यर्मिया 37 - सरल नेपाली पवित्र बाइबलयर्मियालाई सिदकियाहको बिन्ती 1 यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाए। 2 तर नत सिदकियाहले नत तिनका भारदारहरूले नत प्रजाले मलाई परमप्रभुले दिनुभएको सन्देश पालन गरे। 3 हाम्रो जातिको निम्ति परमप्रभुलाई प्रार्थना गर्न मलाई भन्न सिदकियाह राजाले शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पूजाहारीलाई मकहाँ पठाए। 4 त्यस बेलासम्म म थुनामा परेको थिइनँ र खुलेआम मानिसहरूका माझमा घुमफिर गर्दथें। 5 बेबिलोनी सेनाले यरूशलेमलाई घेरेर राखेका थिए तर मिश्रका सेनाले आफ्ना सिमाना पार गरिसके भनी सुन्दा तिनीहरू यरूशलेमबाट पछि हटे। 6-7 तब परमप्रभु इस्राएलका परमेश्वरले सिदकियाह राजालाई यसो भन्न मलाई आदेश दिनुभयो, “मिश्री सेना तँलाई सहायता गर्न आइरहेको छ तर त्यो आफ्नै देशमा फर्किजानेछ। 8 तब बेबिलोनीहरू फर्किआउनेछन्, सहरमाथि हमला गर्नेछन् र कब्जा गर्नेछन् र त्यसलाई डढेलो लाउनेछन्। 9 म परमप्रभु तँलाई यो चेतावनी दिंदछु कि तैँले फेरि बेबिलोनीहरू फर्की आउनेछैनन् भन्ने सोचेर धोका नखानू किनभने तिनीहरू आउने नै छन्। 10 तैँले सारा बेबिलोनी सेनाहरूलाई नाश पारिस् र घाइतेहरूलाई तिनीहरूका पालमा सुताएर छोडिराखिस् भने पनि ती घाइते मानिसहरू फेरि उठ्नेछन् र यस सहरलाई जलाएर खरानी पार्नेछन्।” यर्मिया थुनामा परेका 11 मिश्री सेना अघि बढ्दैआइररहको हुनाले बेबिलोनी सेना यरूशलेमबाट पछि हट्यो। 12 यसकारण बेन्यामीनको इलाकामा गई परिवारका सर-सम्पत्तिबाट आफ्नो भाग लिन मैले यरूशलेमबाट बिदा हुने तरखर गर्न लागें। 13 तर बेन्यामीन मूल-ढोकामा पुग्दा त्यहाँ तैनाथ गरिएका सिपाहीका दलका मुखियाले मलाई रोकेर भने, “तिमी भागेर बेबिलोनीहरूतर्फ जाँदै छौ।” ती मुखियाको नाम यिरियाह थियो र उनी हनन्याहका नाति र शेलेम्याहका छोरा थिए। 14 मैले जवाफ दिएँ, “त्यो साँचो होइन! म भागेर गएको होइनँ।” तर यिरियाहले मेरो कुरा पत्याएनन्। त्यसको सट्टामा उनले मलाई पक्रेर भारदारहरूकहाँ पुर्याए। 15 तिनीहरू मसित औधी रिसाए र मलाई चुटेर जोनाथनको घरमा बन्द गर्ने आज्ञा दिए। जोनाथन दरबारका सचिव थिए अनि तिनको घर नै झ्यालखान बनाइएको थियो। 16 मलाई एउटा जमिनमुनिको बन्दी कोठामा धेरै दिनसम्म राखे। 17 पछिबाट सिदकियाह राजाले मलाई बोलाउन पठाए र महलमा लगेर एकान्तमा मलाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?” मैले जवाफ दिएँ, “हजुर छ, “हजुर बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।” 18 तब मैले सोधें, “मैले तपाईं वा तपाईंका भारदार र प्रजाका विरुद्धमा के अपराध गरें र तपाईंले मलाई कैदमा राख्नुभयो? 19 तपाईं अथवा तपाईंको देशमाथि बेबिलोनका राजाले आक्रमण गर्नेछैन भनी बोल्ने तपाईंका अगमवक्ताहरूलाई के भयो? 20 र अब हे राजन्, बिन्ती छ, मेरा पुकार सुन्नुहोस् र त्यसअनुसार दया गर्नुहोस्। मलाई जोनाथनको घरको बन्दी कोठामा फर्काई नपठाउनुहोस्। नत्रता म निश्चय त्यहीं मर्नेछु।” 21 यसकारण सिदकियाह राजाले मलाई राजदरबारको चोकमा बन्द गरी राख्ने आज्ञा गरे। म त्यहीं बसें र सहरमा सबै रोटी नसकुञ्जेल मलाई दिनहुँ एउटा रोटी दिइन्थ्यो। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society