यर्मिया 19 - सरल नेपाली पवित्र बाइबलफुटेको गाग्रो 1 परमप्रभुले मलाई भन्नुभयो, “तँ कुमालेकहाँ गएर एउटा माटोको गाग्रो किन् र मानिसहरूका बीचबाट केही बुढा-पाका र पूजाहारीहरूसाथ लिएर 2 खपटे मूल-ढोकाबाट हिन्नोमका बेसीमा जा र त्यहाँ मैले दिएको सन्देश सुना।” 3 परमप्रभुले मलाई यसो भन्ने आदेश दिनुभयो, “हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर के भन्न चाहन्छु, त्यो सुन। म यस ठाउँमा यस्तो विपत्ति ल्याउनेछु कि त्यसका बारेमा सुन्ने सबै स्तब्ध हुनेछन्। 4 यी सबै म गर्नेछु किनकि यी मानिसहरूले मलाई त्यागेका छन् र आफू वा आफ्ना पिता-पुर्खा अथवा यहूदाका राजाहरूले नचिनेका देवताहरूलाई बलिदान चढाएर यस ठाउँलाई बिराना देवताहरूको पूजास्थल बनाएका छन्। तिनीहरूले यस ठाउँलाई निर्दोष प्राणीहरूका रगतले रातै बनाएका छन्। 5 अनि आगोमा आफ्ना छोरा-छोरीहरूलाई होमबलि दिन बाल-देवताका वेदीहरू बनाएका छन्। मैले कहिल्यै तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिइनँ, यस्तो कुरो मेरो मनमा कहिल्यै आएन। 6 यसकारण यस्तो समय आउनेछ, जब त्यो ठाउँ तोपेत वा हिन्नोमको बेँसी भनिनेछैन। तर त्यसको सट्टामा हत्याको बेसी भनिनेछ। 7 यसै ठाउँमा म यहूदा र यरूशलेमका बासिन्दाहरूका युक्तिहरू विफल पार्नेछु, तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि विजयी गराउनेछु र तिनीहरूलाई लडाइँमा नाश पार्नेछु र तिनीहरूका लाशहरू चरा-चुरुङ्गी र जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु। 8 म यस सहरमा यस्तो विनाश ल्याउनेछु कि यसबाट भएर जाने सबै मानिसहरू तर्सनेछन् र त्यस सहरको हाँसोमा उडाउनेछन्। 9 शत्रुहरूले सहरलाई घेर्नेछन् र त्यहाँका बासिन्दाहरूलाई मार्ने चेष्टा गर्नेछन्। तिनीहरू यस्तो डरलाग्दो घेरामा पर्नेछन् कि सहरभित्रका मानिसहरूले एका-अर्काको मासु, आफ्ना छोरा-छोरीहरूको मासुसमेत खानेछन्।” 10 त्यसपछि त्यो माटोको गाग्रो तँसित जाने मानिसहरूको सामुन्ने फुटाइदे भनी परमप्रभुले मलाई भन्नुभयो। 11 तिनीहरूलाई सर्वशक्तिमान् परमप्रभुले भन्नुभएको यी कुरा पनि सुनाउने आदेश उहाँले मलाई दिनुभयो, “म यो सहर र यी मानिसहरूलाई तोड्नेछु र तिनीहरू फुटेको गाग्रोझैँ हुनेछन्, जुन फेरि जोडिन सक्दैन। मानिसहरूले तोपेतमा समेत लाश गाड्नेछन् किनभने अरू कतै गाड्ने ठाउँ पाइनेछैन। 12 म परमप्रभु भन्दछु कि यस ठाउँ र यहाँका बासिन्दाहरूलाई त्यसै गर्नेछु र तोपेतजस्तै बनाउनेछु। 13 यरूशलेमका घरहरू, यहूदाका राजाहरूका महलहरू र ती सबै घरहरू कौसीमा आकाशका नक्षत्रहरूलाई धूप बालिएका छन् र बिराना देवताहरूलाई मद्य-बलि चढाएका छन्, ती सबै तोपेतजस्तै बिटुलो पारिनेछन्।” 14 त्यसपछि म तोपेतबाट फर्कें, जहाँ परमप्रभुले मलाई उहाँको सन्देश सुनाउन पठाउनुभएको थियो। म गएर मन्दिरबाट चोकमा उभिएँ र सबै मानिसहरूलाई 15 इस्राएलका परमेश्वर सर्वशक्तिमान् परमप्रभुले भन्नुभएको यो कुरा मैले भनें, “म यस सहर र छेउ-छाउका हरेक स-साना सहरमाथि आफूले भनेका सबै दण्ड ल्याउनेछु किनभने तिमीहरू ढिट छौ र मेरा वचन सुन्दैनौ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society