Online Bible

- Reklamy -

लेवीहरू 26 - सरल नेपाली पवित्र बाइबल


आज्ञा मान्‍नाले आशिष्‌हरू
( व्‍यवस्‍था ७:१२-२४ ; २८:१-१४ )

1 परमप्रभुले भन्‍नुभयो, “पुज्‍नको निम्‍ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्‍बा वा कुँदेको ढुङ्गा नराख्‍नू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

2 धार्मिक चाडहरू मान्‍ने गर्नू र मेरो आराधना गरिने स्‍थानलाई आदर गर्नू। म परमप्रभु हुँ।

3 “तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने

4 म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्‍न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्।

5 तिम्रा खेतको उब्‍जनी यति प्रशस्‍त हुनेछ कि अङ्‌गुर टिप्‍ने बेला भइसक्‍दा पनि तिमीहरू आफ्‍ना अन्‍नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्‍न लाउने समय आइसक्‍दा अङ्‌गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्‍त हुनेछ र आफ्‍ना देशमा सुरक्षासित बास गर्नेछौ।

6 “म तिमीहरूका देशमा शान्‍ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्‍नेछौ। तिमीहरूका देशबाट डरलाग्‍दा जनावरहरू हटाउनेछु र त्‍यहाँ लडाइँ हुनेछैन।

7 तिमीहरूले आफ्‍ना बैरीहरूलाई जित्‍नेछौ।

8 तिमीहरू पाँच जनाले सय जनालाई जित्‍न सक्‍नेछौ अनि सय जनाले दश हजारलाई जित्‍न सक्‍नेछौ।

9 म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु।

10 तिमीहरूका अन्‍नबाली यति प्रशस्‍त हुनेछ कि त्‍यो वर्षभरि तिमीहरूलाई पर्याप्‍त हुनेछ। अनि नयाँ फसल राख्‍नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्‍न फ्‍याँकिदिनुपर्नेछ।

11 म तिमीहरूका माझमा आफ्‍नो पवित्र पालमा बास गर्नेछु र कहिल्‍यै तिमीहरूलाई त्‍याग्‍नेछैनँ।

12 म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।

13 म परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्‍ने तुल्‍याएँ।”


आज्ञा नमान्‍नाले दण्‍डहरू
( व्‍यवस्‍था २८:१५-६८ )

14 परमप्रभुले भन्‍नुभयो, “तिमीहरूले मेरा आज्ञा मानेनौ भने दण्‍ड पाउनेछौ।

15 तिमीहरूले मेरा नियम, मेरा आज्ञाहरू पालन गर्न इन्‍कार गर्‍यौ र मैले तिमीहरूसित बाँधेको करार भङ्ग गर्‍यौ भने

16 म तिमीहरूलाई दण्‍ड दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्‍याउनेछु– तिमीहरूको ज्‍यान सुकाउने अनि तिमीहरूलाई अन्‍धा पार्ने र निको पार्न नसकिने बिरामी र ज्‍वरोहरू ल्‍याउनेछु। तिमीहरूले अन्‍न लाउनेछौ तर त्‍यसबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिम्रा शत्रुहरूले तिमीहरूलाई विजय गर्नेछन् र तिमीहरूका उब्‍जनी खानेछन्।

17 म तिमीहरूका विरुद्धमा खडा हुनेछु र तिमीहरू हार्नेछौ। जसले तिमीहरूलाई घिनाउँछन्‌ तिनीहरूले तिमीहरूमाथि राज्‍य गर्नेछन्। तिमीहरू यति साह्रो डराउनेछौ कि कसैले नदेखेको बेलामा पनि दगुरेर भाग्‍नेछौ।

18 “यी सबै भइसकेपछि पनि तिमीहरूले मेरा आज्ञा मानेनौ भने म तिमीहरूको दण्‍ड सात गुणा बढाइदिनेछु।

19 म तिमीहरूको हठीपन तोड्‍नेछु। पानी पर्नेछैन र तिमीहरूका जमिन सुक्‍खा र फलामजस्‍तै साह्रो हुनेछ।

20 तिम्रा सारा कठोर मेहनतबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिमीहरूका खेतमा अन्‍न उब्‍जनेछैन अनि रूखहरूमा फल फल्‍नेछैन।

21 “तिमीहरूले अझै मेरो विरोध गर्‍यौ र आज्ञा मानेनौ भने म तिमीहरूको दण्‍ड अरू सात गुणा बढाउनेछु।

22 म तिमीहरूका बीचमा डरलाग्‍दा जनावरहरू पठाउनेछु र तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मार्नेछन् र तिमीहरूका गाई-वस्‍तुहरू नाश पार्नेछन्। तिमीहरूको सङ्‍ख्‍या यति कम हुनेछ कि बाटाहरू रित्तो हुनेछन्।

23 “यी सबै दण्‍डहरू पाइसकेपछि पनि तिमीहरूले अझै मेरा कुरा सुनेनौ र विरोध गरिरह्यौ भने

24 म तिमीहरूमाथि आइलाग्‍नेछु र अघिको भन्दा अझ सात गुणा बढ्ता दण्‍ड दिनेछु।

25 हाम्रा बीचको करार तोडिएको कारणले म दण्‍ड दिन तिमीहरूकहाँ लडाइँहरू ल्‍याउनेछु। तिमीहरू सुरक्षाको लागि आफ्‍ना सहरहरूमा जम्‍मा भयौ भने म तिमीहरूका बीचमा निको पार्न नसकिने रोगहरू पठाउनेछु। आफ्‍ना शत्रुहरूका अघि हार मान्‍न तिमीहरूलाई कर लाग्‍नेछ।

26 म तिमीहरूको खाना जुट्‍न दिनेछैन र दश जना स्‍त्रीहरूसित भएका सबै खाना पकाउनलाई एउटा चुलो मात्र भए पुग्‍छ। तिनीहरूले खाना खटाई-खटाई बाँड्‍नेछन् र तिमीहरूले ती सबै खाइसकेपछि पनि अझै भोका नै रहनेछौ।

27 “यी सबै भइसकेपछि पनि तिमीहरूले मेरो विरोध गरिरह्यौ र मेरा आज्ञा मान्‍न इन्‍कार गरिरह्यौ भने

28 म आफ्‍नो रिसमा तिमीहरूमाथि आइलाग्‍नेछु र फेरि तिमीहरूको दण्‍ड अघिको भन्दा अरू सात गुणा कठोर बनाउनेछु।

29 तिमीहरूको भोक यति साह्रो बढ्‍नेछ कि तिमीहरूले आफ्‍नै बाल-बालिका खानेछौ।

30 डाँडामा भएका तिमीहरूका आराधना-स्‍थलहरू नाश पार्नेछु, धूपवेदीहरू भत्‍काई ढालिदिनेछु र तिमीहरूका लाश ती लडेका मूर्तिहरूमाथि फ्‍याँकिदिनेछु।

31 विरक्त भई म तिमीहरूका सहर र आराधना-स्‍थलहरू ध्‍वंस पार्नेछु र तिमीहरूका बलिदानहरू ग्रहण गर्नेछैन।

32 म तिमीहरूका देश यस्‍तो प्रकारले ध्‍वंस गर्नेछु कि त्‍यो देखेर देश कब्‍जा गरी बास गर्ने तिमीहरूका शत्रुहरू पनि औधी तर्सनेछन्।

33 म तिमीहरूमाथि लडाइँहरू ल्‍याउनेछु र तिमीहरूलाई देशविदेशमा छरपष्‍ट पारी धपाइदिनेछु। तिमीहरूको देश उजाड हुनेछ र सहरहरू ध्‍वंस हुनेछ।

34-35 तब देश उजाड हुनेछ र त्‍यसले विश्राम पाउनेछ। तिमीहरूचाहिँ बैरीका देशमा कैदी भइरहनेछौ। तिमीहरूले आफ्‍ना देशलाई नदिएको पूर्ण विश्राम धेरै वर्षसम्‍म देशले भोग गर्नेछ।

36 “तिमीहरूमध्‍ये कैदी भएर जानेहरूलाई म यति भयभित तुल्‍याउनेछु कि पात उडेको आवाज सुन्‍दा पनि तिनीहरू भाग्‍नेछन्। लडाइँमा खेदिएका झैँ तिमीहरू भाग्‍नेछौ र शत्रु छेउमा नहुँदा पनि तिमीहरू भुइँमा लड्‍नेछौ।

37 कसैले नखेदेको बेलामा पनि तिमीहरू आपसमा ठोकिएर एक अर्कोमाथि लड्‍नेछौ र आफ्‍ना शत्रुका विरुद्धमा लडाइँ गर्न सक्‍नेछैनौ।

38 तिमीहरू परदेशमा मर्नेछौ र बैरीहरूका देशमा तिमीहरूको नाउँनिशानै मेटिनेछ।

39 तिमीहरूबाट थोरै मानिस, जो बैरीका देशमा बाँकी रहनेछन्, तिनीहरू पनि आफ्‍ना र तिमीहरूका पुर्खाहरूका पापले गर्दा त्‍यसै विनाश भएर जानेछन्।

40 “तर तिम्रा सन्‍तानले आफ्‍ना पाप अनि मेरो विरोधमा विद्रोह गर्ने आफ्‍ना पुर्खाका पाप स्‍वीकार गर्नेछन्।

41 ती पुर्खाहरूले नै मलाई तिनीहरूका विरुद्धमा खडा हुन लाएका थिए र बैरीका देशमा तिनीहरूलाई कैदी भइरहनलाई धपाउन लाएका थिए। अन्‍तमा जब तिम्रा वंशहरू नम्र बन्‍नेछन् र आफ्‍ना पाप र विद्रोहका दण्‍ड भोगिसकेका हुन्‍छन्,

42 म याकूब, इसहाक र अब्राहामसित बाँधेको प्रतिज्ञा याद गर्नेछु र आफ्‍ना मानिसहरूलाई कनान देश दिने मेरो करार फेरि दिनेछु।

43 तर पहिले देशबाट सबै मानिसहरू निकालिनुपर्छ र देशले पूर्ण विश्राम लिन सकोस् अनि मानिसहरूले मेरो नियम र आज्ञाहरू अस्‍वीकार गरेको पूरा सजाय भोगिसक्‍नुपर्छ।

44 तर त्‍यसो भए पनि तिनीहरू बैरीकै देशमा बसेका बेलामा पनि म तिनीहरूलाई पूरै त्‍याग्‍नेछैनँ वा नाश पार्नेछैनँ किनभने त्‍यसो भयो भने तिनीहरूसित मैले बाँधेको कारार मेटिनेछ। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।

45 मैले आफ्‍ना मानिसहरूलाई मिश्रबाट निकाली ल्‍याएँ र अरू जातिहरूलाई आफ्‍ना शक्ति देखाएँ। म परमप्रभु तिनीहरूका परमेश्‍वर रहूँ भनी मैले त्‍यसो गरें। त्‍यस बेला मैले तिनीहरूसित बाँधेको करार म फेरि नयाँ गरी तिनीहरूसित बाँध्‍नेछु।”

46 यी सबै परमप्रभुले मोशालाई सीनै पर्वतमा इस्राएलीहरूको निम्‍ति दिनुभएको नियम र आज्ञाहरू हुन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy