Online Bible

- Reklamy -

यहोशूको पुस्तक 9 - सरल नेपाली पवित्र बाइबल


गिबोनीहरूले यहोशूलाई छल गर्छन्‌

1 इस्राएलका विजयका कुरा यर्दनका पश्‍चिममा भएका सबै राजाहरू, हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसी सबैले सुने। त्‍यो कुरा डाँडामाथि, तिनका फेदीमा र भूमध्‍य सागरका किनारका मैदानमा, उत्तरपट्टि लेबनानभरि फैलियो।

2 तिनीहरू सबै एकसाथ भएर यहोशू र इस्राएलीहरूका विरुद्धमा लड्‍नलाई आ-आफ्‍ना सेनाहरू एकै ठाउँमा भेला गरे।

3 तर यरीहो र ऐमा यहोशूले के-के गरेका थिए, ती कुरा गिबाका बासिन्‍दा हिव्‍वीहरूले सुने

4 र तिनलाई छल गर्ने निश्‍चय गरे। तिनीहरूले गएर केही भोजन जुटाए र आफ्‍ना गधाहरूमाथि फाटेका बोराहरू र टालेका छालाका दाखमद्य हालेका मशकहरू लादे।

5 आफैंले थाङ्ने कपडा र फाटेका र टालेका चप्‍पलहरू लाए। तिनीहरूले लिएका भोजन सुकेर ढुसी परिसकेका थिए।

6 त्‍यसपछि तिनीहरू गिलगालमा इस्राएलीहरूका छाउनीमा गए अनि यहोशू र इस्राएलका मानिसहरूलाई भने, “हामी टाढाबाट आएका हौं। हामीसित सन्‍धि गर्नुहोस् भन्‍ने हाम्रो बिन्‍ती छ।”

7 तर इस्राएलका मानिसहरूले भने, “किन हामीले तिमीहरूसित सन्‍धि-पत्र गर्नू? हुन सक्‍छ, तिमीहरू नजिकै कहीँ बास गर्दछौ।”

8 तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंहरूको सेवा गर्न हाजिर छौं।” यहोशूले प्रश्‍न गरे, “तिमीहरू को हौ? कहाँबाट आएका हौ?”

9 तब तिनीहरूले तिनलाई भने, “हजुर, हामी धेरै टाढा देशबाट आएका हौं किनभने हामीले तपाईंहरूका परमप्रभु परमेश्‍वरको बारेमा सुनेका छौं। उहाँले मिश्रमा गरेका सबै कुरा

10 अनि यर्दनका पूर्वपट्टि दुई जना एमोरी राजाहरू, हेश्‍बोनका राजा सीहोन र अस्‍तारोतमा बास गर्ने बाशानका राजा ओगसित के-के गरेका थिए, ती सबै हामीले सुनेका छौं।

11 हाम्रा अगुवाहरू र हाम्रा सारा देशबासीले हामीलाई केही भोजन यात्राको लागि तयार गरेर, यहाँ आई तपाईंहरूसित भेट गर्न पठाएका हुन्। तपाईंहरूका सेवा गर्न र हामीसित एउटा सन्‍धि-पत्र गर्न तपाईंहरूसँग बिन्‍ती गर्न पठाएका छन्।

12 हामीले ल्‍याएका रोटी हेर्नुहोस्। हामी घर छोडी तपाईंलाई भेट्‍न आउँदा त्‍यो तातै थियो; तर हेर्नुहोस्, सुकेर अहिले ढुसी परिसकेको छ।

13 यी दाखमद्यका मशकहरू भर्दा ती नयाँ नै थिए तर हेर्नुहोस्, ती फाटिसकेका छन्। लामो यात्राले गर्दा हाम्रा कपडा र चप्‍पलहरू फाटिसकेका छन्।”

14 इस्राएलका मानिसहरूले तिनीहरूदेखि केही भोजन ग्रहण गरे। त्‍यसबारे परमप्रभुबाट सल्‍लाह लिएनन्।

15 यहोशूले गिबोनका बासिन्‍दाहरूसित मित्रताको सन्‍धि-पत्र बनाए र तिनीहरूलाई बास गर्न दिए। इस्राएलका अगुवाहरूले सन्‍धि पालन गर्नेछौं भनी आफ्‍ना गम्‍भीर प्रतिज्ञा गरे।

16 सन्‍धि गरेको तीन दिनपछि ती मानिसहरू नजिकै बास गर्नेहरू हुन् भनी इस्राएलीहरूले थाहा पाए।

17 यसकारण इस्राएलीहरू निस्‍के र तीन दिनपछि ती मानिसहरू बास गर्ने सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे।

18 तर इस्राएलीहरूले तिनीहरूलाई मार्न सकेनन् किनभने तिनका अगुवाहरूले ती मानिसहरूसित परमप्रभु इस्राएलका परमेश्‍वरको नाममा पवित्र प्रतिज्ञा गरेका थिए। सबै मानिसहरूले अगुवाहरूसित यस कुराबारे गनगनाए;

19 तर अगुवाहरूले यस्‍तो जवाफ दिए, “हामीले तिनीहरूसित परमप्रभु इस्राएलका परमेश्‍वरको नाममा पवित्र प्रतिज्ञा गरेका छौं। अब हामीले तिनीहरूको खति गर्न सक्‍दैनौं।

20 हाम्रा प्रतिज्ञाले गर्दा हामीले तिनीहरूलाई बास गर्न दिनैपर्छ नत्र परमेश्‍वरले हामीलाई दण्‍ड दिनुहुनेछ।

21 र तिनीहरू यहाँ बास गरून्; तर तिनीहरूले हाम्रा लागि दाउरा काट्‍नु र पानी बोक्‍नुपर्नेछ।” अगुवाहरूले यस्‍तो सुझाब दिए।

22 यहोशूले गिबोनबासीहरूलाई आफ्‍नो अघि ल्‍याउन लाएर तिनीहरूलाई सोधे, “तिमीहरू यहाँ नजिकै बस्‍दा रहेछौ र पनि किन टाढाबाट आएका हौं भनी हामीलाई छल गर्‍यौ?

23 तिमीहरूले त्‍यसो गरेका हुनाले परमेश्‍वरले तिमीहरूमाथि सराप दिनुभएको छ। तिम्रा मानिसहरू सधैँ कमारा-कमारी बनिरहनेछन् र मेरा परमेश्‍वरको पवित्रस्‍थानमा दाउरा काट्‍ने र पानी बोक्‍ने भइरहनेछन्।”

24 तिनीहरूले जवाफ दिए, “हजुर, हामीले त्‍यसो गर्‍यौं किनभने हामीले थाहा पायौं कि तपाईंहरू अघि बढ्दैआउँदा यो सारा देश तपाईंहरूलाई यहाँ बास गर्ने मानिसहरूलाई नाश पार्न भनी तपाईंहरूका परमेश्‍वरले आफ्‍ना दास मोशालाई आज्ञा गर्नुभएको थियो। हामीलाई तपाईंहरूको डर भयो, आफ्‍ना प्राणको पनि डर भयो। यसकारण हामीले त्‍यसो गर्‍यौं।

25 अब हामी तपाईंका हातमा छौं जे उचित ठान्‍नुहुन्‍छ, त्‍यही हामीसित गर्नुहोस्।”

26 त्‍यसकारण यहोशूले यो काम गरे, उनले तिनीहरूका रक्षा गरे र इस्राएलका मानिसहरूबाट तिनीहरूलाई मर्न दिएनन्।

27 तर त्‍योसँगै उनले तिनीहरूलाई कमारा-कमारी बनाए अनि परमप्रभुका वेदी र इस्राएलका मानिसहरूका निम्‍ति दाउरा काट्‍न र पानी बोक्‍न लाए। परमप्रभुले आफ्‍ना आराधना-स्‍थल भनी छान्‍नुभएको ठाउँमा आजसम्‍म तिनीहरूले ती काम गरिरहेका छन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy