Online Bible

- Reklamy -

यर्मिया 18 - सरल नेपाली पवित्र बाइबल


कुमाले र माटो

1 परमप्रभुले मलाई भन्‍नुभयो,

2 “उठ्, तल कुमालेको घरमा जा, त्‍यहाँ म तँलाई मेरो सन्‍देश दिनेछु।”

3 म कुमालेको घरमा गएँ र त्‍यसलाई आफ्‍नो चक्‍कामा केही बनाइरहेको देखें।

4 त्‍यसले माटोले बनाइरहेको भाँडा ठीक भएन र त्‍यो माटो लिएर त्‍यसले आफूलाई मन परेको अर्को भाँडा बनायो।

5 तब परमप्रभुले मलाई भन्‍नुभयो,

6 “कुमालेले माटोसित जे गर्‍यो, के त्‍यसरी नै मैले इस्राएलका प्रजासित गर्ने मेरो हक छैन र? मेरो हातमा तिमीहरू त कुमालेका हातका माटोझैँ छौ।

7 यदि कुनै दिनमा कुनै जाति वा राज्‍यलाई म उखेल्‍छु, तोड्छु वा नाश पारिदिन्‍छु भनुँला,

8 तर त्‍यो जातिले पश्‍चात्ताप गर्‍यो भने मैले जे गर्छु भनेको थिएँ, त्‍यसो गर्नेछैनँ।

9 यदि कुनै समयमा कुनै जाति वा राज्‍यलाई म बनाउँछु वा खडा गर्छु भनुँला,

10 तर त्‍यस जातिले मेरा आज्ञापालन गरेन र दुष्‍ट्याइँ गर्न लाग्‍यो भने मैले जे गर्छु भनेको थिएँ, त्‍यसो गर्नेछैनँ।

11 यसकारण अब यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई भन् कि म परमप्रभुले तिनीहरूका विरुद्धमा एउटा युक्ति रच्‍दै छु र तिनीहरूलाई दण्‍ड दिने तयारी गर्दै छु। तिनीहरूलाई आफ्‍ना पापी जीवन छाड्‍न र आफ्‍ना चालचलन सुधार्न भन्।

12 तिनीहरूले यस्‍तो जवाफ दिनेछन्, “हामीले किन त्‍यसो गर्नु? ‘अहँ, हामी त्‍यसो गर्दैनौं। हामी आफूलाई मन परेअनुसार हठी र दुष्‍ट नै भइरहौंला’।”


मानिसहरूले परमप्रभुलाई इन्‍कार गरेका

13 परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका प्रजाले घिनलाग्‍दो काम गरेका छन्, हरेक जातिलाई सोध, के यस्‍तो अघि कहिल्‍यै भएको छ?

14 के लेबनानका अग्‍ला चट्टानहरूमा हिंउ बिलाउँछ? के त्‍यहाँका चिसा पहाडी खोलाहरूमा कहिल्‍यै पानी सुक्‍छ र?

15 तर मेरा प्रजाले मलाई भुलेको छ, तिनीहरूले व्‍यर्थका मूर्तिहरूलाई धूप बालेका छन् र आफू हिंड्‍ने बाटोमा ठेस खाएका छन्। तिनीहरूले आफ्‍नो पुरानो बाटो बिराएका छन् र तिनीहरू गोरेटोतिर लागेका छन्।

16 तिनीहरूले यो देश घिनलाग्‍दो बनाएका छन्, सदाकालको निम्‍ति तुच्‍छ ठानिनेछ, त्‍यो देखेर त्‍यताबाट हिंड्‍नेहरू सबै तर्सनेछन्; तिनीहरूले छक्‍क परेर आफ्‍ना शिर हल्‍लाउनेछन्।

17 पूर्वी बतासले धुलो उडाएझैँ म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको अघि छरपष्‍ट पारिदिनेछु। तिनीहरूको सर्वनाशको दिनमा म तिनीहरूलाई आफ्‍नो पिठ्युँ फर्काइदिनेछु।”


यर्मियाको विरुद्धमा षड्यन्‍त्र

18 तब मानिसहरूले भने, “आओ, यर्मियालाई चुप पार्न हामी केही गरौं। हामीलाई शिक्षा दिने पूजाहारी, सल्‍लाह दिने ज्ञानी पुरुष र परमेश्‍वरको सन्‍देश सुनाउने अगमवक्ताहरूको कहिल्‍यै कमी हुनेछैन। हामी उसको बदनाम गरौं र उसका कुरा नसुनौं।”

19 यसकारण मैले यसरी प्रार्थना गरें, “हे परमप्रभु, मेरो बिन्‍ती सुन्‍नुहोस् र मेरा शत्रुहरूले के भन्‍दै छन्, त्‍यो पनि सुन्‍नुहोस्।

20 असल कामको इनाम खराबी हुन्‍छ र? तर तिनीहरूले त मलाई फसाउन एउटा खाडल खनेका छन्। म कसरी तपाईंकहाँ आई तपाईंको क्रोध तिनीहरूमाथि पर्नदेखि टार्न बिन्‍ती गर्दै तिनीहरूको पक्षमा बोलें, त्यो सम्‍झनुहोस्।

21 यसकारण अब तिनीहरूका छोरा-छोरीहरू भोकले मरून्, तिनीहरूचाहिँ लडाइँमा मारिऊन्, स्‍वास्‍नीहरू विधवा र नि:सन्‍तान होऊन्, पुरुषहरू रुढीले मरून् र जवानहरू लडाइँमा मारिऊन्।

22 एक हुल मानिसहरूलाई एक्‍कासि तिनीहरूका घर लुट्‍न पठाउनुहोस् र तिनीहरू डरले चिच्‍च्‍याऊन्। तिनीहरूले मलाई मार्न खाडल खनेका छन् र मलाई फसाउन पासो थापेका छन्।

23 तर परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्यन्‍त्रहरू तपाईंको अघि जाहेरै छ। तिनीहरूका दुष्‍ट्याइँ क्षमा नगर्नुहोस् र पाप नमेटिदिनुहोस्। तिनीहरूको हार गराएर आफ्‍नो अघि लडाइदिनुहोस् र आफ्‍नो क्रोधमा तिनीहरूसित उचित व्‍यवहार गर्नुहोस्।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy