Online Bible

- Reklamy -

यहोशूको पुस्तक 2 - सरल नेपाली पवित्र बाइबल


यहोशूले यरीहोमा जासूस पठाउँछन्‌

1 त्‍यसपछि यहोशूले शित्तीमको छाउनीबाट दुई जना जासूसलाई कनान देश गएर विशेषगरी यरीहो सहरको गुप्‍तमा जाँचबुझ गरी आउन पठाए। तिनीहरू त्‍यस सहरमा गए र एउटी राहाब नाम गरेकी वेश्‍याको घरमा राती बास बसे।

2 यरीहोका राजाले केही इस्राएलीहरू देशको भेद लिनलाई त्‍यस रात आएका थिए भनी सुने

3 र राहाबलाई यस्‍तो खबर पठाए, “तेरो घरमा भएका मानिसहरू सारा देशको भेद लिनलाई आएका हुन्। तिनीहरूलाई लिएर आइज!”

4-6 त्‍यसले उत्तर दिई, “कोही मानिसहरू मेरो घरमा आए तर तिनीहरू कहाँबाट आएका थिए, त्‍यो म जान्‍दिनँ। घाम डुब्‍दा सहरका मूल-ढोका बन्‍द हुनुअघि तिनीहरू गइहाले। तिनीहरू कता गए, मैले सोधिनँ, तर झट्टै पछ्याएमा तिनीहरूलाई भेट्टाउन सक्‍नुहुनेछ।” (राहाबले दुई जासूसलाई घरका कौसीमा लगी त्‍यहाँ राखेका सनपाटका डाँठहरूका बीचमा लुकाएकी थिई।)

7 राजाका मानिसहरू सहरबाट निस्‍किगए र ढोका बन्‍द भयो। तिनीहरू इस्राएली जासूसहरूको खोजी गर्दै यर्दन पार गर्ने घाटसम्‍म गए।

8 राती तिनीहरू सुत्‍नुअघि राहाब कौसीमा गई

9 र जासूसहरूलाई भनी, “म जान्‍दछु कि परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। देशका सबै जना तपाईंहरूसित डराएका छन्।

10 तपाईंहरू मिश्र छोडिआउँदा कसरी परमप्रभुले लाल-समुद्र तपाईंहरूको अघि सुकाइदिनुभयो, त्‍यो हामीले सुनेका छौं। यर्दनका पूर्वमा दुई जना एमोरी राजा सीहोन र ओगलाई तपाईंहरूले कसरी मार्नुभयो त्‍यो पनि सुनेका छौं।

11 त्‍यो सुन्‍नेबित्तिकै हामी डरायौं। तपाईंहरूको कारणले हामी सबैको साहस हराएको छ। परमप्रभु तपाईंका परमेश्‍वर स्‍वर्ग र पृथ्‍वीका परमेश्‍वर हुनुहुन्‍छ।

12 अब मैले तपाईंहरूसित व्‍यवहार गरेझैँ तपाईंहरूले मेरा परिवारसित पनि दयासाथ व्‍यवहार गर्नुहुनेछ भनी उहाँको नाममा किरिया खानुहोस् र म तपाईंहरूलाई विश्‍वास गर्न सक्‍छु भनी बुझाउने केही चिनो दिनुहोस्।

13 मेरा आमा-बुबा, भाइ-बहिनी र तिनका परिवार पनि बचाउनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्। हामीलाई मृत्‍युबाट बचाउनुहोस्!”

14 ती मानिसहरूले त्‍यसलाई भने, “हामीले आफूले भनेझैँ गरेनौं भने परमेश्‍वरले हाम्रा प्राण लेऊन्। हामी के गर्दै छौं, सो तिमीले कसैलाई भनिनौ भनेदेखि हामी यो प्रतिज्ञा गर्दछौं कि जब परमप्रभुले यो देश हामीलाई दिनुहुन्‍छ, हामी तिमीसित ठीक व्‍यवहार गर्नेछौं।”

15 सहरको पर्खालसित टाँसेर बनेको एउटा घरमा राहाब बस्‍थी। त्‍यसले ती मानिसहरूलाई डोरीले झ्‍यालबाट तल ओह्रालिदिई।

16 त्‍यसले भनी, “डाँडातिर गइहाल्‍नुस् नत्र राजाका मानिसहरूले तपाईंहरूलाई भेट्टाउलान्। तिनीहरू यता फर्की नआउन्‍जेल तीन दिनसम्‍म त्‍यहीँ लुकिबस्‍नोस्। त्‍यसपछि तपाईंहरू आफ्‍नो बाटो लाग्‍न सक्‍नुहुन्‍छ।”

17 ती मानिसहरूले त्‍यसलाई भने, “तिमीले हामीलाई गर्न लाएको प्रतिज्ञा हामी पालन गर्नेछौं।

18 तिमीले यसो गर्नुपर्छ। हामीले तिम्रा देशमाथि हमला गर्दा तिमीले हामीलाई ओरालेको झ्‍यालमा यो रातो धागो बाँध्‍नू र आफ्‍ना आमा-बुबा, दाजुभाइ र तिनका परिवार पनि एकसाथ लिएर घरमा बस्‍नू।

19 कोही घर छोडी गयो भने त्‍यो आफैं आफ्‍नो मृत्‍युको लागि जिम्‍मेवार हुनेछ। हामी त्‍यसको जिम्‍मेवार हुनेछैनौं। तर घरमा तिमीसित बस्‍ने कसैमाथि खति भए हामी त्‍यसको जिम्‍मेवार हुनेछौं।

20 तरै पनि हामी के काम गर्दै छौं, सो कसैलाई भन्‍यौ भने हामीले तिमीलाई दिएको प्रतिज्ञा पालन गर्नेछैनौं।”

21 त्‍यो राजी भई र तिनीहरूलाई बिदा गरी। तिनीहरू गइसकेपछि रातो धागो त्‍यसले झ्‍यालमा बाँधी।

22 जासूसहरू डाँडामा गएर लुके। राजाका मानिसहरूले तीन दिनसम्‍म बाटो-घाटोतिर तिनीहरूको खोजी गरे तर तिनीहरूलाई भेट्टाएनन् र यरीहोमा फर्की आए।

23 तब ती दुई जासूस डाँडाबाट उत्रे र नदी तरी यहोशूकहाँ फर्की गए। जे-जे भएको थियो, ती सबै तिनीहरूले यहोशूलाई सुनाए।

24 तिनीहरूले भने, “त्‍यो सारा देश परमप्रभुले हामीलाई दिनुभएको छ भनी हामीले पक्‍का जान्‍यौं। त्‍यहाँका सबै मानिसहरू हामीसित औधी डराएका छन्।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy