Online Bible

- Reklamy -

यर्मिया 40 - सरल नेपाली पवित्र बाइबल


यर्मिया गदल्‍याहसित बस्‍छन्‌

1 सेनापति नबूजरदानले मलाई रामामा छोडिदिएपछि परमप्रभु मसित बोल्‍नुभयो। बेबिलोनतिर कैद गरी लगिएका यरूशलेमका र यहूदाका अरू मानिसहरूसित साङ्लाले बाँधेर लगिएको अवस्‍थामा तिनले मलाई भेट्टाएका थिए।

2 सेनापतिले मलाई एकापट्टि लगेर भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस देशलाई विनाश गर्नेछु भनी फैसला गर्नुभएको थियो

3 अनि अहिले त्‍यो गरिसक्‍नुभयो। तिम्रा मानिसहरूले परमप्रभुका विरुद्धमा पाप गरेका र उहाँको आज्ञा भङ्ग गरेका हुनाले यी सबै भएको हो।

4 अब म तिम्रा हातबाट साङ्ला फुकालेर तिमीलाई छोडिदिंदै छु। तिमी मसित बेबिलोनमा जान चाहन्‍छौ भने हिंड, म तिम्रो रेखदेख गर्नेछु। तर जान चाहन्‍नौ भने तिमीलाई कर छैन। सारा देश तिम्रो सामुन्‍ने छ, तिमीलाई जहाँ जान मन लाग्‍छ, त्‍यहाँ जान सक्‍छौ।”

5 मैले केही जवाफ दिइनँ र नबूजरदानले भने, “अहीकामका छोरा शापानको नाति गदल्‍याहकहाँ फर्किजाऊ। तिनलाई बेबिलोनका राजाले यहूदाका सहरहरूका बडा-हाकिम खटाएका छन्। तिमी तिनीकहाँ गएर आफ्‍ना मानिसहरूका माझमा बस्‍न सक्‍छौ वा तिम्रो जहाँ जाने विचार हुन्‍छ, त्‍यहाँ जान सक्‍छौ।” तब तिनले मलाई एउटा उपहार र केही भोजन साथमा लैजान दिए र बिदा गरे।

6 म गदल्‍याहकहाँ बस्‍न मिस्‍पामा गएँ र त्‍यहाँ छोडिएका मानिसहरूमाझ बस्‍न थालें।


यहूदाका बडा-हाकिम गदल्‍याह
( २ राजा २५:२२-२४ )

7 यहूदाका कोही-कोही अधिकृत र सिपाहीहरूले आफूलाई बेबिलोनीका हातमा समर्पण गरेका थिएनन्। तिनीहरूले सुने कि बेबिलोनका राजाले गदल्‍याहलाई देशका बडा-हाकिम खटाएर बेबिलोनमा कैद गरी नलगिएका देशका सबैभन्दा गरीब जन-समूहका अधिकारी बनाएका छन्।

8 यसकारण नतन्‍याहका छोरा इश्‍माएल, कारेहका छोरा योहानान, तन्‍हूमेतका छोरा सरायाह, नतोपामा बास गर्ने एफैका छोराहरू र माकामा बास गर्ने याजन्‍याह आ-आफ्‍ना मानिसहरू सँगै लिई गदल्‍याहकहाँ मिस्‍पामा आए।

9 गदल्‍याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई आफ्‍नो वचन दिंदछु कि तिमीहरूले आफैंलाई बेबिलोनीहरूका हातमा समर्पण गर्ने कुरामा केही डर मान्‍नुपर्दैन। यस देशमा बसोबास गरेर बेबिलोनियाका राजाको सेवा गर र सबै कुरामा तिमीहरूको भलाइ हुनेछ।

10 म आफैं मिस्‍पामा बस्‍नेछु र जब बेबिलोनीहरू यहाँ आउनेछन्, तब म तिमीहरूका प्रतिनिधि हुनेछु। तर तिमीहरूले दाखमद्य, फल-फलाहार र जैतुनको तेल जम्‍मा गर्न सक्‍नेछौ र आफूले छानेका गाउँमा बसोबास गर्न सक्‍नेछौ।”

11 त्‍यही बेला मोआब, अम्‍मोन, एदोम र अरू देशहरूमा बास गर्ने इस्राएलीहरूले बेबिलोनका राजाले केही इस्राएलीहरूलाई यहूदामा रहन दिएका छन् र गदल्‍याहलाई तिनीहरूका बडा-हाकिम बनाएका छन् भनी सुने।

12 यसकारण आफू तितरबितर भई बसेका ठाउँहरू तिनीहरूले छोडे र यहूदामा फर्किआए। तिनीहरू मिस्‍पामा गदल्‍याहकहाँ आए र त्‍यहाँ तिनीहरूले धेरै दाखमद्य र फलफूल जम्‍मा गरे।


गदल्‍याहको हत्‍या
( २ राजा २५:२५-२६ )

13 त्‍यसपछि बेबिलोनीहरूका हातमा आफूलाई समर्पण नगरेका योहानान र फौजका कप्‍तानहरू मिस्‍पामा गदल्‍याहकहाँ आएर भने,

14 “अम्‍मोनका राजा बालीसले तपाईंको हत्‍या गर्न इश्‍माएललाई पठाएका छन् भनी के तपाईंलाई थाहा छैन?” तर गदल्‍याहले त्‍यो कुरो पत्‍याएनन्।

15 तब योहानानले एकान्‍तमा तिनलाई भने, “मलाई छोडिदिनुहोस् र म गई इश्‍माएललाई मार्नेछु। हत्‍या कसले गर्‍यो, त्‍यो कसैले थाहा पाउनेछैन। त्‍यसलाई किन तपाईंको ज्‍यान लिन दिने? त्‍यसो भयो भने त तपाईंका वरिपरि भेला भएका यहूदीहरू फेरि तितरबितर हुनेछन् र यहूदामा बाँकी रहेका सबै मानिसहरूमाथि विनाश आउनेछ।”

16 तर गदल्‍याहले तिनलाई भने, “त्‍यसो नगर! इश्‍माएलको बारेमा तिमी जे भन्‍दै छौ, त्‍यो साँचो होइन।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy