Online Bible

- Reklamy -

लेवीहरू 21 - सरल नेपाली पवित्र बाइबल


पूजाहारीको पवित्रता

1 परमप्रभुले हारूनवंशी पूजाहारीहरूलाई मोशाद्वारा यी कुराहरू भन्‍नुभयो,

2 “आफ्‍ना आमा-बुबा, छोरा-छोरी, दाजुभाइ वा

3 आफ्‍नै घरमा बसेकी र विवाह नभएकी दिदी-बहिनी बाहेक अरू कुल-कुटुम्‍बको मृत्‍यु संस्‍कारमा भाग लिएर कुनै पूजाहारीले आफैंलाई विधिअनुसार अशुद्ध नतुल्‍याओस्।

4 आफ्‍नी स्‍वास्‍नीका कुटुम्‍ब मर्दा उसले आफैंलाई अशुद्ध नपारोस्।

5 “कुनै पूजाहारीले म शोकमा छु भनी जनाउन आफ्‍नो शिरको केश काट्‍नेछैन वा दाह्री छाँट्‍नेछैन वा शरीरमा चोट लाउनेछैन।

6 ऊ पवित्र रहनुपर्छ अनि उसले मेरो नामको अनादर नगरोस्। उसले मलाई अन्‍नबलि चढाउँदछ र ऊ पवित्र हुनुपर्छ।

7 पूजाहारी पवित्र जन हो, उसले वेश्‍या भइबसेकी स्‍त्री वा कन्‍ये कुमारी नरहेकी केटी वा लोग्‍नेले छोडेकी स्‍त्रीलाई विवाह नगरोस्।

8 मानिसहरूले पनि पूजाहारीलाई पवित्र मान्‍नुपर्छ किनभने उसले मलाई अन्‍नबलि चढाउँदछ। म परमप्रभु हुँ, म पवित्र छु अनि आफ्‍ना जनहरूलाई पवित्र गर्दछु।

9 यदि एउटा पूजाहारीकी छोरी वेश्‍या बनी भने त्‍यसले आफ्‍ना बुबालाई बेइज्‍जत गर्छे, त्‍यसलाई आगोले जलाएर मार्नुपर्छ।

10 “शिरमा अभिषेकको तेल खन्‍याएर मुख्‍य पूजाहारीलाई पूजाहारीको वस्‍त्र पहिरनलाई अर्पण गरिएको हुन्‍छ, यसैले आफूले शोक गरेको कुरा प्रकट गर्नलाई उसले आफ्‍नो केश नकोरी खुल्‍ला छोड्‍नु वा लाएको कपडा च्‍यात्‍नुहुँदैन।

11-12 ऊ मलाई अर्पण गरिएको मानिस हो र आफैंलाई विधिअनुसार अशुद्ध नपारोस्। जसका आफ्‍नै बुबा वा आमाको लाश भए पनि मेरो पवित्र पालबाट निस्‍केर लाश राखिएको घरमा पसी उसले आफैंलाई अशुद्ध नबनाओस्।

13 उसले एक जना कन्‍ये केटीलाई विवाह गरोस्,

14 विधवा, छुटानामा भएकी वा वेश्‍या भएर बिग्रेकी आइमाईलाई होइन। उसले आफ्‍नै वंशबाट एउटी कन्‍ये केटीलाई मात्र विवाह गरोस्।

15 नत्रता उसका छोरा-छोरीहरू, जो पवित्र हुनुपर्ने हो, विधिअनुसार अशुद्ध हुनेछन्। म परमप्रभु हुँ अनि मैले उसलाई मुख्‍य पूजाहारी बनाई अलग छुट्ट्याएको छु।”

16-17 परमप्रभुले हारूनलाई यसो भन्‍नू भनी मोशालाई आज्ञा दिनुभयो, “तेरा कुलबाट शरीरमा खोट हुने छोरा-नातिले मलाई अन्‍नबलि नचढाऊन्‌। यो आउँदा दिनमा सदासर्वदा मानिनुपर्छ।

18 कुनै शरीरमा खोट भएको मानिस, अन्‍धा, लङ्गडा, कुरूप वा नराम्रो रूप भएको मानिस,

19 हात-खुट्टा कुँजो भएको मानिस,

20 कुप्रो वा बाउन्‍ने मानिस वा आँखा वा छालामा रोग लागेको वा नपुंसक मानिसले मलाई बलि नचढाओस्।

21 हारून पूजाहारीका सन्‍तान, जसका शरीरमा खोट छ, त्‍यसले मलाई होमबलि नचढाओस्।

22 त्‍यस्‍तो मानिसले मलाई चढाएको भोजन पवित्र अन्‍नबलि र महा-पवित्र अन्‍नबलि दुवै खान सक्‍छ,

23 तर शरीरमा खोट रहेका कारणले त्‍यो पवित्र पर्दा वा वेदीको नजिक नआओस्। त्‍यसले यी पवित्र कुराहरूलाई अपवित्र नपारोस् किनभने म परमप्रभु हुँ अनि तिनीहरूलाई पवित्र पार्दछु।”

24 यी कुराहरू मोशाले हारून, तिनका छोराहरू र इस्राएलका सबै मानिसहरूलाई सुनाए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy