Online Bible

- Reklamy -

लूकाको सुसमाचार 10 - सरल नेपाली पवित्र बाइबल


येशूले बहत्तर जना चेलालाई पठाउनुभएको

1 त्‍यसपछि प्रभु येशूले अरू बहत्तर जना मानिसहरूलाई छान्‍नुभयो। तिनीहरूलाई दुई-दुई गरी आफू जान लाग्‍नुभएका गाउँ र सहरतिर आफूभन्दा अगाडि पठाउँदै भन्‍नुभयो,

2 “उठाउनुपर्ने फसल त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। फसलका मालिकसँग फसल उठाउने खेतालाहरू पठाइदिनुहोस् भनी बिन्‍ती गर।

3 अब तिमीहरू जाओ। हेर, भेडाहरूलाई ब्‍वाँसाहरूको बीचमा पठाएजस्‍तै गरी म तिमीहरूलाई मानिसहरूको बीचमा पठाउँदै छु।

4 तिमीहरूले पैसा, झोला, जुत्ता, केही नबोक। बाटोमा कसैलाई अभिवादनसम्‍म नगर।

5 “तिमीहरू मानिसको घरमा गएपछि पहिले ‘यस घरमा शान्‍तिले बास गरोस्’ भनेर आशिष् देओ।

6 त्‍यस घरका मानिसले शान्‍ति रुचाउने रहेछन् भने तिनीहरूले शान्‍ति पाउनेछन्। तर तिनीहरूले शान्‍ति रुचाउँदैनन् भने आशिष् तिमीहरूकहाँ नै फर्केर आउनेछ।

7 तिमीहरू त्‍यही घरमा बस अनि तिनीहरूले जे खान दिन्‍छन्, त्‍यो खाओ किनभने खेतालाले ज्‍याला पाउनु नै पर्छ। घर-घर बास बस्‍दै हिँड्‍ने नगर।

8 “त्‍यसै गरी सहरहरूमा जाँदा पनि त्‍यहाँका मानिसहरूले स्‍वागत गरेर खान दिएको कुरा खाओ।

9 सहरमा भएका बिरामीहरूलाई निको पार, अनि ‘अब परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ’ भनेर प्रचार गर।

10 तर कुनै सहरमा जाँदा त्‍यहाँका मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् भने सडकहरूमा निस्‍केर

11 ‘हामीले तिमीहरूका सहरको धुलोसमेत तिमीहरूको विरुद्धमा हाम्रो खुट्टाबाट पुछ्तै छौं। तर तिमीहरूलाई थाहा होस्, परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ’ भनेर ती मानिसहरूलाई सुनाओ।

12 म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा त्‍यस सहरका मानिसहरूको हालतभन्दा त बरु पापले भरिएको सदोम सहरका मानिसहरूको हालत सहन सकिने हुन्‍छ।


विश्‍वास नगर्ने सहरवासीहरूको दशा
( मत्ती ११:२०-२७ ; १३:१६-१७ )

13 “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्‍कार तिमीहरूलाई! तिमीहरूको बीचमा गरिएका अचम्‍मका कामहरू टुरोस र सीदोन सहरमा गरिएको भए त्‍यहाँका मानिसहरूले धेरै अघि नै आ-आफ्‍ना पापलाई मानेर छोड्‍नेथिए अनि पाप मानिलिएको देखाउन बोराको लुगा लगाएर खरानी घस्‍नेथिए।

14 न्‍यायको दिनमा तिमीहरूको हालतभन्दा टुरोस र सीदोनका मानिसहरूको हालत सहन सकिने हुन्‍छ।

15 हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्‍वर्ग पुगौंला भन्‍छौ? तिमीहरू त नरकमै पुग्‍नेछौ।”

16 येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूका कुरा सुन्‍नेले मेरै कुरा सुन्‍छन्। तिमीहरूलाई नमान्‍नेले मलाई नै मान्‍दैनन् अनि मलाई नमान्‍नेले मलाई पठाउनुहुने परमेश्‍वरलाई नै मान्‍दैनन्।”


बहत्तर चेलाहरू फर्केर आएका

17 येशूले पठाउनुभएका ती बहत्तर जना मानिसहरू फर्केर आए अनि खुसी हुँदै प्रभुलाई भने, “प्रभु, तपाईंको नाउँको शक्तिले भूतहरू पनि हाम्रा वशमा आए।”

18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई बिजुलीजस्‍तै आकाशबाट बसिरहेको देखें।

19 सुन, मैले तिमीहरूलाई सर्प र बिच्‍छीलाई कुल्‍चेर हिँड्‍ने शक्ति अनि शत्रुको सबै शक्तिलाई जित्‍ने अधिकार दिएको छु। कुनै कुराले तिमीहरूलाई नोक्‍सान गर्नेछैन।

20 तापनि भूतहरू तिमीहरूको अधीनमा भएका छन् भनेर नरमाओ। बरु आफ्‍नो नाउँ स्‍वर्गमा लेखिएको छ भनेर रमाओ।”

21 त्‍यति नै बेला पवित्र आत्‍माद्वारा आनन्‍दले भरिएर येशूले भन्‍नुभयो, “हे परमेश्‍वर पिता, स्‍वर्ग र पृथ्‍वीका मालिक, म तपाईंलाई धन्‍यवाद दिन्‍छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्‍नुभएका कुरा तपाईंले केही नजान्‍नेहरूलाई बुझाइदिनुभयो! हे पिता, यसै गर्ने तपाईंको इच्‍छा थियो!

22 “मेरा पिताले मलाई सबै कुरा जिम्‍मा दिनुभएको छ। पिताले बाहेक म पुत्रलाई कसैले चिन्‍दैन। त्‍यस्‍तै पुत्र र उसले चिनाएका मानिसहरूले बाहेक अरू कसैले पितालाई चिन्‍दैनन्।”

23 त्‍यसपछि येशू चेलाहरूतिर फर्केर तिनीहरूलाई सुटुक्‍क भन्‍नुभयो, “यी सबै कुरा देख्‍न पाउने तिमीहरू कति धन्‍य हौ!

24 म तिमीहरूलाई भन्‍छु, धेरै अगमवक्ता र राजाहरूले तिमीहरूले देखेका यी कुराहरू देख्‍ने र सुन्‍ने ठूलो इच्‍छा गरेका थिए, तर देख्‍न र सुन्‍न पनि पाएनन्।”


साँचो छिमेकी
( मत्ती २२:३४-४० ; मर्कूस १२:२८-३१ )

25 एक जना धर्म-गुरुले आएर येशूलाई फसाउने युक्ति गर्दै भने, “हे गुरु, अजम्‍मरी जीवन पाउन मैले के गर्नुपर्छ?”

26 येशूले तिनलाई जवाफ दिनुभयो, “यसको बारेमा व्यवस्थाले के भन्‍छ? त्‍यसमा तिमीले के पढेका छौ?”

27 उनले भने, “तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।”

28 येशूले भन्‍नुभयो, “तिमीले ठीक भन्‍यौ। त्‍यसै गर अनि तिमी बाँच्‍नेछौ।”

29 तर ती धर्म-गुरुले आफैंलाई ठीक देखाउनलाई भने, “त्‍यसो भए मेरो छिमेकीचाहिँ को हो त?”

30 येशूले उनलाई जवाफ दिनुभयो, “कुनै एक जना मानिस यरूशलेमबाट यरीहो सहरतिर ओर्लंदै थियो। बाटोमा त्‍यसलाई डाकुहरूले समातेर नाङ्गो पारेर पिटे र अधमरो बनाएर छाडिदिए।

31 केही बेरपछि एक जना पूजाहारी त्‍यतैबाट भएर उँधो झरे। तर त्‍यस घाइते मान्‍छेलाई देखेर उनी पर-परैबाट गए।

32 त्‍यसै गरी लेवी कुलका एक जना पूजाहारी पनि त्‍यतैबाट आए। उनी पनि घाइते मान्‍छेलाई देखेर परैबाट तर्केर गए।

33 एक जना सामरी पनि त्‍यतैबाट आए। त्‍यस घाइते मान्‍छेलाई देख्‍दा उनको हृदय दयाले भरिएर आयो

34 र उनी त्‍यसकहाँ गए। उनले त्‍यसको घाउमा जैतुनको तेल र अङ्‌गुरको मद्य लगाइदिए अनि पट्टी बाँधिदिए। त्‍यसपछि उनले घाइते मान्‍छेलाई आफ्‍नो गधामा चढाएर एउटा सानो पाटीमा पुर्‍याए अनि रातभरि आफैंले त्‍यसको स्‍याहार-सुसार गरे।

35 भोलिपल्‍ट जाने बेलामा उनले पाटीको मालिकलाई चाँदीका दुई सिक्‍का दिँदै भने, ‘यिनको राम्ररी हेरचाहा गरिदिनोस्। यिनका लागि अरू बढी खर्च लाग्‍यो भने म फर्केर आउँदा तपाईंलाई दिनेछु’।”

36 यो दृष्‍टान्‍तको कथा भन्‍नुभएपछि येशूले धर्म-गुरुलाई सोध्‍नुभयो, “यी तीन जनामध्‍ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्‍तै व्‍यवहार गर्‍यो होला?”

37 तिनले भने, “दया गर्ने मानिसले!” येशूले भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यस्‍तै गर।”


मार्था र मरियमसित येशूको भेट

38 येशू र उहाँका चेलाहरू जाँदै गर्नुहुँदा एउटा गाउँमा पुग्‍नुभयो। त्‍यहाँ मार्था नाम भएकी स्‍त्रीले उहाँहरूलाई आफ्‍नो घरमा स्‍वागत सत्‍कार गरिन्।

39 तिनकी मरियम नाम गरेकी एउटी बहिनी थिइन्। उनी प्रभु येशूको पाउनेर बसेर उहाँको शिक्षा सुन्‍न लागिन्।

40 मार्थाचाहिँ सेवा-सत्‍कार गर्ने काममा अल्‍झिरहिन्। आफूले मात्र धेरै काम गर्नुपरेकोले उनले येशूकहाँ आएर भनिन्, “हे प्रभु, भएभरको सबै काम मैले नै गर्नुपर्छ। बहिनीचाहिँ केही पनि गर्दिन। के तपाईं देख्‍नुहुन्‍न? त्‍यसलाई आएर मलाई काम गर्न सघाउन भनिदिनुहोस्।”

41 प्रभु येशूले तिनलाई भन्‍नुभयो, “ए मार्था, तिमी धेरै कुराको चिन्‍ता र फिक्री गर्‍छ्यौ।

42 तर चाहिने कुरो एउटै छ, त्‍यही नै मरियमले रोजेकी छिन्। यो उनीबाट खोसिनेछैन।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy