योनाको पुस्तक 3 - सरल नेपाली पवित्र बाइबलयोनाको आज्ञापालन 1 फेरि एकपल्ट परमप्रभु योनासँग बोल्नुभयो। 2 उहाँले भन्नुभयो, “ठूलो सहर निनवेमा जा र मैले तँलाई दिएको सन्देश त्यहाँका मानिसहरूलाई सुना।” 3 योनाले परमप्रभुको आज्ञापालन गरे र निनवेमा गए। निनवे सहर यति ठूलो थियो कि त्यसलाई हिँडेर वारपार गर्न तीन दिन लाग्थ्यो। 4 योना सहरभित्र पसेर एक दिनको दूरी हिँडेपछि यसो भनी प्रचार गरे, “अबको चालीस दिनमा निनवे नाश पारिनेछ।” 5 निनवेका मानिसहरूले परमेश्वरको वचनमा विश्वास गरे। यसकारण सबैले उपवास बस्नुपर्छ भनी तिनीहरूले पक्का गरे। साना-ठूला सबै मानिसहरूले भाङ्ग्रा लाएर आफूले पश्चात्ताप गरेको प्रकट गरे। 6 निनवेको राजाले यो कुरा सुनेर सिंहासनबाट उठी आफ्ना राजकीय पोशाक फुकाले र भाङ्ग्रा लाएर खरानीमा बसे। 7 उनले यस्तो आदेश निनवेका बासिन्दाहरूलाई पठाए, “यो राजा र भारदारहरूको आज्ञा हो। कसैले केही खानेछैन। सबै मानिसहरू, गाई-गोरुहरू र भेडा-बाख्राहरूलाई खानु वा पिउनु मनाइ छ। 8 सबै मानिसहरू र पशुहरूले भाङ्ग्रा लाउनुपर्छ। सबैले मन लाएर परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र आफ्ना दुर्व्यवहार र कुकर्म त्याग्नुपर्छ। 9 सायद, परमेश्वरले आफ्नो मन बदल्नुहुनेछ र हामीप्रतिको क्रोध थाम्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।” 10 तिनीहरूले गरेका कुरा परमेश्वरले देख्नुभयो। तिनीहरूले आफ्ना दुष्ट काम त्यागेका उहाँले देख्नुभयो। यसर्थ तिनीहरूलाई दण्ड दिने आफ्नो मन बदल्नुभयो। उहाँले तिनीहरूलाई दण्ड दिनुभएन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society