यर्मिया 4 - सरल नेपाली पवित्र बाइबलपश्चात्ताप गर्न आह्वान 1 परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरू फर्किआउन चाहन्छौ भने मकहाँ फर्किआओ। तिमीहरूले ती घिनलाग्दा मूर्तिहरू मेरो सामुन्नेबाट हटायौ र मप्रति विश्वासयोग्य भयौ भने, 2 यदि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित परमप्रभुलाई साक्षी राखी’ शपथ खायौ भने जाति-जातिहरूले उहाँद्वारा आशिष् पाउनेछन् अनि उहाँमा नै तिनीहरूले गर्व गर्नेछन्।” 3 यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूले आफ्नो बाँझो जमिन जोत र काँडाहरूका बीच बीउ नछर। 4 हे यहूदा र यरूशलेमका मानिसहरू हो, परमप्रभुसँग बाँधेको करारको चिन्ह अथवा खतना फेरि लगाओ तर यो चिन्ह हृदयमा लगाओ। होइन भने त तिमीहरूका दुष्कर्महरूले गर्दा मेरो क्रोध आगोझैँ दन्कनेछ र कसैले त्यसलाई निभाउन सक्नेछैन।” यहूदामाथि आक्रमणको डर 5 सारा देशमा तुरही बजाओ! स्पष्ट र चर्को सोरले कराओ! यहूदाका र यरूशलेमका मानिसहरूलाई, “पर्खाल लाएका सहरमा भागेर जाओ,” भन। 6 सियोनतिर जाने बाटो देखाओ! ढीलो नगरी सुरक्षाको निम्ति भागेर जाओ। परमप्रभुले विनाश ल्याउँदै हुनुहुन्छ, उत्तरतिरबाट ठूलो सर्वनाश आउँदै छ। 7 गुफाबाट निस्केको एउटा सिंहझैँ जाति-जातिहरूलाई सर्वनाश गर्न निस्केको छ। त्यो यहूदा सहरहरू नाश पार्न आइरहेको छ। यहूदाका सहरहरू नष्ट हुनेछन् र त्यहाँ कोही पनि बास गर्नेछैन। 8 भाङ्ग्राका लुगा लगाओ, रोओ र विलाप गर किनभने परमप्रभुको डरलाग्दो क्रोध यहूदाबाट हटेको छैन। 9 परमप्रभुले भन्नुभयो, “त्यस दिन राजा र भारदारहरूले आफ्ना साहस हराउनेछन्, पूजाहारीहरूले अत्यास मान्नेछन् र अगमवक्ताहरू अकमक्क पर्नेछन्।” 10 तब मैले भनें, “सार्वभौम परमप्रभु, तपाईंले यरूशलेमका मानिसहरूलाई पूरा छल्नुभएछ! तपाईंले तिनीहरूलाई शान्ति हुनेछ भन्नुभएको थियो तर तिनीहरूका घाँटीमा तरवार तेर्सिएको छ।” 11 त्यस बेला यरूशलेमका बासिन्दाहरूले सुन्नेछन् कि एउटा पोल्ने बतास तिनीहरूतिर मरुभूमिबाट बहिआउँदैछ। त्यो भुस मात्र उडाई लैजाने हल्का बतास होइन, 12 तर परमप्रभुको आज्ञाले बहिआउने त्यो बतास औधी प्रबल हुनेछ। आफ्ना प्रजामाथि त्यो दण्डको आज्ञा परमप्रभु आफैंले सुनाउँदै हुनुहुन्छ। यहूदालाई शत्रुहरूले घेरेका 13 हेर, शत्रु बादलझैँ आउँदै छ। त्यसका लडाइँका रथहरू आँधी-बेहरीझैँ आउँछन् र त्यसका घोडाहरू चिलहरूभन्दा तेज दगुर्छन्। हाय, हामी खतम भयौं! हामी नाश भयौं! 14 ए यरूशलेम, दुष्ट कुराहरू तेरा हृदयबाट पखाली फ्याँक् र तँ बचाइनेछस्। कहिलेसम्म तेरो हृदयमा दुष्ट सोच-विचारहरू राखिछोड्छस्? 15 दान सहर र एफ्राइमका डाँडाहरूबाट खबर ल्याउने मानिसहरूले एउटा विपत्तिका खबर सुनाउँदै छन्। 16 टाढा देशबाट शत्रुहरू आउँदै छन् भनी यरूशलेमका बासिन्दाहरूलाई र जाति-जातिहरूलाई चेतावनी दिन तिनीहरू आएका छन्। यी शत्रुहरू यहूदाका सहरहरूको विरोधमा कराउनेछन्। 17 मानिसहरूले बारी रुँगेझैँ यी शत्रुहरूले यरूशलेमलाई घेर्नेछन् किनभने त्यहाँका मानिसहरूले परमप्रभुको विरोध गरेका छन्। परमप्रभु बोल्नुभएको छ। 18 ए यहूदा, तेरा चाल र कर्मले यो कुरा तैँले आफैंमाथि ल्याइस्। तेरो पापले तँमाथि यो कष्ट ल्याएको हो, त्यसले तेरो मुटु छेडेको छ। आफ्ना मानिसहरूका निम्ति यर्मियाको शोक 19 पीडा, म यो पीडा सहन सक्दिनँ! मुटु! मेरो मुटु जोडले ढुकढुक भइरहेछ! म चुपचाप बस्न सक्दिनँ; म तुरहीको आवाज र लडाइँको कोलाहल सुन्दछु। 20 एउटा विनाशपछि अर्को विनाश आउँछ, सारा देश नै उजाड पारिन्छ। अचानक हाम्रा पालहरू नाश पारिन्छ; तिनीहरूका पर्दाहरू च्यातिएर टुक्रा-टुक्रा पारिन्छन्। 21 कहिलेसम्म मैले लडाइँ चर्केको हेर्नुपर्ने र तुरहीहरू बजेका सुन्नुपर्ने हो? 22 परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजा मूर्ख छन्; तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू बुद्धिबिनाका बालकहरूझैँ छन्; तिनीहरूको समझ-शक्ति नै छैन। तिनीहरू दुष्ट काम गर्न सिपालु छन्, तर तिनीहरू भलाइ गर्न चुक्दछन्।” यर्मियाले विनाशको दर्शन देख्छन् 23 मैले पृथ्वीलाई हेरें, त्यो रित्तो थियो; मैले आकाशलाई हेरें, त्यहाँ रत्तिभर उज्यालो थिएन। 24 मैले पर्वतहरूलाई हेरें, ती हल्लिरहेका थिए र डाँडाहरूले यताउति धक्का दिइरहेका थिए। 25 मैले हेरें र त्यहाँ कोही मानिसहरू नै थिएनन्, आकाशका पंक्षीहरू पनि उडेर गइसकेका थिए। 26 मलिलो भूमि मरुभूमि भयो, सहरहरू विनाश भए, परमप्रभुको प्रचण्ड क्रोधको कारणले नाश भए। 27 परमप्रभुले भन्नुभएको छ, “म सारा पृथ्वीलाई उजाड पार्नेछु तर त्यसको पूरै त नाश गर्नेछैनँ।” 28 पृथ्वीले विलाप गर्नेछ; आकाश अँध्यारो हुनेछ। “मैले बोलेको छु र मेरो मन बदल्नेछैन। मैले फैसला गरेको छु र मेरो फैसला बदर हुनेछैन।” 29 घोडचढी र धनुर्धारीहरूको सोर सुनेर सबै भाग्नेछन्। कोही बनतिर भाग्नेछन्, अरूहरू चट्टानमाथि चढ्नेछन्, सबै सहरहरू खाली हुनेछन्, फेरि त्यहाँ कोही पनि बस्नेछैन। 30 हे यरूशलेम तेरो विनाश हुनेछ! किन तैँले रातो पोशाक पहिरन्छस्? किन तैँले गर-गहना लाउछस्? आँखामा गाजल लगाउँछस्? कसको निम्ति तैँले आफैंलाई व्यर्थै सिङ्गार गर्छस्। तेरा प्रेमीहरूले तँलाई त्यागेका छन् र तँलाई मार्न चाहन्छन्। 31 व्यथा लागेकी सुत्केरीजस्तो चित्कार पहिलो बच्चा जन्माउने स्त्रीको जस्तो वेदनाको स्वर म सुन्दछु। स्वाँ-स्वाँ गर्दै आफ्ना हात फैलाएर यरूशलेमले यसो भनिरहेको म सुन्दछु, हाय, म नाश भएकी छु! तिनीहरू मलाई मार्न आइरहेछन्!” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society