Online Bible

- Reklamy -

यर्मिया 26 - सरल नेपाली पवित्र बाइबल


यर्मियामाथि मुद्दा

1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको केही दिनमा नै

2 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मन्‍दिरको चोकमा खडा हो र मैले आज्ञा गरेका सबै कुरा यहूदाका सहरहरूबाट मन्‍दिरमा आराधना गर्न आउने मानिसहरूलाई एउटै कुरा नछोडी सुना।

3 सायद मानिसहरूले ती कुरा सुनेर आ-आफ्‍ना दुष्‍ट चालहरू छोड्लान्। त्‍यसो भए तिनीहरूका दुष्‍ट चालले गर्दा जुन विनाश तिनीहरूमाथि ल्‍याउने मेरो मन थियो, त्‍यो म बदल्नेछु।”

4-5 मानिसहरूलाई यसो भन्‍ने आज्ञा परमप्रभुले मलाई दिनुभयो, “म परमप्रभुले तिमीहरूलाई दिएका शिक्षा पालन गरेर अनि मैले तिमीहरूकहाँ पठाएका मेरा सेवकहरू, अगमवक्ताहरूका कुरामा ध्‍यान दिएर तिमीहरूले मेरो आज्ञापालन गर्नुपर्छ भनी मैले भनेको थिएँ। तिमीहरूले कहिल्‍यै तिनीहरूका कुरा मानेनौ।

6 तिमीहरू त्‍यस्‍तो गरिरहन्‍छौ भने मैले शीलोलाई जसो गरेथें, यस मन्‍दिरलाई त्‍यसै गर्नेछु र सारा जातिहरूले यस सहरको नाम लिएर सराप दिनेछन्।”

7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले यी कुरा मैले मन्‍दिरमा भन्‍दैगरेको सुनें।

8 अनि जब परमप्रभुले मलाई आज्ञा गर्नुभएका सबै कुरा मैले भनिसकें, तब तिनीहरूले मलाई समाते र यसो भन्‍दै चिच्‍च्‍याए, “अब तँ निश्‍चय मर्नेछस्।

9 यो मन्‍दिर शीलोझैँ हुनेछ र यो सहर नाश हुनेछ र यसमा कुनै मानिसले बास गर्नेछैन भनी तैँले किन परमप्रभुको नाममा भनिस्?” त्‍यसपछि सबै मानिसहरूले मलाई घेरे।

10 जब यहूदाका अगुवाहरूले यो कुरा सुने, तिनीहरू राजदरबारबाट मन्‍दिरमा आए र नयाँ मूल-ढोकानिर आसन लिए।

11 तब पूजाहारी र अगमवक्ताहरूले ती अगुवाहरू र मानिसहरूलाई भने, “यस मानिसले प्राण दण्‍ड पाउनुपर्छ किनभने यसले हाम्रा सहरको विरुद्धमा बोलेको छ। त्‍यसका कुरा तपाईंहरूले आफ्‍नै कानले सुन्‍नुभएको छ।”

12 तब मैले भनें, “यस मन्‍दिर र यस सहरको विरुद्धमा मैले भनेका जति कुरा तिमीहरूले सुन्‍यौ, ती सबै भन्‍नलाई परमप्रभुले मलाई पठाउनुभएको हो।

13 तिमीहरूले आफ्‍ना जीवनका चाल र कामहरू सुधार्नुपर्छ र परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ। त्‍यसो गर्‍यौ भने उहाँले तिमीहरूमाथि ल्‍याउँछु भन्‍नुभएको विनाशबारे आफ्‍नो मन बदल्नुहुनेछ।

14 मचाहिँ अब तिमीहरूका हातमा छु। जे कुरा असल र ठीक छ भन्‍ठान्‍छौ, त्‍यही मसित गर।

15 तर यो कुराचाहिँ निश्‍चय जानिराख कि तिमीहरूले मलाई मार्‍यौ भने तिमीहरू र यस सहरका मानिसहरू एउटा निर्दोष मानिसको ज्‍यानमारा हुनेछौ किनभने परमप्रभुले नै तिमीहरूलाई यो चेतावनी दिन मलाई पठाउनुभएको हो।”

16 तब अगुवाहरू र सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भने, “यस मानिसले परमप्रभु हाम्रा परमेश्‍वरको नाममा यी कुरा भनेको हो, यसले मृत्युदण्ड पाउनुहुन्‍न।”

17 त्‍यसपछि कति बुढापाकाहरू खडा भए र त्‍यहाँ भेला भएका मानिसहरूलाई यसो भने,

18 “हिजकिया यहूदाका राजा हुँदा मोरेशेतबाट आएका अगमवक्ता मीकाले सबै मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुका यी वचन सुनाए: ‘खेत जोतेझैँ सियोन जोतिनेछ, यरूशलेम भत्‍केर रास बनिनेछ र मन्‍दिर भएको डाँडा जङ्गल बनिनेछ।’

19 त के हिजकिया राजा र यहूदाका बासिन्‍दाहरूले मीकालाई मारे? होइन, उल्‍टा हिजकियाले परमप्रभुको डर माने र उहाँको कृपादृष्‍टि पाउने चेष्‍टा गरे। अनि परमप्रभुले तिनीहरूलाई ल्‍याउँछु भन्‍नुभएको विनाशबारे आफ्‍नो मन बदल्‍नुभयो। तर अहिले हामीहरूले चाहिँ आफूमाथि ठूलो विपत्ति ल्‍याउन लागेका छौं।”

20 अर्को एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाममा यर्मियाले झैँ यस सहर र जातिको विरुद्धमा बोलेका थिए। तिनी किर्यत-यारीममा बस्‍ने शमायाहका छोरा उरियाह थिए।

21 यहोयाकीम राजा र तिनका सैनिक अधिकृतहरू र अरू हाकिमहरूले उरियाहका कुरा सुने र राजाले तिनलाई मार्ने चेष्‍टा गरे। त्‍यो कुरा सुनी उरियाह डराएर भागी मिश्रमा गए।

22 तर यहोयाकीम राजाले उरियाहलाई फर्काउन अक्‍बोरको छोरो एल्‍नातान र अरू कति जनालाई मिश्रमा पठाए।

23 तिनीहरूले ऊरियाहलाई यहोयाकीम राजाकहाँ फर्काई ल्‍याए। राजाले तिनलाई मारेर तिनको लाश साधारण मानिसहरूका चिहाने-घारीमा फ्‍याँकिदिए।

24 तर शापानका छोरा अहीकाम पनि मेरो पक्षमा भएको हुनाले मलाई मानिसहरूका हातमा मारिनलाई सुम्‍पिदिएनन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy