Online Bible

- Reklamy -

यहोशूको पुस्तक 7 - सरल नेपाली पवित्र बाइबल


आकानको पाप

1 परमप्रभुलाई चढाउनुपर्ने कुनै थोक यरीहोबाट नलिनू भन्‍ने परमप्रभुले इस्राएललाई दिनुभएको आज्ञापालन भएन। एक जना आकान नाम गरेको मानिसले त्‍यो आज्ञा मानेन। परमप्रभु इस्राएलीहरूमाथि औधी क्रोधित हुनुभयो। (आकान कर्मीको छोरो अनि जब्‍दीको नाति थियो। त्‍यो यहूदा कुलको जेरह गोत्रको थियो।)

2 यहोशूले केही मानिसहरूलाई बेथ-आवनको नजिकै बेथेलको पूर्वमा भएको ऐ सहरमा त्‍यसको भेद लिने आज्ञा दिएर पठाए।

3 त्‍यो काम गरिसकेपछि तिनीहरू फर्केर आई यहोशूलाई भने, “सबैले ऐमाथि हमला गर्न आवश्‍यक छैन। दुई वा तीन हजार मानिसहरू मात्र पठाऊ। त्‍यहाँ लड्‍नलाई सारा सेना नपठाऊ। त्‍यो सहर ठूलो छैन।”

4 यसकारण तीन हजार जति इस्राएलीहरूले हमला गरे तर तिनीहरू हारेर पछि हट्‍न पर्‍यो।

5 ऐका बासिन्‍दाहरूले तिनीहरूलाई सहरको ढोकादेखि ढुङ्गाका केही खानीहरू भएको ठाउँसम्‍म खेदे र डाँडाबाट ओह्रालो झर्दा छत्तीस जना जति इस्राएलीहरूलाई मारे। त्‍यसो हुँदा इस्राएलीहरूले साहस गुमाए र तिनीहरू डरले थरथर भए।

6 यहोशू र इस्राएलका अगुवाहरूले शोकमा आ-आफ्‍ना वस्‍त्र च्‍याते, परमप्रभुको करारको सन्‍दुकको सामुन्‍ने जमिनमा लडे र मनको पीर जनाउँदै टाउकोमा धूलो हालेर साँझसम्‍म त्‍यहीँ माटोमा लडिरहे।

7 अनि यहोशूले भने, “सार्वभौम परमप्रभु! किन हामीलाई वारि नै ल्‍याउनुभयो? एमोरीहरूका हातमा पारिदिनलाई? हाम्रो नाश गराउनलाई? किन हामी यर्दनपारि नै रहन खुसी थिएनौं र?

8 यसरी इस्राएलीहरू शत्रुसित हारेर फर्की आएपछि म के भनूँ, प्रभु?

9 कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्‍नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्‍यसपछि आफ्‍नो इज्‍जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?”

10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्! किन यसरी भूइँमा लडिरहेको छस्?

11 इस्राएलले पाप गरेको छ। मसँग गरेको वाचा जुन तिनीहरूले मान्‍न भनी मैले आज्ञा दिएको थिएँ, त्‍यो तिनीहरूले तोडेका छन्। मलाई चढाउन आज्ञा दिइएका थोकहरू केही तिनीहरूले लिएर राखेका छन्। तिनीहरूले ती थोक चोरे, तीबारे ढाँटे र आफ्‍ना चीजबीजसित एकसाथ राखे।

12 त्‍यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुका विरुद्धमा खडा रहन सक्‍दैनन्। शत्रुका अघिबाट तिनीहरू भाग्‍छन् किनभने तिनीहरू आफैं नाश हुने दण्‍डमा परेका छन्। नलिनू भनी आज्ञा गरिएका तर तिमीहरूले चाहिँ लिएका चीजबीज तैँले नाश गरिनस् भने म तँसित रहनेछैनँ।

13 “उठ्! मानिसहरूलाई चोख्‍या र मेरो अघि आउन तयार पार्‌। तिनीहरूलाई भोलि तयार रहनू भन् किनभने म परमप्रभु इस्राएलका परमेश्‍वरको भन्‍नुपर्ने कुरा यस्‍तो छ, ‘हे इस्राएल, तँसित यस्‍ता कति चीज छन् जुन नाश पार्नुपर्ने थियो। ती चीजहरू नहटाउन्‍जेलसम्‍म तैँले तेरा शत्रुको सामना गर्न सक्‍नेछैनस्।’

14 यसर्थ तिनीहरूलाई भन् कि भोलि बिहान तिनीहरू कुल-कुल भएर अघि आउनेछन्। मैले चुनेको कुल, गोत्र-गोत्रका हिसाबले अघि आउनेछ। त्‍यहाँबाट मैले चुनेको गोत्र, परिवार-परिवारका हिसाबले अघि आउनेछ। मैले फेरि चुनेका परिवारका मानिसहरू एक-एक जना गरी सामुन्‍ने आउनेछन्।

15 त्‍यसपछि जुन मानिस छुट्ट्याइन्‍छ र जोसित ती श्रापित चीजबीज पाइनेछ, त्‍यो आफ्‍ना परिवार र सारा सम्‍पत्तिसमेत आगोमा भस्‍म गरिनेछ किनभने त्‍यसले इस्राएलमा एउटा ठूलो लाजको कुरो ल्‍याएको छ र मसितको करार भङ्ग गरेको छ।”

16 भोलिपल्‍ट बिहानै यहोशूले कुल-कुल गरेर इस्राएलीहरूलाई अघि ल्‍याए र तीबाट यहूदा कुल छुट्याइयो।

17 यहूदा कुललाई गोत्र-गोत्र गरी अघि ल्‍याए र तीबाट जेरहको गोत्र छुट्ट्याइयो। तब जेरह गोत्रलाई परिवार-परिवार गरी अघि ल्‍याए र तीबाट जब्‍दीको परिवार अलग गरियो।

18 तब जब्‍दी परिवारका पुरुषहरू एक-एक जना गरेर अघि ल्‍याइए र तीमध्‍ये जब्‍दीको नाति अनि कर्मीको छोरो आकान अलग छुट्याइयो।

19 यहोशूले त्‍यसलाई भने, “छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरको सामुन्‍ने यहाँ मलाई साँचो भन् र दोष साबित गर्‌। तैँले के गरिस्, सो अब मलाई भन्। त्‍यो मदेखि लुकाउने चेष्‍टा नगर्‌।”

20 आकानले उत्तर दियो, “साँचो हो, मैले इस्राएलका परमेश्‍वर परमप्रभुको विरुद्धमा पाप गरेको छु। मैले यसो गरें,

21 हामीले जफत गरेका थोकहरूमध्‍ये मैले एउटा सुन्‍दर, बेबिलोनियामा बनेको खास्‍टो अनि दुई किलोग्राम जति चाँदी र आधा किलोग्रामभन्दा केही बढ्ता ओजन भएको सुनको डन्‍डा भेटाएँ। मलाई यति लोभ लाग्‍यो कि मैले ती कुरा लिएँ। ती मेरो पालमा सबैभन्दा मुनि चाँदी गाडिराखेको तपाईंले भेट्टाउनुहुनेछ।”

22 यसकारण यहोशूले केही मानिसहरूलाई पठाए। तिनीहरू पालमा गए र त्‍यहाँ ती चीजहरू चाँदीचाहिँ सबैभन्दा मुनि राखेर साँच्‍चै गाडिराखेको भेट्टाए।

23 ती तिनीहरूले पालदेखि निकाली ल्‍याए र यहोशू र सबै इस्राएलीहरूकहाँ पुर्‍याए र परमप्रभुको सामुन्‍ने राखे।

24 यहोशू र सारा इस्राएलका मानिसहरूले मिलेर आकान, त्‍यो चाँदी, खास्‍टो, सुनको डन्‍डा, आकानका छोरा-छोरी, गाई-वस्‍तु, गधा र भेडाहरू, त्‍यसका तम्‍बू र अरू सबै सम्‍पत्तिसमेत समाते र ती सबैलाई विपत्तिको बेसीमा लगे।

25 अनि यहोशूले भने, “तैँले किन हामीमाथि यस्‍तो विपत् ल्‍याइस्? परमप्रभुले अब तँमाथि विपत् ल्‍याउनुहुनेछ।” तब सबै मानिसहरूले आकानलाई ढुङ्गाले हानेर मारे। तिनीहरूले त्‍यसका परिवार र सम्‍पत्तिहरूमाथि पनि ढुङ्गाले हाने र जलाइदिए।

26 तिनीहरूले त्‍यसको लाशमा ढुङ्गाको ठूलो राश थुपारे, जुन आजसम्‍म त्‍यहाँ छँदैछ। त्‍यही कारण त्‍यस ठाउँलाई विपत्तिको बेसी भनिन्‍छ। त्‍यसपछि परमप्रभुको क्रोध शान्‍त भयो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy