यर्मिया 43 - सरल नेपाली पवित्र बाइबलयर्मिया मिश्रमा लगिन्छन् 1 परमप्रभु तिनीहरूका परमेश्वरले जति कुरा भन्न मलाई पठाउनुभएको थियो, ती मैले मानिसहरूलाई भनिसकें। 2 तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र अरू सबै अहङ्कारी मानिसहरूले मलाई यसो भने, “तपाईंले झूटो कुरा भन्दै हुनुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मिश्रमा बसोबास गर्न नजान भन्न तपाईंलाई पठाउनुभएको होइन। 3 तर बेबिलोनीहरूले हामीलाई मारून् वा बेबिलोनमा कैद गरी लैजाऊन् भनी नेरियाहको छोरो बारूकले तपाईंलाई हाम्रो विरुद्धमा उठाएको हो।” 4 यसरी यहूदी देशमा बास गर्नू भन्ने परमप्रभुको आज्ञा मान्न योहानान, फौजका अधिकृतहरू तथा अरू कुनै मानिसहरू पनि तयार भएनन्। 5 तब योहानान र फौजका अधिकृतहरू सबैले मिलेर यहूदामा रहेका बाँकी मानिसहरू सबैलाई मिश्रमा लगे। तितरबितर भई जाति-जातिबाट फर्किआएका सबै 6 पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरूलाई पनि तिनीहरूका साथमा लगे। सेनापति नबूजरदानले गदल्याहका जिम्मामा छोडिएको हरेकलाई म र बारूकसमेत तिनीहरूले लगे। 7 तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन् र मिश्रको तहपनेस सहरसम्म पुगे। 8 त्यहाँ परमप्रभुले मलाई भन्नुभयो, 9 “केही ठूल्ठूला ढुङ्गाहरू ले र सहरमा सरकारी भवनका ढोका अघिको बाटोमा छापेका इँटामुनिको माटोमा केही इस्राएलीहरूले हेरेको बेलामा गाडिराख्। 10 त्यसपछि तिनीहरूलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु इस्राएलीका परमेश्वर मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई यस ठाउँमा ल्याउनेछु र उसले यी तैँले गाडेका ढुङ्गाहरूमाथि आफ्नो सिंहासन बसाल्नेछ र राजपत्र फैलाउनेछु। 11 नबूकदनेसर आएर मिश्रलाई जित्नेछ। जसले रुढीबाट मर्नुछ, ती रुढीले मर्नेछन्, जो कैदमा लगिनुछ, ती कैदमा जानेछन् र जसले लडाइँमा मारिनुछ, ती लडाइँमा मर्नेछन्। 12 मिश्रका देवी-देवताका मन्दिरहरूमा उसले आगो लगाइदिनेछ र ती देवताका मूर्तिहरू हात पारी कति जलाउनेछ र कति आफूसित लैजानेछ। गोठालोले आफ्नो वस्त्र उठाएर पहिरिएझैँ बेबिलोनका राजाले मिश्रदेश पहिरेर एउटै चोट नपाई फर्कनेछ। 13 उसले मिश्रमा भएका हेलिओपोलिसका पत्थरका स्मारक स्तम्भहरू नाश गर्नेछ र मिश्री देवी-देवताका मन्दिरहरू आगोले भस्म पार्नेछ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society