Online Bible

- Reklamy -

यर्मिया 38 - सरल नेपाली पवित्र बाइबल


सुख्‍खा इनारमा यर्मिया हालिएका

1-2 मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले परमप्रभुका यी वचन मैले मानिसहरूलाई भनेको सुनें, “जो यो सहरमा बस्‍छ, त्‍यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ। तर जसले गएर बेबिलोनीहरूको शरण लिनेछ, त्‍यो मारिनेछैन, त्‍यो ज्‍यान बचाएर उम्‍कनेछ।”

3 परमप्रभुका यी वचन पनि मैले तिनीहरूलाई भन्‍दै थिएँ, “म यो सहर बेबिलोनका सेनाका हातमा दिने नै छु र तिनीहरूले यसलाई कब्‍जा गर्नेछन्।”

4 तब राज-भारदारहरूले राजाकहाँ गएर भने, “यो मानिस मारिनैपर्छ। यस प्रकारका कुरा गरेर यसले सहरका सिपाहीहरूका साहस कमजोर पारिदिंदै छ र सहरमा रहेका अरू मानिसहरूका बीचमा पनि उसले त्‍यस्‍तै गर्दै छ। उसले मानिसहरूको भलो गर्ने काम गरेको छैन तर तिनीहरूको खति गर्न मात्र चाहन्‍छ।”

5 सिदकियाह राजाले जवाफ दिए, “लौ हुन्‍छ, उसलाई जस्‍तो मनलाग्‍छ त्‍यस्‍तै गर, म तिमीहरूलाई रोक्‍न सक्‍दिनँ।”

6 अनि तिनीहरूले मलाई लगेर राजकुमार मल्‍कियाहको इनारमा डोरीले सुर्काएर खसालिदिए। त्‍यो इनार राजदरबारको चोकमा थियो। त्‍यसमा पानी थिएन, खालि हिलो मात्र थियो र म हिलोमा भासिएँ।

7 तथापि राजदरबारमा काम गर्ने एउटा कूशी नपुंसक एबेद-मेलेकले मलाई इनारमा फालेको कुरा सुने। त्‍यस बेला राजाले बेन्‍यामीन मूल-ढोकामा आसन लिएका थिए।

8 एबेद-मेलेक त्‍यहाँ गए र राजालाई भने,

9 “हे राजन्, यी मानिसहरूले दुष्‍ट काम गरेका छन्। यिनीहरूले यर्मियालाई इनारमा फालेका छन्। त्‍यो त्‍यहाँ निश्‍चय भोकले मर्नेछ किनभने अब सहरमा रोटी छँदैछैन।”

10 तब राजाले एबेद-मेलेकलाई तीन जना मानिसहरू लिएर आई म मर्नुअघि मलाई इनारबाट बाहिर निकाल्‍ने आज्ञा गरे।

11 यसकारण मानिसहरू लिएर एबेद-मेलेकले राजमहलको भण्‍डारमा गई केही पुराना लुगाहरू लिए अनि ती लुगाहरू डोरीले बाँधेर मकहाँ खसालिदिए।

12 डोरीले मलाई नबिजाओस् भनेर ती पुराना लुगाहरू मेरा काखीमुनि राख्‍नू र डोरी लाउनू भनी एबेद-मेलेकले मलाई भने। मैले त्‍यसै गरें।

13 डोरीले मलाई इनारबाट उँभो तानेर निकाले। त्‍यसपछि मलाई चोकमा राखे।


सिदकियाहले यर्मियाको सल्‍लाह लिन्‍छन्

14 एक दिन सिदकियाह राजाले मलाई मन्‍दिरको तेस्रो ढोकामा बोलाउन पठाए र त्‍यहाँ मलाई भेटेर भने, “म तिमीलाई एउटा कुरा सोध्‍छु, मबाट केही कुरा नलुकाऊ।”

15 यर्मियाले सिदकियालाई भने, “मैले तपाईंलाई साँचो कुरा बताएँ भने तपाईंले मेरो ज्‍यान लिनुहुनेछ अनि मैले केही सर-सल्‍लाह दिएँ भने पनि तपाईंले सुन्‍नुहुनेछैन।”

16 सिदकियाह राजाले गुप्‍तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई जीवन दिनुभयो, उहाँलाई साक्षी राखी म वचन दिंदछु, म तिमीलाई मार्नेछैनँ न त तिम्रो ज्‍यान लिन खोज्‍ने मानिसहरूका हातमा तिमीलाई सुम्‍पनेछु।”

17 तब मैले सिदकियाहलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरका यी वचन सुनाएँ, “तैँले बेबिलोनका राजा भारदारहरूको शरण लिइस् भने तेरो प्राण बाँच्‍नेछ र यो सहर जलेर भस्‍म हुनेछैन। तँ र तेरा परिवार बाँच्‍नेछन्।

18 तर तैँले उसको अघि आफूलाई समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ र तिनीहरूले यसलाई आगोले भस्‍म पार्नेछन् र तँ तिनीहरूका हातबाट भाग्‍न पाउनेछैनस्।”

19 तर राजाले जवाफ दिए, “हामीलाई त्‍यागेर बेबिलोनीहरूतर्फ लाग्‍ने हाम्रा देशका मानिसहरूसित मलाई डर लाग्‍छ। बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्‍पिदेलान् र तिनीहरूले मलाई सताउलान्।”

20 मैले भनें, “बेबिलोनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्‍पिदिनेछैनन्। बिन्‍ती छ, तपाईंले परमप्रभुको सन्‍देश मान्‍नुहोस्, त्‍यसो भए तपाईंको भलाइ हुनेछ र प्राण बाँच्‍नेछ।

21 तर तपाईंले तिनीहरूको शरण नलिए के हुनेछ, त्‍यो परमप्रभुले मलाई दर्शनमा देखाउनुभएको छ।

22 मैले दर्शनमा देखें कि यहूदाका राजदरबारमा छोडिएका सबै स्‍त्रीहरू बेबिलोनका राजाका भारदारहरूकहाँ लगिंदै थिए। ती स्‍त्रीहरूले यसरी लगिंदा के भन्‍दै थिए, त्‍यो पनि सुन्‍नुहोस्: ‘राजाले भरोसा गरेका मित्रहरूले उनलाई धोका दिए, तिनीहरूले उनका कुरा काटिदिए। अब उनका खुट्टा हिलोमा भासिएका बेला ती मित्रहरूले उनलाई त्‍यागे’।”

23 त्‍यसपछि मैले भनें, “तपाईंका सबै स्‍वास्‍नीहरू र छोरा-छोरीहरू बेबिलोनीहरूकहाँ लगिनेछन् र तपाईं आफैं पनि तिनीहरूका हातबाट उम्‍कनुहुनेछैन। बेबिलोनका राजाले तपाईंलाई कैदी बनाई लैजानेछन्। यस सहरलाई जलाएर खरानी पारिदिनेछन्।”

24 सिदकियाहले उत्तर दिए, “हामी दुईको यस कुराकानीबारे कसैलाई नभन्‍नू र तिम्रो प्राणलाई केही डर हुनेछैन।

25 मैले तिमीसित कुरा गरेको भारदारहरूले थाहा पाए भने तिनीहरू आएर हामीले के-के कुरा गर्‍यौं, त्‍यो तिमीलाई सोध्‍नेछन्। सबै कुरा हामीलाई सुनाऊ र हामी तिमीलाई मार्नेछैनौं भनी तिनीहरूले तिमीसँग प्रतिज्ञा गर्नेछन्।

26 यसर्थ तिमीले मर्नलाई झ्‍यालखानमा फेरि नपठाइन राजासित बिन्‍ती मात्र गर्दै थिएँ भनी तिनीहरूलाई भन्‍नू।”

27 त्‍यसपछि सबै भारदारहरू आएर मलाई प्रश्‍न गरे र मैले राजाले भनेअनुसार नै तिनीहरूलाई जवाफ दिएँ। तिनीहरूले अरू केही गर्न सकेनन् किनभने हाम्रो कुराकानी कसैले सुनेका थिएनन्।

28 अनि यरूशलेम शत्रुका हातमा परेको दिनसम्‍म मलाई तिनीहरूले राजमहलको चोकमा राखे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy