Online Bible

- Reklamy -

यर्मिया 35 - सरल नेपाली पवित्र बाइबल


यर्मिया र रेकाबीहरू

1 योशियाहका छोरा यहूदाका राजा यहोयाकीमको पालामा परमप्रभुले मलाई भन्‍नुभयो,

2 “रेकाबीहरूका घरानाकहाँ गएर कुरा गर्‌। तिनीहरूलाई मन्‍दिरको एउटा कोठामा निम्‍त्‍याएर केही दाखमद्य पिउन दे।”

3 यसकारण मैले पूरै रेकाबी घरानालाई अर्थात् याजन्‍याह र त्‍यसका सबै भाइहरू र छोराहरू (याजन्‍याहचाहिँ अर्को यर्मिया भनिने मानिसका छोरा र हबसिन्‍याहका नाति थिए)

4 लाई मन्‍दिरमा ल्‍याएँ। मैले तिनीहरूलाई यिग्‍दल्‍याहका छोरा अगमवक्ता हानानका चेलाहरूको कोठामा ल्‍याएँ। त्‍यो कोठा मन्‍दिरमा एक जना मुख्‍य भारदार शल्‍लूमका छोरा मासेयाहको कोठामाथि र अरू भारदारहरूको कोठाको छेउमा थियो।

5 त्‍यसपछि मैले दाखमद्यले भरिएका कचौराहरू र बटुकाहरू रेकाबीहरूका सामुन्‍ने राखें र तिनीहरूलाई भनें, “अलिकता दाखमद्य लिनुहोस्।”

6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउँदैनौं। हाम्रा पुर्खा रेकाबीका छोरा योनादाबले हामी र हाम्रा छोरा-नातिहरूलाई दाखमद्य पिउन मनाही गरेका छन्।

7 उनले हामीलाई घर बनाउन, खेती-किसानी गर्न र दाखबारी लाउन वा किन्‍न पनि मनाही गरेका छन्। उनले हामीलाई सधैँभरि पालमा बास गर्ने आज्ञा गरेका छन्, ताकि हामीले परदेशी भई बसोबास गरेका देशमा धेरै दिन रहिरहन सकौं।

8 योनादाबले दिएका सबै शिक्षाहरू हामीले पालन गरेका छौं। हामी आफैं कहिल्‍यै दाखमद्य पिउदैनौं, हाम्रा स्‍वास्‍नी, छोरा-छोरीहरूले पनि पिउँदैनन्।

9-10 हामी घर बनाएर बस्‍दैनौं, हामी पालमा बस्‍छौं र हाम्रो आफ्‍नो खेतबारी, दाखबारी वा अन्‍न केही पनि छैन। हाम्रा पुर्खा योनादाबले दिएका हरेक आज्ञा हामीले पूरा पालन गरेका छौं।

11 तर नबूकदनेसर राजाले यस देशमा हमला गर्दा बेबिलोन र अराम देशका सेनाहरूबाट भाग्‍न हामीले यरूशलेममा आउने निर्णय गर्‍यौं। यसैकारण हामी यरूशलेममा बास गरिरहेका छौं।”

12-13 त्‍यसपछि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यहूदा र यरूशलेमका मानिसहरूकहाँ गएर यसो भन्‍ने आदेश दिनुभयो, “म सर्वशक्तिमान् परमप्रभु तिमीहरूलाई सोध्‍दछु कि तिमीहरू किन मेरा कुरा सुन्‍न र मेरा आदेश पालन गर्न मान्‍दैनौ?

14 योनादाबका छोरा, नातिहरूले दाखमद्य नपिउनू भन्‍ने उसको आज्ञा मानिआएका छन् र आजसम्‍म तिनीहरू कसैले त्‍यो पिउँदैनन्। तर म भने तिमीहरूसित बोलिरहेकै छु तापनि तिमीहरू मेरा आज्ञापालन नगरी बस्‍छौ।

15 मैले मेरा सबै सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहें र तिनीहरूले तिमीहरूलाई दुष्‍कर्म त्‍याग्‍नू र उचित काम गर्नू भनेका छन्। अन्‍य देवताको पूजा र सेवा नगर्नू र मैले तिमीहरू र तिम्रा पुर्खाहरूलाई दिएका देशमा तिमीहरू रहन पाउनेछौ भनी तिनीहरूले तिमीहरूलाई चेतावनी दिएका छन्। तर तिमीहरूले मेरा कुरा सुन्‍दैनौ, मेरो वचनमा ध्‍यान दिंदैनौ।

16 योनादाबका सन्‍तानहरूले आफ्‍ना पुर्खाले दिएका आज्ञा मानेका छन्। तर तिमीहरूले मेरा आज्ञा मानेका छैनौ।

17 यसैकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले तिमी यहूदा र यरूशलेमका मानिसहरूमाथि मैले प्रतिज्ञा गरेका सबै विनाश ल्‍याउनेछु किनभने म बोल्‍दा तिमीहरूले कान थापेनौ र मैले बोलाउँदा तिमीहरूले जवाफ पनि दिएनौ।”

18 तब मैले रेकाबी कुलका सबै मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरका यी वचन सुनाएँ, “आफ्‍ना पुर्खा योनादाबले दिएका आज्ञा तिमीहरूले पालन गरेका छौ। तिमीहरूले त्‍यसका सबै शिक्षाहरू मानेका छौ र सबै काम त्‍यसका आज्ञाअनुसार गरेका छौ।

19 यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले यो प्रतिज्ञा गर्दै छु कि रेकाबको छोरो योनादाबका सन्‍तानबाट एक जना पुरुषले सधैँ मेरो सेवा गर्न पाउनेछ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy