Online Bible

- Reklamy -

यर्मिया 8 - सरल नेपाली पवित्र बाइबल

1 “त्‍यस बेला शत्रुहरूले यहूदाका राजाहरू र भारदारहरूका साथ पूजाहारीहरू, अगमवक्ताहरू र अरू यरूशलेमबासीहरूका हाडहरू चिहानबाट निकाल्‍नेछन्।

2 बटुलेर गाड्‍नुको सट्टा ती हाडहरू जमिनमा मलजस्‍तै पडिरहनेछन्। मानिसहरूले प्रेम गरी सेवा गरेका, सर-सल्‍लाह लिएका र पूजा गरेका घाम, जून र ताराहरूका सामुन्‍ने ती हाडहरू फिंजाइनेछन्।

3 तब यस दुष्‍ट देशका बाँकी रहेका मानिसहरू, जसलाई मैले धपाई पठाएकोले छरिएर बसेका हुन्‍छन्, तिनीहरूले बाँच्‍नभन्दा मर्न नै रुचाउनेछन्। म सर्वशक्तिमान्‌ परमप्रभु बोलेको छु।”


पाप र दण्‍ड

4 परमप्रभु भन्‍नुहुन्‍छ, “तैँले मेरा प्रजालाई यसो भन्, जब कोही मानिस लड्दछ, के त्‍यो झट्ट उठ्दैन? कसैले बाटो बिरायो भने के त्‍यो फर्केर आउँदैन?

5 तर, ए मेरा प्रजा, किन तिमीहरूचाहिँ मबाट तर्केका-तर्केकै हुन्‍छौ र कहिल्‍यै मकहाँ फर्किआउँदैनौ? तिमीहरू आफ्‍ना मूर्तिहरूमा टाँसिरहन्‍छौ र फर्कन इन्‍कार गर्छौ।

6 मैले ध्‍यान दिएर कुरा सुनें, तिमीहरूले साँचो कुरा गर्दै गरेनौ। तिमीहरूमध्‍ये एक जनाले पनि आफ्‍नो दुष्‍ट्याइँको निम्‍ति पश्‍चात्ताप गरेका छैनौ, एक जनाले पनि ‘मैले के दुष्‍ट्याइँ गरें’ भनी सोचेको छैन। घोडा लडाइँमा सोझै कुदेर गएझैँ हरेक आफ्‍नै बाटोमा लागेको लाग्‍यै छौ।

7 सारसले पनि घर फर्कने बेला जान्‍दछ। ढुकुर, गौंथली र कर्‍याङकुरुङ चराले पनि बसाइँ सर्ने समय भएको थाहा पाउँदछन् तर मेरा प्रजाले मेरा शासन विधि जान्‍दैनन्।

8 हामी बुद्धिमान् छौं र परमप्रभुका व्‍यवस्‍थाबारे हामी जान्‍दछौं भनेर कसरी तिमीहरू भन्‍न सक्‍छौ? हेर, बेइमान शास्‍त्रीहरूले व्‍यवस्‍थालाई अदल-बदल गरेका छन्।

9 तिम्रा बुद्धिमान् मानिसहरू लाजमा पारिएका छन्, तिनीहरू अलमलिएका छन् र पासोमा परेका छन्। तिनीहरूले मेरो वचन इन्‍कार गरेका छन्, अब तिनीहरूको बुद्धि कस्‍तो होला?

10 यसकारण म तिनीहरूका स्‍वास्‍नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतबारी अर्कै मालिकहरूलाई दिनेछु। ठूला-साना सबैले अधर्मले धन कमाउन चेष्‍टा गर्दछन्। अगमवक्ता र पूजाहारीहरूले पनि मानिसहरूलाई ठग्‍दछन्।

11 तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरिएजस्तै गरी पट्टी बाँधिदिन्‍छन्। तिनीहरू भन्‍छन्, ‘शान्‍ति, शान्‍ति, सबै ठीक छ’ तर खास सुख-शान्‍ति कहीं पनि छैन।

12 ए मेरा प्रजा, यी घिनलाग्‍दा काम गरेकोमा के तिमीहरूलाई लाज लागेन? अँहँ, तिमीहरू ठ्याम्‍मै लज्‍जित भएनौ। लाज भनेको के कुरा हो, तिमीहरूले जान्‍दै-जानेनौ। यसकारण अरू नाश हुनेहरूझैँ तिमीहरू पनि नाश हुनेछौ। मैले तिमीहरूलाई दण्‍ड दिएको समयमा तिमीहरू नष्‍ट हुनेछौ। म परमप्रभु बोलेको छु।

13 “मानिसहरूले अन्‍न बटुलेझैँ म मेरा प्रजालाई बटुल्‍न चाहन्‍थें तर तिनीहरू दाखबिनाका दाखका बोटहरू र फलबिनाका नेभाराका बोटहरूझैँ छन्। तिनीहरूका पातहरूसमेत सुकिसकेका छन्। यसकारण मैले तिनीहरूलाई जे जति दिएँ, ती सबै तिनीहरूका हातबाट खोसिए।”

14 परमेश्‍वरका प्रजाले सोध्‍छन्, “हामी किन चुप लागेर बसिरहेका छौं? आऔं, हामी दगुरेर सुरक्षित सहरतर्फ जाऔं र त्‍यही मरौं। परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई नाश पार्ने आज्ञा दिनुभएको छ। उहाँले हामीलाई विष पिउन दिनुभएको छ किनभने हामीले उहाँका विरुद्धमा पाप गरेका छौं।

15 हामीले शान्‍तिको आशा राखेका थियौं तर त्‍यसो भएन, निको पारिने समयको बाटो हेरेका थियौं तर एक्‍कासि डर र खतराको समय पो आयो।

16 हाम्रा शत्रुहरू दानको सहरमा आइपुगे, तिनीहरूका घोडा हिंडाएको हामी सुन्‍दछौं। ती घोडाहरू हिन्हिनाउँदा सबै देश थर्कमान हुँदछ। तिनीहरू हाम्रा देश, त्‍यहाँ भएका सबै थोक, हाम्रा सहर र त्‍यहाँका सबै बासिन्‍दाहरू नाश पार्नलाई आएका छन्।”

17 परमप्रभु भन्‍नुहुन्‍छ, “होशियार होओ! म तिमीहरूका बीचमा सर्पहरू पठाउनेछु, विषालु सर्पहरू, जसलाई मन्‍त्र-तन्‍त्रले छुँदैन। तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्।”


आफ्‍नो जातिप्रति यर्मियाको शोक

18 मेरो शोक नमेटिने भएको छ, मेरो हृदय अति व्‍याकुल भएको छ।

19 सुन, सारा देशमा मेरा प्रजाले दु:खले यसरी पुकारा गरिरहेको म सुन्‍दछु, “के परमप्रभु अब सियोनमा हुनुहुन्‍न? के त्‍यहाँका राजा अब छैनन्?” परमप्रभु तिमीहरूका राजाले यस्‍तो उत्तर दिनुहुन्‍छ, “किन मूर्तिपूजा गरेर अनि आफ्‍ना बेकामका बिराना देवतालाई ढोगेर तिमीहरूले मलाई रिस उठाउँछौ?”

20 मानिसहरूले चिच्‍च्‍याई भन्‍दछन्, “गर्मीका दिन बितिसके, कटनीको समय बितिसक्‍यो तर हाम्रो चाहिँ उद्धार भएकै छैन।”

21 मेरो हृदय चुर भएको छ किनभने मेरा मानिसहरू चक्‍नाचुर पारिएका छन्। म विलाप गर्दछु। म पूरै हतास भएको छु।

22 के गिलादमा कुनै मलम छैन? कोही वैद्य त्‍यहाँ छैन त? किन मेरा मानिसहरू निको भएका छैनन् त?

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy