Online Bible

- Reklamy -

यर्मिया 39 - सरल नेपाली पवित्र बाइबल


यरूशलेमको पतन

1 सिदकियाह यहूदाका राजा भएको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेना लिएर आए र यरूशलेममाथि आक्रमण गरे।

2 सिदकियाहको राज्‍यकालको एघारौं वर्षको चौथो महिनाको नवौं दिनमा सहरका पर्खालहरू तोडिए।

3 (तब बेबिलोनका राजाका ठूल्‍ठूला भारदारहरू सबै आए र बीचको मूल-ढोकानिर आ-आफ्‍नो ठाउँमा बसे। तीमध्‍ये नेर्गल-सरेसर, सम्‍गर, सर्सेकिम र अर्को एक जना नेर्गल-सरेसर थिए।)

4 जब सिदकियाह राजा र तिनका सबै सेनाले के भइरहेछ भन्‍ने देखे, तिनीहरूले राती नै सहरबाट भाग्‍ने चेष्‍टा गरे। तिनीहरू राजाको बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट छिरी यर्दनको बेसीतर्फ लागे।

5 तर बेबिलोनी सेनाले तिनीहरूलाई खेदे र यरीहोको मैदाननिर सिदकियाहलाई फेला पारे। त्‍यसपछि तिनीहरूले तिनलाई नबूकदनेसर राजाकहाँ पुर्‍याए। नबूकदनेसर हामान देशको रिबला भन्‍ने सहरमा थिए र त्‍यहाँ तिनले सिदकियाहमाथि आफ्‍नो फैसला सुनाए।

6 रिबलामा सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरूलाई नबूकदनेसरले मारे र यहूदाका भारदारहरूलाई पनि मारे।

7 त्‍यसपछि तिनले सिदकियाहका आँखा निकाल्‍न लाए र बेबिलोनमा लैजान काँसाको साङ्लाले बाँध्‍न लाए।

8 त्‍यही बेला बेबिलोनीहरूले राजमहल र मानिसहरूका घरहरू आगाले जलाइदिए र यरूशलेमका पर्खालहरू भत्‍काइदिए।

9 अन्‍तमा बेबिलोनका सेनापति नबूजरदानले सहरमा छोडिएका बाँकी मानिसहरू र भागेर तिनीहरूकहाँ आएका मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे।

10 तर आफूसित केही पनि नभएका गरीब मानिसहरूलाई नबूजरदानले खेत र दाखबारीहरू दिएर यहूदा देशमा छोडिराखे।


यर्मियाको छुटकारा

11 तर नबूकदनेसर राजाले सेनापति नबूजरदानलाई यस्‍तो उर्दी जारी गर्न लाए,

12 “गएर यर्मियालाई ल्‍याऊ र राम्ररी उसको हेरचाह गर। उसलाई कुनै हानि नगर्नू र उसले भनेअनुसार सबै कुरा गरिदिनू।”

13 यसकारण नबूजरदानले उच्‍च अधिकारी नबुशजबान, नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू भारदारहरूसित मिलेर

14 मलाई राजमहलको चोकबाट निकाली ल्‍याए। अनि मलाई अहीकामका छोरा शापानका नाति गदल्‍याहको जिम्‍मामा दिए। मलाई कुशलसाथ घर पुर्‍याउने काम नदल्‍याहलाई दिइयो। यसरी म त्‍यहाँ आफ्‍ना मानिससित रहें।


एबेद-मेलेकको आशा

15-16 राजमहलको चोकमा थुनिएकै बेलामा परमप्रभुले कूशी एबेद-मेलेकलाई यसो भन्‍न मलाई आदेश गर्नुभयो, “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ कि मैले भनेअनुसार म यस सहरमा विनाश ल्‍याउनेछु, फलिफाप होइन। त्‍यसो हुँदा त्‍यो तेरै आँखाले देख्‍नेछस्।

17 तर म परमप्रभुले तेरो रक्षा गर्नेछु र जुन मानिसहरूको तँ डर मान्‍छस्, तिनीहरूका हातमा तँ पर्नेछैनस्।

18 तँलाई म सुरक्षित राख्‍नेछु र तँ मारिनेछैनस्। आफ्‍नो प्राण जोगाएर उम्‍कनेछस् किनभने तैँले आफ्‍नो भरोसा ममाथि राखेको छस्। म परमप्रभु बोलेको छु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy