Online Bible

- Reklamy -

यर्मिया 24 - सरल नेपाली पवित्र बाइबल


दुई डाला नेभारा

1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अगुवा, कारिगरहरू र अरू सिपालु ज्‍यामीहरूलाई कैद गरी यरूशलेमबाट बेबिलोनमा लगेपछि परमप्रभुले मलाई मन्‍दिरको सामुन्‍ने राखिएका दुई डाला नेभारा दर्शनमा देखाउनुभयो।

2 पहिलो डालोमा चाँडै पाकेका असल नेभाराहरू थिए र दोस्रोमा नराम्रा, खान नसकिने नेभाराहरू थिए।

3 तब परमप्रभुले मलाई सोध्‍नुभयो, “ए यर्मिया, तँ के देख्‍दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्‍दछु, राम्राहरू जति साह्रै राम्रा छन् र नराम्रा जति सबै नराम्रा, खान लायक छैनन्।”

4 तब उहाँले मलाई भन्‍नुभयो,

5 “म परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍दछु कि बेबिलोनमा लगिएका मानिसहरूलाई म यी असल नेभाराहरूझैँ ठान्‍छु र म तिनीहरूलाई दया देखाउनेछु।

6 म तिनीहरूको रखवाली गर्नेछु र यस देशमा फर्काइल्‍याउनेछु। म तिनीहरूलाई बनाउनेछु तर भत्‍काउनेछैनँ। म तिनीहरूलाई रोप्‍नेछु तर उखेल्‍नेछैनँ।

7 म नै परमप्रभु हुँ भनी चिन्‍ने मन म तिनीहरूलाई दिनेछु। तब तिनीहरू मेरा प्रजा हुनेछन् अनि म तिनीहरूको परमेश्‍वर हुनेछु किनभने तिनीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले मतिर फर्कनेछन्।

8 “यहूदाका राजा सिदकियाह, तिनका राज-भारदारहरू र बाँकी यरूशलेमबासीहरू, जो यही देशमा रहेका छन् अथवा मिश्रमा गएका छन्, तिनीहरूलाई म ती नराम्रा खान नसकिने नेभाराझैँ ठानी त्‍यस्‍तै व्‍यवहार गर्नेछु।

9 म तिनीहरूमाथि यस्‍तो विपत् ल्‍याउनेछु कि त्‍योदेखि संसारका सबै जातिहरू डराउनेछन्। मानिसहरूले तिनीहरूको गिल्‍ला गर्नेछन्, तिनीहरूका नाममा ठट्टा गर्नेछन् र हाँसो उडाउनेछन्। अनि मैले तिनीहरूलाई खेदिपठाएको प्रत्‍येक ठाउँमा तिनीहरूको नाम लिएर मानिसहरूले श्राप दिनेछन्।

10 मैले तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई दिएको यस देशमा तिनीहरू पूरा नाश नभएसम्‍म म तिनीहरूमाथि लडाइँ, अनिकाल र रुढीहरू ल्‍याउनेछु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy