोधे, “कहाँ प्रभु?” येशूले जवाफ दिनुभयो, “जहाँ सिनु छ, त्‍यहाँ नै गिद्धहरू थुप्रिन्‍छन्।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy