यर्मिया 34 - सरल नेपाली पवित्र बाइबलसिदकियाहको निम्ति सन्देश 1 आफ्ना अधीनमा भएका सबै जातिहरू र कुलहरूका सेनासाथ लिएर बेबिलोनका राजा नबूकदनेसरले यरूशलेम र त्यसको छेउ-छाउका सहरहरूमाथि आक्रमण गरेका बेलामा परमप्रभु मसित बोल्नुभयो। 2 परमप्रभु इस्राएलका परमेश्वरले मलाई यहूदाका राजा सिदकियाहकहाँ गएर यसो भन्ने आदेश दिनुभयो, “म परमप्रभुले यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र त्यसले यसलाई आगोले भस्म पार्नेछ। 3 तँ भाग्न पाउनेछैनस्, तँ पक्राउ पर्नेछस् र त्यसका हातमा पर्नेछस्। तैँले त्योसित आमने-सामने कुरा गर्नेछस्। त्यसपछि तँ बेबिलोनमा जानेछस्। 4 ए सिदकियाह, तेरो बारेमा म के भन्दछु, त्यो सून्। तँ लडाइँमा मारिनेछैनस्। 5 तँ शान्तिसित मर्नेछस्। अनि, जसरी तँभन्दा अघिका तेरा पुर्खा राजाहरूका लागि मानिसहरूले बत्ती बालेथे, त्यसरी नै तिनीहरूले तेरो निम्ति बत्ती बाल्नेछन्। तिनीहरूले तेरो निम्ति विलाप गर्दै यसो भन्नेछन्, ‘हाय, हाम्रा राजाको मृत्यु भयो!’ म परमप्रभु बोलेको छु।” 6-7 बेबिलोनका राजाको सेनाले यरूशलेममाथि आक्रमण गरेको बेला यो सन्देश मैले यरूशलेममा सिदकियाह राजालाई दिएँ। सेनाले लाकीश र आजेका सहरमाथि पनि आक्रमण गर्दै थिए, ती दुई मात्र पर्खाल हालेका सहरहरू यहूदामा बाँकी रहेका थिए। कमाराहरूमाथि कुव्यवहार 8-9 सिदकियाह राजा र यरूशलेमका मानिसहरूले आ-आफ्ना यहूदी कमारा-कमारीहरूलाई छुटकारा दिने र कसैसित इस्राएली कमारा-कमारी नराख्ने वाचा बाँधेका थिए। 10 सबै मानिसहरू र तिनका अगुवाहरू आ-आफ्ना कमारा-कमारीलाई छुटकारा दिन र तिनीहरूलाई फेरि कमारा-कमारी नबनाउन राजी भए र तिनीहरूलाई छुटकारा दिए। 11 तर पछिबाट तिनीहरूले आफ्ना मन बदले। छुटकारा दिएका कमारा-कमारीलाई फर्काई र तिनीहरूलाई फेरि कमारा-कमारी भई बस्न कर लाए। 12-13 तब परमप्रभु इस्राएलका परमेश्वरले मानिसहरूलाई यसो भन्ने आदेश मलाई दिनुभयो, “जब मैले तिमीहरूका पुर्खाहरूलाई दासत्वबाट छुटकारा दिई मिश्रबाट निकालेर ल्याएँ, तब मैले तिनीहरूसित एउटा करार बाँधेको थिएँ। मैले तिनीहरूलाई भनें कि 14 तिनीहरूले आफूसित छ वर्षसम्म कमारा-कमारी बसी सेवा गरेका यहूदीलाई हरेक सातौँ वर्षमा छुटकारा दिनुपर्छ। तर तिमीहरूका पुर्खाहरूले मेरा कुरामा ध्यान दिएनन् र मैले भनेअनुसार गरेनन्। 15 केही दिनअघि मात्र तिमीहरूले पश्चात्ताप गर्यौ र मलाई खुसी गराउने काम गर्यौ। तिमीहरू सबै आ-आफ्ना इस्राएली बन्धुहरूलाई छुटकारा दिन राजी भयौ र मेरो सामुन्ने मेरो आराधना गरिने मन्दिरमा तिमीहरूले एउटा करार बाँध्यौं। 16 तर तिमीहरूले फेरि आफ्ना मन बदली गर्यौ र मेरो अपमान गर्यौ। तिमीहरू सबैले जुन कमारा-कमारीहरूलाई तिनीहरूका इच्छाअनुसार छुटकारा दिएका थियौ, तिनीहरूलाई फर्काई ल्यायौ र फेरि बलजफ्ती कमारा-कमारी बनायौ 17 र अब म परमप्रभु भन्दछु कि तिमीहरूले मेरा आज्ञापालन गरेनौ, आफ्ना इस्राएली बन्धुहरूलाई छुटकारा दिएनौ। ठीक छ, अब म तिमीहरूलाई स्वतन्त्रता दिंदछु: लडाइँ, अनिकाल र रुढीद्वारा नष्ट हुने स्वतन्त्रता। जे म तिमीहरूलाई गर्नेछु, त्यो देखेर संसारका हरेक जाति तर्सनेछ। 18-19 यहूदा र यरूशलेमका भारदारहरू साथै दरबारका अधिकृतहरू र पूजाहारी तथा अगुवाहरूले एउटा साँढे दुई फ्याँक पारी त्यसका बीचबाट हिंडेर मसित एउटा करार बाँधेका थिए। तर तिनीहरूले त्यो करार तोडे र त्यसका शर्तहरू पालन गरेनन्। यसर्थ तिनीहरूले साँढेलाई जे-जसो गरेका थिए, त्यस्तै म तिनीहरूलाई गर्नेछु। 20 तिनीहरूलाई मार्न चाहने शत्रुका हातमा म तिनीहरूलाई सुम्पिदिनेछु र तिनीहरूका लाश चरा-चुरुङ्गी र जङ्गली जनावरहरूको आहार हुनेछ। 21 यहूदाका राजा सिदकियाह र तिनका भारदारहरूलाई पनि म ती शत्रुहरूका हातमा दिनेछु, जसले तिनीहरूको ज्यान लिने इच्छा गर्दछन्। म तिनीहरूलाई बेबिलोनका सेनाको हातमा दिनेछु, जसले तिमीहरूमाथि हमला गर्न अहिले बन्द गरेका छन्। 22 म आज्ञा गर्नेछु र तिनीहरू यस सहरमा फर्किआउनेछन्। तिनीहरूले यस सहरमाथि हमला गर्नेछन्, यसलाई कब्जा गर्नेछन् र डढेलो लाइदिनेछन्। म यहूदाका सहरहरूलाई मरुभूमिझैँ निर्जन पार्नेछु। म परमप्रभु बोलेको छु।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society