Online Bible

- Reklamy -

यर्मिया 44 - सरल नेपाली पवित्र बाइबल


मिश्रमा भएका इस्राएलीहरूलाई परमप्रभुको सन्‍देश

1 मिश्रका मिग्‍दोल, तहपनेस र नोप सहरहरू र त्‍यस देशका दक्षिणी भागमा बसोबास गर्ने सबै इस्राएलीहरूबारे परमप्रभु मसँग बोल्‍नुभयो।

2 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभयो, “यरूशलेम र यहूदाका अरू सबै सहरहरूमाथि मैले ल्‍याएको विनाश तैँले आफ्‍नै आँखाले देखिस्। अहिले पनि ती सहरहरू ध्‍वस्‍त छन् र त्‍यहाँ कोही मानिस बस्‍दैन

3 किनभने त्‍यहाँका मानिसहरूले दुष्‍ट काम गरेर मलाई रिस उठाएका थिए। तिनीहरूले अन्‍य देवताहरूलाई बलि चढाए र आफूले वा तैँले वा तिमीहरूका पुर्खाहरूले नपुजेका देवी-देवताहरूको सेवा गरे।

4 मैले तिमीहरूकहाँ मेरा सेवक अगमवक्ताहरूलाई पठाइरहें, जसले तिमीहरूलाई मैले घृणा गरेका डरलाग्‍दा कुराहरू नगर्नू भनें।

5 तर तिमीहरूले मेरो कुरा सुनेनौ, त्‍यसमा ध्‍यानै दिएनौ। अन्‍य देवताहरूलाई बलि चढाउने तिमीहरूको दुष्‍ट चाल तिमीहरूले छाडेनौ।

6 यसकारण मैले आफ्‍नो रिस र प्रचण्‍ड क्रोध यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा खन्‍याएँ र तिनीहरूमा डढेलो लगाइदिएँ। तिनीहरूलाई ध्‍वस्‍त पारी छाडिराखें। आज पनि तिनीहरूको दशा त्‍यस्‍तै छ।

7 “यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तिमीहरूलाई अहिल्‍यै सोध्‍दछु कि किन तिमीहरू आफैंमाथि सर्वनाश ल्याउछौ? के तिमीहरू पुरुषहरू र स्‍त्रीहरू, केटाकेटीहरू र स-साना बच्‍चाहरूमाथि विनाश ल्‍याउन चाहन्‍छौ र के एउटै नबाँची तिमीहरू नाश हुन चाहन्‍छौ?

8 तिमीहरू बास गर्न आएको मिश्रदेशमा तिमीहरूले किन आफ्‍नो हातले बनाएका मूर्तिलाई पूजा गरी अन्‍य देवताहरूलाई बलि चढाएर मलाई रिस उठाउँछौ? के आफैं नाश हुन, पृथ्‍वीमा सबै जातिहरूद्वारा घृणा गरिन र आफ्‍नो नाम सरापको रूपमा प्रयोग भएको हेर्न तिमीहरूले त्‍यसो गर्दै छौ?

9 के तिम्रा पुर्खाहरू, यहूदाका राजा र रानीहरू अनि तिमीहरू र तिम्रा स्‍वास्‍नीहरूद्वारा यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा गरिएका दुष्‍ट कर्महरू तिमीहरूले बिर्स्‍यौ?

10 तर आजसम्‍म तिमीहरू नम्र बनेका छैनौ। तिमीहरूले मेरो आदर गरेका छैनौ, नत मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएका नियमअनुसार जीवन बिताएका छौ।

11 “यसर्थ अब म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तिमीहरूका विरुद्धमा खडा हुनेछु र सम्‍पूर्ण यहूदालाई नाश गर्नेछु।

12 यहूदामा छोडिएका बाँकी मानिसहरू, जसले मिश्रमा गई बसोबास गर्ने पक्‍का इच्‍छा गरेका छन्, तिनीहरूचाहिँ सबै नाश हुनेछन्। तिनीहरू ठूला-साना सबै मिश्रमा मर्नेछन्, अनिकाल कि लडाइँमा मर्नेछन्। तिनीहरूलाई हेर्दा तिनीहरूको दशा डरलाग्‍दो देखिनेछ। तिनीहरूलाई गिल्‍ला र घृणा गरिनेछ। अनि तिनीहरूको नाम सरापको रूपमा प्रयोग गरिनेछ।

13 जसरी मैले यरूशलेमलाई दण्‍ड दिएको थिएँ, त्‍यसरी नै मिश्रमा बसोबास गर्नेहरूलाई म लडाइँ, अनिकाल र रुढी पठाएर दण्‍ड दिनेछु।

14 यहूदामा छोडिएका बाँकी मानिसहरू, जो मिश्रमा बसोबास गर्न आएका छन्, कोही पनि उम्‍कने वा बाँच्‍नेछैनन्। तीमध्‍ये एक जना पनि यहूदामा फर्कनेछैन, जहाँ तिनीहरू फेरि एक पल्‍ट बसोबास गर्न चाहन्‍छन्। मिश्रबाट भाग्‍ने थोरै मानिसहरूबाहेक अरू कोही फर्कनेछैनन्।”

15 तब सबै मानिसहरू (जसले जान्‍दथे कि तिनीहरूका स्‍वास्‍नीहरूले अन्‍य देवताहरूलाई बलि चढाएका थिए) र त्‍यहाँ खडा भएका अरू सबै स्‍त्रीहरू साथै दक्षिणी मिश्रमा बास गर्ने इस्राएलीहरूको एउटा ठूलो भीडले मलाई भन्‍यो,

16 “तपाईंले परमप्रभुको नाममा भनेका कुरा हामी मान्‍नेछैनौं।

17 हामीले गर्छौं भनेका सबै थोक हामी गर्नेछौं। स्‍वर्गकी रानी हाम्री देवीलाई हामी त्‍यसरी नै बलि चढाउनेछौं र हाम्रो अर्धबलि पनि चढाउनेछौं, जसरी हामी र हाम्रा पुर्खा, राजा र अगुवाहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाउने गर्थ्यौं। त्‍यति बेला हामीसित प्रसस्‍त खानेकुरा थियो, हाम्रो फलिफाप भएको थियो र हामीलाई दु:ख-कष्‍ट थिएन।

18 तर हामीले स्‍वर्गकी रानी देवीलाई बलिदान र मद्यबलि चढाउन छोडेदेखि हामीले केही पाएका छैनौं तर हाम्रा मानिसहरू लडाइँ र अनिकालमा मरेका छन्।”

19 कुरा थप्‍दै स्‍त्रीहरूले यसो भने, “जब हामी स्‍वर्गकी रानीको आकारमा फुरौला बनाउँथ्‍यौं र तिनलाई बलिदान र मद्यबलि चढाउँथ्‍यौं, तब हामीले गरेका सबै काममा आफ्‍ना लोग्‍नेको सहमति पाउँथ्‍यौं।”

20 तब मलाई त्‍यसरी जवाफ दिने पुरुषहरू र स्‍त्रीहरू सबैलाई मैले भनें,

21 “तिमीहरू, तिमीहरूका पुर्खाहरू, राजाहरू र अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा बलिदानहरू चढाउँथे– तिनका बारेमा के तिमीहरू परमप्रभुलाई केही थाहा थिएन भन्‍ठान्‍छौ?

22 आजको दिन तिमीहरूको देश ध्‍वस्‍त भएर पडिरहेको छ र कोही पनि त्‍यहाँ बास गर्दैन। त्‍यसको दशा डरलाग्‍दो छ। मानिसहरूले त्‍यसको नाम सरापको रूपमा प्रयोग गर्छन् किनभने परमप्रभुले तिमीहरूका दुष्‍ट र पापी कामहरू अरू बढी सहन सक्‍नुहुन्‍न।

23 तिमीहरूले अन्‍य देवताहरूलाई बलिदान चढाएका र परमप्रभुको आज्ञापालन नगरी उहाँको विरुद्धमा पाप गरेका हुनाले यो अहिलेको विपत्ति तिमीहरूमाथि आएको हो।”

24-25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वरले यहूदाबाट आएर मिश्रमा बसोबास गर्ने मानिसहरूलाई के भन्‍दै हुनुहुन्‍थ्‍यो, ती वचन मैले ती मानिसहरू र विशेषगरी ती स्‍त्रीहरूलाई सुनाएँ, “तिमीहरू र तिमीहरूका स्‍वास्‍नीहरूले स्‍वर्गको रानीसित गम्‍भीर प्रतिज्ञा गरेका छौ। तिमीहरूले उसलाई बलिदान र मद्यबलिहरू चढाउने प्रतिज्ञा गर्‍यौ र त्यो पूरा गर्दैआयौ। ठीकै छ, त्‍यसै गर! प्रतिज्ञा पूरा गर!

26 तर मिश्रदेशमा बस्‍ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्‍नुहुन्‍छ: मेरो महान् नाउँमा म शपथ खाँदै छु कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि ‘जीवित सार्वभौम परमप्रभु परमेश्‍वरलाई साक्षी राखी’ भनी शपथ खाँदै कहिल्‍यै मेरो नाउँमा पुकार गर्नेछैन।

27 तिमीहरूको फलिफाप होइन तर नाश भएको म हेर्ने नै छु। तिमीहरू मिश्रमा भएका यहूदी सबै लडाइँ र रुढीले मर्नेछौ र एक जना पनि जिउँदो छोडिनेछैनौ।

28 तर तिमीहरूमा थोरै मात्र मृत्‍युबाट उम्‍केर मिश्रबाट यहूदामा फर्कनेछौ। तब ती बाँचेर फर्कनेहरूले कसको कुरा– मेरो कि तिनीहरूको– साँचो रहेछ, त्‍यो बुझ्‍नेछन्।

29 म तिमीहरूलाई यो देशमा दण्‍ड दिनेछु र तिमीहरूमाथि विनाश ल्‍याउनेछु, मेरो प्रतिज्ञा पूरा गर्छु भन्‍ने कुराको प्रमाण म परमप्रभुले तिमीहरूलाई दिनेछु।

30 जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्‍यसलाई मार्न खोज्‍ने त्‍यसको शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा दिएको थिएँ, त्‍यसरी नै मिश्रको राजा होप्रालाई पनि म त्‍यसको ज्‍यान लिन खोज्‍ने त्‍यसकै शत्रुको हातमा दिनेछु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy