Online Bible

- Reklamy -

यर्मिया 28 - सरल नेपाली पवित्र बाइबल


यर्मिया र हनन्‍याह

1 त्‍यही वर्ष सिदकियाह यहूदाका राजा भएका चौथो वर्षको पाँचौँ महिनामा अज्‍जूरका छोरा गिबोनबासी अगमवक्ता हनन्‍याहले मन्‍दिरमा पूजाहारी र मानिसहरूको सामुन्‍ने मलाई यी वचन सुनाए।

2 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, “मैले बेबिलोनको राजाका अरूहरूलाई दबाउने जुवा तोडिदिएको छु।

3 अबको दुई वर्षमा नबूकदनेसर राजाले बेबिलोनमा लगेका मन्‍दिरका सारा धन-सम्‍पत्ति म यस ठाउँमा फर्काई ल्‍याउनेछु।

4 म यहोयाकीमको छोरो, यहूदाको राजा यहोयाकीनलाई पनि र बेबिलोनमा कैद गरी लगिएका यहूदाका सबै मानिसहरूसमेत फर्काई ल्‍याउनेछु। अनि अवश्‍य म बेबिलोनको राजाको जुवालाई तोडिदिनेछु। म परमप्रभु बोलेको छु।”

5 तब मन्‍दिरमा उभिएका पूजाहारीहरू र सबै मानिसहरूको सामुन्‍ने मैले हनन्‍याहलाई भनें,

6 “त्‍यस्‍तै होस्! परमप्रभुले त्‍यस्‍तै गरून्! उहाँले तिम्रो यो अगमवाणी पूरा गराऊन् र बेबिलोनबाट मन्‍दिरका सारा धन-सम्‍पत्ति र त्‍यहाँ कैदमा लगिएका सबै मानिसहरूलाई फर्काई ल्‍याऊन्।

7 तर म तिमीलाई र सबै मानिसहरूलाई के भन्‍छु, त्‍यो सुन।

8 तिमी र मभन्दा धेरै समय अघिका अगमवक्ताहरूले धेरै जाति र शक्तिशाली राज्‍यहरूमा लडाइँ, अनिकाल र रुढीहरू आउनेछन् भनी अगमवाणी गरेका थिए।

9 तर शान्‍ति आउनेछ भनी अगमवाणी गर्ने अगमवक्ताचाहिँ साँच्‍चै परमप्रभुबाट पठाइएको हो भनी तब मात्र चिनिनेछ, जब उसको अगमवाणी पूरा हुनेछ।”

10 तब हनन्‍याहले मेरो काँधबाट जुवा निकाले र त्‍यसलाई भाँचिदिए

11 र तिनले सबै मानिसहरूको सामुन्‍ने यसो भने, “यसरी नै राजा नबूकदनेसरले जाति-जातिका काँधमा लगाएका जुवा म भाँचिदिनेछु भनी परमप्रभुले भन्‍नुभएको छ र त्‍यो दुई वर्षभित्र उहाँले गर्नुहुनेछ।” त्‍यसपछि म बिदा भएँ।

12 त्‍यसको केही समयपछि परमप्रभुले मलाई हनन्‍याहकहाँ गई यो कुरा भन्‍ने आज्ञा गर्नुभयो,

13 “परमप्रभुले भन्‍नुभएको छ कि तैँले काठको जुवा त भाँच्‍न सक्‍लास् तर म त्‍यसको सट्टामा फलामको जुवा लाइदिनेछु।

14 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले भन्‍नुभएको छ कि यी सबै जातिहरूलाई फलामको जुवा लाइदिनेछु र यिनीहरूले बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नेछन्। म जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाउनेछु भनी परमप्रभुले भन्‍नुभएको छ।”

15 तब मैले हनन्‍याहलाई यसो भनें, “हनन्‍याह, सुन! परमप्रभुले तिमीलाई पठाउनुभएको होइन र तिमी यी मानिसहरूलाई एउटा झूटो कुरो विश्‍वास गर्न लाउँदै छौ।

16 अनि परमप्रभु आफैंले तिमीलाई भन्‍नुभएको छ कि म तँलाई हटाउनेछु। यो वर्षभित्र तँ मर्नेछस् किनभने तैँले परमप्रभुको विरुद्धमा मानिसहरूलाई प्रचार गरेको छस्।”

17 अनि त्‍यही वर्षको सातौं महिनामा हनन्‍याह मरे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy