Online Bible

- Reklamy -

लेवीहरू 9 - सरल नेपाली पवित्र बाइबल


हारूनले बलि चढाउँछन्

1 अभिषेक विधि पूरा भएको भोलिपल्‍ट मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका अगुवाहरूलाई बोलाए।

2 तिनले हारूनलाई भने, “एक-एक वटा निष्‍खोट साँढे र साँढ-भेडालाई ल्‍याऊ र साँढेलाई पापबलि र साँढ-भेडालाई होमबलि गरी परमप्रभुलाई चढाऊ।

3-4 तब पापबलिको लागि एउटा बोको, होमबलिको लागि एक-एक वटा निष्‍खोट एकवर्षे बाछो र साँढ-भेडाको पाठो र मेलबलिको लागि एक-एक वटा साँढे र भेडा लिनू भनी इस्राएलका मानिसहरूलाई भन। ती तिनीहरूले परमप्रभुलाई तेल मिसाएको अन्‍नबलिसित बलि चढाउनुपर्नेछ। तिनीहरूले यो गर्नैपर्छ किनभने आज परमप्रभुले इस्राएलीहरूलाई दर्शन दिनुहुनेछ।”

5 तिनीहरूले सबै थोक मोशाले भनेअनुसार पवित्र पालको सामुन्‍ने ल्‍याए र सारा इस्राएली समूह परमप्रभुलाई पुज्‍न त्‍यहाँ भेला भए।

6 मोशाले भने, “यी सबै गर्न परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको छ र उहाँको महिमाको ज्‍योति तिनीहरूकहाँ देखापर्नेछ।”

7 तब तिनले हारूनलाई भने, “वेदीको छेउमा जाऊ र पापबलि र होमबलि चढाऊ र तिम्रा र मानिसहरूका पाप काटिऊन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मानिसहरूका पाप काट्‍नको लागि यो बलि चढाऊ।”

8 हारून वेदीछेउ गए र एउटा साँढे आफ्‍नो लागि पापबलि चढाए।

9 तिनका छोराहरूले रगत ल्‍याए र तिनले आफ्‍ना औँला चोपेर केही रगत वेदीका कुनाका चोसाहरूमा लगाइदिए र बाँकी रगत वेदीको फेदहरूमा खन्‍याईदिए।

10 तब वेदीमाथि बोसो, मृगौला र कलेजोको उत्तम भाग परमप्रभुले आज्ञा गर्नुभएअनुसार जलाए।

11 तर उनले मासु र छाला छाउनीबाहिर जलाए।

12 आफ्‍नो होमबलिको पशु पनि तिनले मारे। तिनका छोराहरूले रगत ल्‍याए र तिनले रगत वेदीको चारैपट्टि छर्के।

13 तिनीहरूले तिनलाई पशुको टाउको र अरू टुक्राहरू दिए र तिनले ती वेदीमाथि जलाए।

14 त्‍यसपछि तिनले भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू धोएर वेदीमा होमबलिमाथि राखेर जलाए।

15 त्‍यसपछि तिनले मानिसहरूका भेटीहरू चढाए। तिनले मानिसहरूका पापको लागि चढाइनुपर्ने बाख्रा लिएर काटे र आफ्‍नै पापबलि चढाएझैँ त्‍यो चढाए।

16 तिनले होमबलिको पशु लिए र त्‍यसलाई पनि विधिअनुसार चढाए।

17 तिनले अन्‍नबलि चढाए र एक मुट्ठी पिठो लिएर वेदीमा जलाए। (यो दैनिक होमबलिबाहेक अरू थपिएको बलि थियो।)

18 तिनले मानिसहरूका लागि मेलबलि चढाए, साँढे र साँढ-भेडालाई मारे। तिनका छोराहरूले बलिको रगत ल्‍याए र तिनले त्‍यो वेदीको चारैपट्टि छर्के।

19 हारूनले साँढे र साँढ-भेडाको बोसेपुच्‍छर, आन्‍द्रा र मृगौला ढाक्‍ने बोसो र कलेजोको उत्तम भाग

20 पशुका ह्याकुलामाथि राखे र वेदीमा लगे। तिनले बोसो वेदीमा जलाए

21 र ह्याकुला र पछिल्‍ला दाहिने साँप्राहरू पूजाहारीहरूको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा मोशाको आज्ञाअनुसार चढाए।

22 हारूनले सबै बलिहरू चढाइसकेपछि आफ्‍ना हात उचालेर मानिसहरूलाई आशिष् दिए। त्‍यसपछि तिनी ओर्ले।

23 मोशा र हारून परमप्रभुको पवित्र पालभित्र पसे र बाहिर निस्‍केर तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए अनि परमप्रभुको महिमापूर्ण ज्‍योति सबै मानिसहरूले देखे।

24 अचानक परमप्रभुले आगोको मुस्‍लो पठाउनुभयो र त्‍यसले होमबलि र वेदीमा भएका सबै बोसो भस्‍म पार्‍यो। त्‍यो देखेर मानिसहरूले सोर उचाले र भूइँसम्‍म शिर झुकाएर ढोगे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy