योनाको पुस्तक 4 - सरल नेपाली पवित्र बाइबलयोनाको रिस र परमेश्वरको कृपा 1 तर यो कुरा योनालाई साह्रै मन परेन र उनी रिसाए। 2 अनि उनले यसरी प्रार्थना गरे, “परमप्रभु, तपाईंले यस्तै नै गर्नुहुन्छ भनेर मैले घरबाट निस्कनुअघि नै भनेको थिइनँ र? त्यही कारणले मैले तर्शीशमा भागी जाने सक्दो चेष्टा गरें। तपाईं प्रेमी, कृपालु, सदा धीरजी, सदा दयालु परमेश्वर हुनुहुन्छ, तपाईंले आफ्नो मन बदल्नुहुन्छ र दण्ड दिनुहुन्न भनी म जान्दथें। 3 परमप्रभु, अब मलाई मर्न दिनुहोस्। मलाई अब बाँच्नुभन्दा त मर्नु नै असल छ।” 4 परमप्रभुले जवाफ दिनुभयो, “तँलाई रिसाउने के हक छ?” 5 योना सहरको पूर्वपट्टि निस्केर भूइँमा बसे। आफ्नो निम्ति एउटा छाप्रो बनाएर त्यसको छहारीमा उनी बसे। अनि निनवे सहरलाई के हुँदोरहेछ भनी हेर्न पर्खिबसे। 6 तब परमप्रभु परमेश्वरले योनालाई केही आराम होस् भनी छायाँ दिनलाई एउटा बोट त्यहाँ उमारिदिनुभयो। त्यो बोट देखेर योना औधी रमाए। 7 तर भोलिपल्ट उज्यालो हुने बेलामा परमेश्वरले एउटा किरालाई त्यो बोट खान खटाउनुभयो। किराले त्यो खायो र त्यो बोट ओइलाएर मर्यो। 8 घाम झुल्केपछि परमेश्वरले पूर्वदेखि तातो हावा चलाउनुभयो र घामको चर्को ताप योनाको थाप्लोमा पर्यो। गर्मीले तिनी झण्डै मुर्छा परे। तिनले मर्ने इच्छा गरे। उनले भने, “मलाई बाँच्नुभन्दा त मर्नु नै असल छ।” 9 तर परमेश्वरले उनलाई भन्नुभयो, “त्यो बोटबारे रिसाउने तेरो के हक छ र?” योनाले जवाफ दिएर भने, “म मरूञ्जेल मेरो रिसाउने हक छ।” 10 परमप्रभुले योनालाई भन्नुभयो, “त्यो बोट एकै रातमा उम्रियो र अर्को रातमा नष्ट भएर गयो। त्यसको निम्ति तैँले केही गरिनस्, तैँले त्यसलाई न रोपिस् न त उमारिस् र पनि तँ त्यसको निम्ति डाहा गर्छस् 11 के त्योभन्दा धेरै दया मैले त्यो ठूलो सहर निनवेलाई नगर्नु र? त्यहाँ असल र खराब छुट्टयाउन नसक्ने १,२०,००० भन्दा पनि धेरै निर्दोषी मानिसहरू छन् र त्यति नै पशुहरू छन्।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society