यर्मिया 20 - सरल नेपाली पवित्र बाइबलयर्मिया र पूजाहारीबीच विवाद 1 जब इम्मेरको छोरो मन्दिरको मुख्य अधिकृत पशहूर पूजाहारीले मैले भनेका यी कुराहरू सुने, 2 उनले मलाई पिटे र मन्दिरको माथिल्लो बेन्यामीन मूल-ढोकाछेउ मलाई ठिंगुरोमा ठोके। 3 भोलिपल्ट बिहान पशहूरले मलाई छोडेपछि मैले उनलाई भनें, “परमप्रभुले तिम्रो नाम पशहूर राख्नुभएको होइन। उहाँले तिमीलाई दिनुभएको नाम हो, ‘चारैपट्टिको आतङ्क’। 4 परमप्रभु आफैंले भन्नुभएको छ, ‘म तँलाई तेरो आफ्नै निम्ति र तेरा मित्रहरूका निम्ति डरलाग्दो मानिस बनाउनेछु र तेरा आँखाका सामुन्नेमा तिनीहरू आफ्ना शत्रुका तरवारले मारिनेछन्। यहूदाका सबै बासिन्दाहरूलाई म बेबिलोनका राजाका हातमा सुम्पिदिनेछु, तिनले कतिलाई कैद गरी बेबिलोनमा लैजानेछन् र अरूलाई मार्नेछन्। 5 म तिनीहरूका शत्रुहरूलाई यस सहरका सारा धन-सम्पत्ति लुटेर त्यहाँका सर-सामान, यहूदाका राजाहरूका धन-सम्पत्तिसमेत लुटेर जफत गरी सबै थोक बेबिलोनमा लैजान पनि दिनेछु। 6 अनि हे पशहूर, तिमी र तिम्रा परिवार पनि पक्राउ पर्नेछौ र बेबिलोनमा कैदी भई जानेछौ। त्यही तिम्रा सबै मित्रहरू जसलाई तिमीले झूटा अगमवाणी भनेका छौ, तिनीहरूसहित तिमी मर्नेछौ र गाडिनेछौ।” परमप्रभुलाई यर्मियाको उजुर 7 हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो र मैले धोका खाएँ। तपाईं मभन्दा बलियो हुनुहुन्छ र तपाईंले मलाई हराउनुभयो। सबैले मेरो हाँसो उडाउँछन् र दिनभरि गिल्ला गर्छन्। 8 जब म बोल्दछु, मैले चिच्च्याएर, “उपद्रव! सर्वनाश भयो!” भन्न कर लाग्छ। हे परमप्रभु, मैले तपाईंको सन्देश सुनाएको कारणले सधैँ मेरो हाँसो र तिरस्कार हुन्छ। 9 तर जब “म परमेश्वरको नाम लिनेछैनँ र उहाँको नाममा बोल्नेछैनँ” भनी म भन्दछु, तब तपाईंको वचन आगोझैँ मेरा हृदयमा जलिरहन्छ। म सधैँ त्यसलाई रोक्ने चेष्टा गर्दछु तर त्यो थाम्न सक्दिनँ। 10 प्रत्येकले कानेखुसी गरेको म सुन्छु, “चारैपट्टि डरैडर छ, हामी यसको विरुद्धमा हाकिमहरूलाई जाहेर गरौं!” मेरा नजिकका मित्रहरू पनि मेरो पतन हेर्न पर्खिरहन्छन्। तिनीहरू भन्छन्, “सायद त्यो फस्ला, तब हामी त्यसको दोष पक्रेर त्योसित बदला लिन सकौंला।” 11 तर, हे परमप्रभु, बलिया र सामर्थी प्रभु, तपाईं मेरो पक्षमा हुनुहुन्छ र मलाई सताउनेहरू लोट्नेछन्। तिनीहरू सधैँभरि लाजमा पर्नेछन् किनभने तिनीहरू सफल हुन सक्दैनन् र उनीहरूको लाज कहिल्यै बिर्सिनेछैन। 12 तर, हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले न्यायसाथ मानिसहरूको जाँच लिनुहुन्छ, तिनीहरूका हृदय र मनमा के छ, त्यो तपाईंले जान्नुहुन्छ। यसकारण तपाईंले मेरा शत्रुहरूको बदला लिनुभएको म हेर्न पाऊँ किनभने मैले आफ्नो विषयका कुरा तपाईंकै हातमा सुम्पिदिएको छु। 13 परमप्रभुको निम्ति भजन गाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूलाई दुष्टहरूका हातबाट बचाउनुहुन्छ। 14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्माएको दिनको सम्झना नहोस्! 15 त्यो मानिस श्रापित होस्, जसले मेरा बुबालाई “छोरा भयो! तिम्रो छोरो जन्मेछ!” भन्ने खबर दिएर उनलाई हर्षित पारेको थियो। 16 त्यो मानिस ती सहरहरूजस्ता होस्, जसलाई परमप्रभुले दया नगरी नाश पार्नुभएको थियो। त्यसले बिहान रुवावासी र मध्य दिनमा युद्ध जनाउने आवाज सुनोस् 17 किनभने त्यसले मलाई म गर्भमा छँदै मारेन। त्यसो भएको हुँदो हो त आमाको कोख नै मेरो चिहान हुनेथियो। 18 मैले किन जन्म लिएँ छु नि? के कष्ट भोग्न, दु:ख र बदनाममा आफ्नो जीवन बिताउनलाई यो जन्म मैले पाएको हो? |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society