Online Bible

- Reklamy -

लेवीहरू 12 - सरल नेपाली पवित्र बाइबल


सुत्केरीको शुद्धीकरण

1 परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूको निम्‍ति यी नियमहरू दिनुभयो,

2 मासिकधर्म भएको दिनमा झैँ छोरा जन्‍माएपछि सात दिनसम्‍म रीतिअनुसार स्‍त्री अशुद्ध रहनेछे।

3 आठौँ दिनमा छोराको खतना गरिनुपर्छ।

4 त्‍यसपछि अरू तेत्तीस दिन बितेपछि मात्र त्‍यो आफ्‍नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे। आफू शुद्ध हुने दिन पूरा नहोउञ्‍जेल त्‍यस स्‍त्रीले कुनै पवित्र कुरालाई नछोओस् वा पवित्र पालमा नपसोस्।

5 छोरी जन्‍मिएको चौध दिनसम्‍म मासिकधर्म भएका दिनमा झैँ स्‍त्री रीतिअनुसार अशुद्ध रहनेछे। त्‍यसको अरू छयसट्ठी दिनपछि मात्र त्‍यो आफ्‍नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे।

6 छोरो जन्‍मोस् वा छोरी, आफू शुद्ध हुने दिन पूरा भएपछि त्‍यस स्‍त्रीले पूजाहारीकहाँ होमबलिको लागि एउटा एकवर्षे भेडाको थुमा पापबलिको लागि एउटा ढुकुर वा परेवा परमप्रभुको पवित्र पालको ढोकामा ल्‍याओस्।

7 पूजाहारीले त्‍यसको बलिदान परमप्रभुकहाँ चढाउनेछ र त्‍यसको चोख्‍याउने विधि पालन गर्नेछ र त्‍यो रीतिअनुसार शुद्ध हुनेछे। सुत्‍केरी भएपछि एउटी स्‍त्रीले त्‍यसो गर्नुपर्नेछ।

8 स्‍त्रीले भेडाको थुमा ल्‍याउन सकिन भने त्‍यसले दुईवटा ढुकुर कि परेवा ल्‍याओस्, एउटा होमबलिको लागि र अर्को पापबलिको लागि। पूजाहारीले त्‍यसको चोख्‍याउने विधि पूरा गरोस् र रीतिअनुसार त्‍यो शुद्ध हुनेछे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy