Online Bible

- Reklamy -

लेवीहरू 19 - सरल नेपाली पवित्र बाइबल


पवित्रता र न्यायका नियमहरू

1-2 परमप्रभुले मोशाद्वारा इस्राएली जन-समूहलाई भन्‍नुभयो, “पवित्र होओ किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु।

3 तिमीहरू हरेकले मैले आज्ञा गरेअनुसार आफ्‍ना आमा-बुबाको आदर गर्नुपर्छ र पवित्र विश्राम दिन मान्‍नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

4 “मलाई छोडेर मूर्तिपूजा नगर, धातुका मूर्तिहरू बनाएर तिनलाई नपूज। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

5 “तिमीहरू जब मेलबलिको निम्‍ति पशु मार्छौ, मैले दिएका नियमहरू पालन गर र म बलि स्‍वीकार गर्नेछु।

6 पशु मारिएकै दिन वा त्‍यसको भोलिपल्‍ट त्‍यसको मासु खाइसक्‍नुपर्छ। तेस्रो दिनसम्‍म उब्रेको मासु जलाइनुपर्छ

7 किनभने त्‍यो विधिअनुसार अशुद्ध छ र कसैले त्‍यो खायो भने म त्‍यो बलि ग्रहण गर्नेछैनँ।

8 त्‍यस्‍तो मासु खाने मानिस मेरो जन ठानिनेछैन किनभने त्‍यसले मलाई अर्पण गरिएको वस्‍तुलाई एउटा मामुली थोक मात्र ठान्‍ने दोष गरेको हुन्‍छ।

9 “जब तिमीहरू आफ्‍ना खेतबाट अन्‍न बटुल्‍दछौ, खेतको किनाराका बाली नकाट्‍नू र छाडिएका अन्‍नका बाली काट्‍नलाई फर्की नजानू।

10 टिप्‍दा छाडिएका वा भूइँमा झरेको अङ्‌गुर टिप्‍न फर्केर दाखबारीमा फेरि नजानू, ती गरीब र विदेशीहरूका लागि छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

11 “तिमीहरूले चोरी, ठगी वा झूटा बोली नगर्नू।

12 मसँग गरेको प्रतिज्ञा पूरा गर्ने इच्‍छा छँदैछैन भने मेरा नाममा केही प्रतिज्ञा नगर्नू। नत्र त्‍यसले मेरो नामको अनादर हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

13 “कसैबाट फाइदा नउठाउनू वा कसैलाई नलुट्‍नू। कुनै ज्‍यामीको ज्‍याला एकै रात पनि नरोक्‍नू।

14 बहिरालाई गाली नगर्नू वा अन्‍धाको अघि कुनै ठोकर लाग्‍ने कुरा नराखिदिनू। मेरो डर राख; म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

15 “मुद्दामा निर्णय दिँदा तिमीहरू इमानदार र न्‍यायी हुनू। गरीबतर्फ पनि नलाग्‍नू, धनीको डर पनि नमान्‍नू।

16 कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्‍यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्‍छ भने तिमी बोल। म परमप्रभु हुँ।

17 “कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्‍ने कुरा छिनोफानो गरिहाल र त्‍यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ।

18 कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्‍ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।

19 “मेरा आज्ञाहरू मान। भिन्‍नभिन्‍न प्रकारका घरेलु पशुहरूलाई ठिमाहा पार्न नमिसाओ। एउटै खेतमा दुई थरीका बिउ नछर। दुई थरीका वस्‍तुले बनेका कपडा नलाओ।

20 “यदि कुनै मानिसले अर्का मानिसलाई एउटी कमारी केटी त्‍यसकी रखौटी बन्‍नलाई बेच्‍ने करार गरेको छ, तर किन्‍ने मानिसले केटीको दाम चुक्‍ता गरेको छैन र त्‍यो मालिक र त्‍यस कमारीले आपसमा सम्‍भोग गरे भने तिनीहरू मारिनेछैनन्, केवल तिनीहरूलाई साधारण सजाय दिइनेछ किनभने त्‍यो त्‍यसकी कमारी रहेकी छे।

21 त्‍यस मानिसले म बास गर्ने पवित्र पालको ढोकामा एउटा साँढ-भेडा दोषबलिको रूपमा ल्‍याओस्।

22 त्‍यो लिएर पूजाहारीले त्‍यस मानिसको पाप काट्‍नलाई शुद्धीकरणको विधि पूरा गराउनेछ र परमेश्‍वरले त्‍यसलाई क्षमा दिनुहुनेछ।

23 “तिमीहरू कनान देशमा आइपुगेपछि जब तिमीहरू कुनै प्रकारका फलका रूख रोप्‍दछौ, तीन वर्षसम्‍म त्‍यसका फललाई विधिअनुसार अशुद्ध ठान्‍नू। तीन वर्षभरि ती फलहरू नखानू।

24 चौथो वर्ष म परमप्रभुप्रति धन्‍यवाद जनाउनलाई तिमीहरूले सबै फल मलाई अर्पण गर्नू,

25 तर पाँचौँ वर्षमा तिमीहरूले फल खान सक्‍छौ। यी सबै तिमीहरूले मान्‍यौ भने तिम्रा रूखहरूमा धेरै फल फल्‍नेछन्। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

26 “रगतसँगको मासु नखानू। टुनामुना नगर्नू।

27 टाउकाको दुईतिरका केश नकाट, दाह्री नछाँट।

28 जिउमा केही कुराको छाप नखोप वा मरेका मानिसको लागि शोक मनाएर शरीरमा चोट नलाओ। म परमप्रभु हुँ।

29 “मन्‍दिरको वेश्‍या बनाएर आफ्‍ना छोरीहरूको अनादर नगर। त्‍यसो गर्‍यौ भने तिमीहरूले फर्केर अरू देवताहरूलाई मान्‍नेछौ र देशमा अनैतिकताले भरिनेछ।

30 पवित्र विश्रामदिन मान्‍ने गर र जहाँ मेरो आराधना हुन्‍छ, त्‍यस स्‍थानलाई आदर गर। म परमप्रभु हुँ।

31 “मृत-आत्‍मासित सोधपुछ गर्ने मानिसहरूकहाँ सल्‍लाह लिन नजाओ। त्‍यसो गर्‍यौ भने तिमीहरू विधिअनुसार अशुद्ध हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

32 “बुढापाकाहरूलाई आदर गर र मान-मनितो गर। डरसहित मेरो आज्ञा मान, म परमप्रभु हुँ।

33 “तिम्रा देशमा बास गर्ने विदेशीसित कुव्‍यवहार नगर।

34 तिनीहरूसित आफ्‍ना इस्राएली सङ्गीहरूसित गरेझैँ व्‍यवहार गर। आफैंलाई जस्‍तै तिनीहरूलाई प्रेम गर। याद राख कि तिमीहरू पनि एक समय मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

35 “झूटा नाप-तौल र माना-पाथी चलाएर कसैलाई नठग,

36 ठीक-ठीक ढक, तराजु र नाप चलाउने गर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ अनि मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ।

37 मेरा सबै नियमहरू र आज्ञाहरू पालन गर। म परमप्रभु हुँ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy