Online Bible

- Reklamy -

योनाको पुस्तक 2 - सरल नेपाली पवित्र बाइबल


योनाको प्रार्थना

1 माछाको पेटभित्रबाट योनाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसरी प्रार्थना गरे:

2 “हे परमप्रभु, मेरो कष्‍टमा मैले तपाईंलाई पुकारें र तपाईंले मलाई उत्तर दिनुभयो। मैले पातालको गहिराइबाट सहायताको निम्‍ति कराएँ र तपाईंले मेरा पुकारा सुन्‍नुभयो।

3 तपाईंले मलाई समुद्रको गहिराइमा, त्‍यसको भित्री तहमा नै फालिदिनुभयो, त्‍यहाँ मलाई पानीले चारैतिरबाट घेर्‍यो, र तपाईंका शक्तिशाली छालहरू ममाथि उर्ले।

4 मैले सोचें कि आफ्‍नो सामुन्‍नेबाट तपाईंले मलाई धपाउनुभयो, र फेरि कहिल्‍यै तपाईंको पवित्र मन्‍दिर देख्‍न पाउनेछैन।

5 ममाथि पानी उर्लेर मेरो सास थुनिदियो, समुद्रले मलाई पूरै ढाक्‍यो, मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए।

6 म पर्वतहरूको फेदीसम्‍मै पुगें पृथ्‍वीमुनि पुगें, जसका ढोकाहरू सदाकालको निम्‍ति थुनिएका हुन्‍छन्। तर हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले मलाई ती गहिरा ठाउँहरूबाट जिउँदै फर्काई ल्‍याउनुभयो।

7 जब मेरो प्राण जाँदै थियो तब हे परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें र तपाईंको पवित्र मन्‍दिरमा मेरो बिन्‍ती तपाईंले सुन्‍नुभयो।

8 ज-जसले व्‍यर्थका मूर्तिहरू पुज्‍दछन्, तिनीहरूले तपाईंको भक्ति गर्न छोडेका छन्।

9 तर म तपाईंको प्रशंसा गाउनेछु, तपाईंलाई बलिदान चढाउनेछु र आफ्‍नो प्रतिज्ञा पूरा गर्नेछु। उद्धार परमप्रभुबाट आउँछ।”

10 तब परमप्रभुले त्‍यो माछालाई समुद्रको किनारमा योनालाई ओकेलिदिन आज्ञा गर्नुभयो र माछाले त्‍यसै गर्‍यो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy