Online Bible

- Reklamy -

लूकाको सुसमाचार 12 - सरल नेपाली पवित्र बाइबल


कपटको विरुद्धमा चेतावनी
( मत्ती १०:२६-२७ )

1 हजारौँ मानिसहरू जम्‍मा भएकोले घुइँचो भएर मिचामिच नै होलाजस्‍तो लागिरहेको थियो। त्‍यस बेला येशूले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू फरिसीहरूको रोटीको खमिरदेखि जोगिएर बस! भनाइको अर्थ हो, तिनीहरूको कपटदेखि जोगिएर बस

2 किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबै थाहा लाग्‍नेछ।

3 तिमीहरूले अँध्‍यारोमा भनेका कुराहरू दिनको उज्‍यालोमा सुनिनेछन्। कोठाभित्र कानेखुसी गरेका कुरा घरको धुरीबाट जोडले प्रचार गरिनेछन्।”


कोसित डराउनुपर्छ भन्‍ने बारेमा
( मत्ती १०:२८-३३ ; १२:३२ )

4 येशूले फेरि भन्‍नुभयो, “हे मेरा मित्र हो, म तिमीहरूलाई भन्‍छु, मानिसदेखि नडराओ। तिनीहरूले त खालि तिम्रो शरीरलाई मात्रै मार्न सक्‍छन्, तिमीहरूको आत्‍मालाई त तिनीहरूले केही बिगार गर्न सक्‍दैनन्।

5 कोदेखि डराउनुपर्ने हो भनी म तिमीहरूलाई भन्‍छु, मरेपछि नरकको दण्‍ड दिन सक्‍नुहुने परमेश्‍वरदेखि नै डराउनुपर्छ। हो, उहाँसँग डराओ!

6 तर हेर, पाँच वटा भङ्गेरा दुई पैसामा बेचिन्‍छन्, होइन र? भङ्गेरा यति सस्‍ता भए पनि परमेश्‍वरले एउटैलाई पनि भुल्‍नुहुन्‍न।

7 झन् तिमीहरूको त परमेश्‍वरले एक-एक केशसमेत गन्‍नुभएको छ। त्‍यसैले नडराओ, धेरै भङ्गेराहरूभन्दा त तिमीहरू अझ मूल्‍यवान् छौ।

8 “म तिमीहरूलाई भन्‍छु, जसले मलाई मानिसको सामुन्‍ने मेरो प्रभु भनेर स्‍वीकार गर्छ, त्‍यसलाई म मानव पुत्रले पनि स्‍वर्गदूतको सामुन्‍ने आफ्‍नो हो भनी स्‍वीकार गर्नेछु।

9 तर जसले मलाई मानिसको सामुन्‍ने चिन्‍दिनँ भन्‍छ, त्‍यसलाई म पनि परमेश्‍वरको स्‍वर्गदूतहरूको सामुन्‍ने चिन्‍दिनँ भन्‍नेछु।

10 म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्‍मालाई निन्‍दा गर्ने पापचाहिँ कहिल्‍यै पनि माफ गरिनेछैन।

11 “मानिसहरूले तिमीहरूलाई पक्रेर सभाघरका नेताहरू र सरकारी हाकिम या न्‍यायाधीशहरूकहाँ लैजानेछन्। त्‍यस बेला के भन्‍ने हो भनी फिक्री नगर।

12 पवित्र आत्‍माले तिमीहरूलाई त्‍यस बेला नै भन्‍नुपर्ने कुरा सिकाउनुहुनेछ।”


मूर्ख धनी मानिसको दृष्‍टान्‍त

13 घुइँचोबाटै एक जना मानिसले येशूलाई भने, “गुरुज्‍यू, ‘भाइको अंशबन्डा गरिदेओ’ भनेर मेरो दाजुलाई भनिदिनुहोस् न।”

14 तर येशूले तिनलाई भन्‍नुभयो, “तिमी दुईको अंशबन्डा गर्न मलाई कसले खटायो।”

15 अनि उहाँले त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई भन्‍नुभयो, “होश गर! सबै किसिमका लोभ-लालचबाट जोगिएर बस किनभने धन-सम्‍पत्ति जति नै प्रशस्‍त भए पनि त्‍यसले मानिसलाई साँचो जीवनचाहिँ दिँदैन।”

16 त्‍यसपछि येशूले एउटा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो।

17 तिनले मनमनै विचार गरे, ‘यी सबै अन्‍न कहाँ राख्‍ने होला? ठाउँ नै छैन। के गरूँ?

18 अब म यसो गर्छु, ससाना भण्‍डार र भकारीहरू भत्‍काएर ठूला-ठूला बनाउँछु र त्‍यहीँ नै सबै अन्‍न र चीजबीज राख्‍छु।

19 त्‍यसपछि म आफैंलाई भन्‍नेछु, तँ कति भाग्‍यमानी छस्! तँसँग वषौं-वर्षसम्‍म पुग्‍ने सम्‍पत्ति छ, सुखसँग खा, पी र मोज-मज्‍जा गर्‌’।

20 तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, आजै राती तेरो प्राण जानेछ र तैँले साँचेर राखेको धन-सम्‍पत्ति कसले खाला’?”

21 अनि येशूले यो दृष्‍टान्‍त टुङ्ग्‍याउँदै भन्‍नुभयो, “आफ्‍नो लागि धन थुपारेर राख्‍ने मानिसको गति यस्‍तै हुन्‍छ। परमेश्‍वरले यस्‍ताहरूलाई धनी सम्‍झनुहुन्‍न।”


चिन्‍ता गर्नुहुँदैन
( मत्ती ६:२५-३४ )

22 त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्‍ता नगर।

23 खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो।

24 कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तिनीहरूका भण्‍डार, भकारी पनि हुँदैन, तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्‍छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्‍यवान् छौ।

25 तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्‍नो आयु थोरै समय बढाउन सक्‍छौ र?

26 यति सानो काम पनि गर्न सक्‍दैनौ भने त अरू कुराको चिन्‍ता किन गर्छौ?

27 जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजासित त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्‍तो सजिसजाउ भएका थिएनन्।

28 आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्‍वरले यसरी सिँगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै तिमीहरूको विश्‍वास?

29 यसैकारण के खाऔं, के लाऔं भनेर चिन्‍ता नगर।

30 परमेश्‍वरलाई नचिन्‍नेहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर परमेश्‍वर पितालाई थाहा छ।

31 पहिले परमेश्‍वरको राज्‍यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।”


स्‍वर्गमा जम्‍मा हुने धन
( मत्ती ६:१९-२१ )

32 येशूले फेरि भन्‍नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो राज्‍य दिन खुसी हुनुभएको छ।

33 तिमीहरूले आफ्‍नो सम्‍पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्‍नो लागि सधैँ रहने भण्‍डार बनाओ र कहिल्‍यै नसकिने धन स्‍वर्गमा जम्‍मा गर। त्‍यहाँ त चोर पनि लाग्‍दैन, किराले पनि खाँदैन

34 किनकि जहाँ तिमीहरूको धन छ, त्‍यहीँ नै तिमीहरूको मन पनि रहनेछ।”


चनाखो भएर बस्‍नुपर्छ

35 त्‍यसपछि येशूले भन्‍नुभयो, “आफ्‍नो कम्‍मर कसेर तयार भई बस र बत्तीहरू बालिराख।

36 तिमीहरू विवाहको भोजबाट फर्कने मालिकको बाटो हेरिरहने नोकरहरूजस्‍ता होओ। मालिक आएर ढोका ढकढक्‍याउँने बित्तिकै उनीहरूले ढोका खोलिदिन्‍छन्।

37 मालिक आउँदा जागै बसिरहेका ती नोकरहरूले स्‍याबासी पाउनेछन् र तिनीहरू खुसी हुनेछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, त्‍यस मालिकले पाहुनालाई जस्‍तै मेजमान गर्न तयार हुनेछन् र ती नोकरहरूलाई आरामसँग बसाएर खुवाउनेछन्।

38 तर यदि मालिक ढीलो गरेर आधारातमा या बिहानतिर आउँदा पनि आफ्‍ना नोकरहरूलाई जागै बसिरहेका देखे भने तिनले झन् धेरै स्‍याबासी दिनेछन् र तिनीहरू झन् खुसी हुनेछन्।

39 “तर यो सम्‍झिराख, यदि चोर आउने समय थाहा पाएको भए त घर धनीले चोरलाई घरमा पस्‍नै दिने थिएनन्।

40 त्‍यस्‍तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।”


इमानदार र बेइमान नोकरको दृष्‍टान्‍त
( मत्ती २४:४५-५१ )

41 अनि पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईंले यो कुरा हामीलाई मात्र भन्‍नुभएको हो कि अरूलाई पनि हो?”

42 प्रभुले भन्‍नुभयो, “बुद्धिमान् र भरपर्दो भण्‍डारेचाहिँ कस्‍तो मानिस होला त? मालिकले आफ्‍नो घरको सबै कामकाजको जिम्‍मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्‍डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खानाको व्‍यवस्‍था गरिदिन्‍छ।

43 मालिक फर्केर आउँदा त्‍यो भण्‍डारेलाई त्‍यस्‍तै काम गरिरहेको भेट्टाउँदा ऊ कति धन्‍य हुनेछ।

44 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मालिकले त्‍यस भण्‍डारेलाई आफ्‍नो सबै धन-सम्‍पत्तिको जिम्‍मा लगाउँनेछन्।

45 तर यदि भण्‍डारेले ‘मेरो मालिक ढीलो गरी फर्कनेछन्’ भन्‍ने ठानेर जथाभाबी खाएर माती अरू नोकर चाकरलाई पिट्‍न थाल्‍यो भने

46 त्‍यसको मालिकचाहिँ त्‍यसले नचिताएको दिन र घडीमा आइपुग्‍नेछन् अनि त्‍यसलाई ठूलो दण्‍ड दिनेछन् र त्‍यसको गति परमेश्‍वरलाई नमान्‍नेहरूको जस्‍तै हुनेछ।

47 “मालिकको इच्‍छा जानेर पनि गर्नुपर्ने काम नगर्ने नोकरलाई चाहिँ मालिकले ठूलो सजायँ दिनेछन्।

48 तर मालिकको इच्‍छा थाहा नभई सजाय पाउनुपर्ने काम गर्ने नोकरलाई चाहिँ उनले कम सजाय दिनेछन्। जसलाई धेरै दिइएको छ, त्‍यसले धेरै दिनुपर्छ। त्‍यसै गरी जसलाई धेरै सुम्‍पिएको छ, उसले त्‍यति नै धेरै बुझाउनुपर्छ।”


पारिवारिक विरोध
( मत्ती १०:३४-३६ )

49 येशूले भन्‍नुभयो, “म पृथ्‍वीमा आगो लगाउन आएको हुँ र अघि नै आगो सल्‍किसकेको भए त राम्रै हुन्‍थ्‍यो!

50 मैले एउटा कष्‍टको बप्‍तिस्‍मा लिनुपर्छ र त्‍यो बप्‍तिस्‍मा नलिएसम्‍म मलाई शान्‍ति नै हुँदैन।

51 के तिमीहरू म पृथ्‍वीमा मेलमिलाप गराउन आएको हुँ भन्‍ने सम्‍झन्‍छौ? होइन, म त फाटो पो गराउन आएको हुँ।

52 अबदेखि पाँच जनाको परिवारमा फुट हुनेछ। तीन जना दुई जनाको विरोधमा र दुई जना तीन जनाको विरोधमा उठ्‍नेछन्।

53 बुबाले छोराको र छोराले बुबाको, आमाले छोरीको र छोरीले आमाको, त्‍यस्‍तै सासूले बुहारीको अनि बुहारीले सासूको विरोध गर्नेछन्।”


समयको चिन्‍ह
( मत्ती १६:२-३ ; ५:२५-२६ )

54 येशूले घुइँचो लागेका मानिसहरूलाई भन्‍नुभयो, “पश्‍चिममा बादल उठेको देख्‍नेबित्तिकै तिमीहरू ‘अब पानी पर्छ’ भन्‍छौ र पर्छ।

55 दक्षिणबाट हावा चल्‍दा तिमीहरू गर्मी हुन्‍छ भन्‍छौ र त्‍यस्‍तै हुन्‍छ।

56 ए कपटीहरू हो! पृथ्‍वी र आकाशलाई हेरेर पानी पर्छ कि पर्दैन भनेर बुझ्‍न त सक्‍छौ, तर यस समयमा हुन आउने घटनाको चिन्‍हचाहिँ तिमीहरू किन बुझ्‍दैनौ?

57 अहिले के गर्नुपर्ने हो भनी तिमीहरूले किन बुझ्‍दैनौ?

58 “कसैले तिमीमाथि मुद्दा चलाएर न्‍यायाधीशकहाँ लग्‍यो भने बाटैमा झगडियासँग मिल्‍ने कोसिस गर। नत्र उसले तिमीलाई न्‍यायाधीशको अगाडि उभ्‍याउनेछ अनि उनले सिपाहीको जिम्‍मा लाउनेछन् र सिपाहीले लगेर तिमीलाई झ्‍यालखानमा हाल्‍नेछ।

59 म तिमीलाई भन्‍छु, जरिमानाको एक-एक पैसा नतिरेसम्‍म तिमी त्‍यहाँबाट उम्‍कन पाउनेछैनौ!”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy