Online Bible

- Reklamy -

यर्मिया 3 - सरल नेपाली पवित्र बाइबल


अविश्‍वासी इस्राएल

1 परमप्रभु भन्‍नुहुन्‍छ, “यदि कुनै मानिसले आफ्‍नी स्‍वास्‍नीलाई त्‍याग्‍छ र त्‍यो स्‍त्रीले उसलाई छोडेर अर्को पुरुषसित बिहे गरी भने त्‍यस मानिसले फेरि त्‍यस स्‍त्रीलाई घर फर्काउन सक्‍दैन। त्‍यसो गर्नाले सारा देश बिटुलिनेछ। तर ए इस्राएल, तैँले धेरै प्रेमीहरूसित व्‍यभिचार गरिस् र फेरि मकहाँ फर्किआउन चाहन्‍छस्!

2 डाँडा-डाँडाका टाकुराहरू हेर्‌। कहाँचाहिँ तँ तेरा प्रेमीहरूसित सुतिनस्? एउटा अरबी डाकुले मरुभूमिमा लुट्‍न मानिस ढुकेझैँ तैँले बाटोका किनारमा उभिएर तेरा प्रेमीहरूको बाटो हेरिस्। तैँले तेरो दुष्‍टता र वेश्‍यावृत्ति कामले पूरै देशलाई भ्रष्‍ट पारिस्।

3 यसकारण चैत-बैशाखको झरी र वर्षाको झरी दुवै परेनन्। तेरो अनुहार पनि वेश्‍याको जस्‍तै देखिन्‍छ, तँलाई केही लाज छैन।

4 “अनि तैँले अब मलाई यसो भन्‍छस्, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, म बालक छदाँदेखि तपाईंले मलाई प्रेम गर्नुभएको हो।

5 के तपाईंले मसित सधैँ रिस गरिरहनुहुन्‍छ? के तपाईं सधैँ मेरो विरुद्धमा हुनुहुन्‍छ?’ ए इस्राएल, तैँले भन्‍न त त्‍यसै भनिस् तर सकभर दुष्‍ट्याइँ नै गरिस्।”


इस्राएल र यहूदाले पश्‍चात्ताप गर्नुपर्ने

6 योशियाह राजा छँदा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासयोग्‍य स्‍त्रीले जस्‍तै इस्राएलले के-के गर्‍यो, के तैँले देखिस्? त्‍यसले मतिर आफ्‍नो पिठिउँ फर्काई र हरेक डाँडामा र हरेक हरियो रूखमुनि व्‍यभिचार गरी।

7 मैले सोचेको थिएँ कि त्‍यसले ती सबै काम गरिसकेपछि मतिर निश्‍चय फर्कनेछे तर त्‍यो फर्किन। त्‍यसकी अविश्‍वासी बहिनी यहूदाले पनि त्‍यो देखी।

8 मलाई त्‍यागेर वेश्‍या बनेकी हुनाले मैले इस्राएललाई त्‍यागेर घरबाट धपाइदिएको देखेर पनि त्‍यसकी अविश्‍वासी बहिनी यहूदाले केही डर मानिन।

9 उल्‍टो त्‍यो पनि लाज नमानी वेश्‍या भई। त्‍यसले देश अपवित्र पारी, रूख र ढुङ्गाहरू पुजेर व्‍यभिचार गरी।

10 त्‍यसपछि इस्राएलकी अविश्‍वासयोग्‍य बहिनी यहूदाले मतिर फर्केजस्‍तो गरिटोपली तर त्‍यसको हृदय भने मतिर फर्केन। म परमप्रभु बोलेको छु।”

11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “इस्राएलले मलाई त्‍यागेको भए तापनि त्‍यसले विश्‍वासघाती यहूदाले भन्दा कम विश्‍वासघात गरी।”

12 उहाँले मलाई उत्तर दिशामा गएर इस्राएललाई यसो भन्‍ने आदेश दिनुभयो, “ए अविश्‍वासी इस्राएल, मतिर फर्की। म कृपालु छु र क्रोध गर्दिनँ, म सधैँ तँसित रिसाउनेछैनँ।

13 तैँले म, परमप्रभु परमेश्‍वरको विरुद्धमा उठेको र मेरा आज्ञा नमानी हरेक हरियो रूखमुनि पराई देवी-देवताहरूसित व्‍यभिचार गरेको दोष मानिली। म, परमप्रभु बोलेको छु।

14 “हे अविश्‍वासी मानिसहरू हो, मतिर फर्क, म तिमीहरूको स्‍वामी हुँ। म तिमीहरूलाई हरेक सहरबाट एक जना र हरेक गोत्रबाट दुई जना गरी लिएर सियोन डाँडामा फर्काई ल्‍याउनेछु।

15 म आफ्‍नो हृदयअनुसारका गोठालाहरू तिमीहरूलाई दिनेछु र तिनीहरूले तिमीहरूलाई बुद्धि र समझसाथ डोर्‍याउनेछन्।

16 तब यस देशमा तिमीहरूको सङ्‍ख्‍या बढेर अनगिन्‍ती भएपछि मानिसहरूले मेरा करारको सन्‍दुकबारे कुरा गर्ने खाँचो पर्नेछैन। तिनीहरूलाई त्‍यसको खाँचो पर्नेछैन। नत त्‍यो फेरि बनाइनेछ।

17 त्‍यो समय आएपछि यरूशलेम ‘परमप्रभुको सिंहासन’ कहलाइनेछ र त्‍यहाँ मेरो आराधना गर्नलाई सबै जातिहरू भेला हुनेछन्। तिनीहरू आफ्‍ना हठी र दुष्‍ट हृदयका कुराहरूपछि फेरि कहिल्‍यै लाग्‍नेछैनन्।

18 त्‍यस बेला इस्राएल यहूदासित मिल्‍नेछ र तिनीहरू एकसाथ उत्तरमा कैदमा रहेका देशबाट फर्केर मैले तिनीहरूका पिता-पुर्खालाई सदाकालको निम्‍ति दिएको देशमा आउनेछन्।”


परमेश्‍वरका प्रजाद्वारा मूर्तिपूजा

19 परमप्रभु भन्‍नुहुन्‍छ, “ए इस्राएल, मैले तँलाई आफ्‍नो छोरो बनाउन र एउटा सुखमय देश, संसारको सबैभन्दा सुन्‍दर देश दिन चाहन्‍थें, तैँले मलाई पिता भनी पुकारेको र मलाई कहिल्‍यै नछोडेको चाहन्‍थें।

20 तर अविश्‍वासयोग्‍य स्‍वास्‍नीले झैँ तैँले मलाई धोका दिइस्, म परमप्रभु बोलेको छु।”

21 उजाड-डाँडाहरूमाथि एउटा सोर सुनियो, इस्राएलको रुवाइ र पुकारको सोर किनभने तिनीहरूले पापमा जीवन बिताएका छन् र तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई बिर्सेका छन्।

22 “हे परमप्रभुबाट तर्किगएकाहरू हो! तिमीहरू सबै फर्केर आओ; उहाँले तिमीहरूलाई बिसेक गराउनुहुनेछ र तिमीहरूलाई विश्‍वासयोग्‍य बनाउनुहुनेछ।” तिमीहरू भन्‍छौ, “ज्‍यू परमप्रभु, हामी तपाईंकहाँ फर्केर आउँछौं किनभने तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।

23 डाँडाका मूर्तिपूजा र होहल्‍ला खालि धोका मात्र हो। परमप्रभु हाम्रा परमेश्‍वरबाट मात्र इस्राएलले गुहार पाउँदछ।

24 हाम्रा पिता-पुर्खाहरूले धेरै वर्ष अघिदेखि कमाएका सबै थोक बाल-देवताको पूजाले हामीबाट हरण गर्‍यो, त्‍यस लाजमर्दो देवताले हाम्रा भेडा-बाख्राहरू, गाई-वस्‍तु, छोरा-छोरी सबै लुट्यो।

25 हाम्रो लाजमा हामी ढल्‍कौं र हाम्रो अपमान हामीले दोलाइँ ओढौं। हामी र हाम्रा पिता-पुर्खाहरूले सदा परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं, कहिल्‍यै हामीले उहाँको आज्ञापालन गरेनौं।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy