यर्मिया 45 - सरल नेपाली पवित्र बाइबलबारूकलाई परमेश्वरको प्रतिज्ञा 1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा बारूकले उनलाई मैले भनेका कुरा कागजको मुट्ठोमा लेखे। 2 त्यसपछि परमप्रभु इस्राएलका परमेश्वरका यी वचन मैले उनलाई सुनाएँ, “बारूक, 3 तैँले यसो भन्दै छस्, ‘हाय! परमप्रभुले मेरो कष्टमाथि विलाप थपिदिनुभयो। पीडाले कराउँदा-कराउँदा म थाकिसकें, मैले कतै पनि विश्राम पाउँदिनँ!’ 4 “तर म परमप्रभुले जे आफूले बनाएको छु, त्यो भत्काइरहेछु र जे मैले रोपेको छु, त्यो उखेलिरहेको छु। सारा देशलाई म त्यसो गर्नेछु। 5 के तँचाहिँ आफ्नो निम्ति केही विशेष कुरो खोज्दै छस्? त्यसो नगर। म सारा मानवजातिमाथि विनाश ल्याउँदै छु तर तैँले ‘चाहिँ जहाँ गए पनि आफ्नो ज्यान जोगाइराख्नेछस्। म परमप्रभु बोलेको छु।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society