यर्मिया 17 - सरल नेपाली पवित्र बाइबलयहूदाको पाप र दण्ड 1 परमप्रभु भन्नुहुन्छ, “हे यहूदाका मानिसहरू हो, तिमीहरूको पाप फलामको कलमले लेखिएको छ। त्यो तिमीहरूका हृदयमा हिराको टुप्पाले खोपिएको छ र वेदीका चोसाहरूमाथि कुँदिएको छ। 2-3 हरेक हरियो रूखनिर डाँडा-डाँडाका टुप्पामा हरेक हरियो रूखनिर र खुल्ला मैदानका पहाडहरूमाथि अशेरा-देवीका वेदीहरूमा मूर्तिहरूको पूजा गरेका तेरा छोरा-छोरीहरूलाई पनि याद छ। सारा देशभरि तैँले गरेका पापहरूका कारणले गर्दा तेरा सबै धन-सम्पत्ति म तेरा शत्रुहरूलाई लुटी लैजान दिनेछु। 4 मैले तँलाई दिएको देश तैँले छोड्नुपर्नेछ र तैँले नचिनेको देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लाउनेछु किनभने मेरो रिस आगोझैँ भएको छ र त्यो सधैँ दन्किरहनेछ।” विभिन्न उक्तिहरू 5 परमप्रभु भन्नुहुन्छ, “त्यो मानिस श्रापित हो, जसको हृदय मदेखि तर्किजान्छ, जसले मानिसमा र मरिजाने मानिसको शक्तिमा भरोसा राख्दछ। 6 त्यो मरुभूमिको एउटा पोथ्राझैँ छ, जुन सुखा र उजाड-स्थानमा, केही नउम्रने नुनिलो जमिनमा उम्रन्छ, त्यो कहिल्यै सप्रँदैन। 7 “तर त्यो मानिस धन्य हो, जसले ममाथि भरोसा राख्दछ। 8 त्यो खोलाको छेउमा उम्रेको रूखजस्तो हो, जसको जरा पानीसम्म फिंजिएको हुन्छ। गर्मीका दिनमा त्यसलाई डर हुँदैन किनभने त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरी पर्दा पनि त्यसलाई केही चिन्ता हुँदैन किनभने त्यसले आफ्ना फल दिइरहन्छ। 9 “मानिसको मन कसले बुझ्न सक्छ? त्योजस्तो छली अरू केही हुँदैन, त्यसलाई निको पार्न सकिंदैन। 10 म परमप्रभुले मानिसहरूका मनको खोजी गर्दछु, तिनीहरूका हृदयको जाँच गर्दछु। हरेकलाई म त्यसका जीवनका चाल र कर्मअनुसार फल दिंदछु।” 11 बेइमानीसित धन कमाउने मानिस त्यो चरीजस्तो हो, जसले अर्काका फुलबाट चल्ला काढ्दछे। आफ्ना जीवनकालको आधा समयमै त्यस धनले त्यसलाई छोडिजान्छ र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्दछ। 12 आदिकालदेखि उच्च पहाडमा खडा गरिएको महिमित सिंहासनजस्तो हाम्रो मन्दिर छ। 13 हे परमप्रभु, तपाईं इस्राएलको आशा हुनुहुन्छ। तपाईंलाई त्याग्नेहरू सबै लाजमा पर्नेछन्, धुलोमा लेखिएका नामझैँ तिनीहरू मेटिनेछन् किनभने तिनीहरूले तपाईं परमप्रभु जिउँदो पानीको मूललाई त्यागेका छन्। यर्मियाले परमप्रभुसँग सहायता माग्दछन् 14 हे परमप्रभु, तपाईंले मलाई निको पार्नुहोस् र म पूरै निको हुनेछु, मलाई बचाउनुहोस् र बाँच्नेछु। म तपाईंलाई नै प्रशंसा गर्दछु! 15 मानिसहरूले मलाई भन्छन्, “परमप्रभुले हामीलाई दिनुभएको वचन खोइ? उहाँले ती कुरा पूरा गरून्!” 16 तर हे परमप्रभु, तिनीहरूमाथि विपत्ति ल्याउनुहोस् भनी मैले तपाईंसित कहिल्यै बिन्ती गरिनँ। तिनीहरूमाथि दु:खका दिन आऊन् भन्ने इच्छा मैले गरिनँ। हे परमप्रभु, मैले के भनें, त्यो तपाईंलाई थाहा छ। 17 मेरो निम्ति तपाईं डरको कारण नबन्नुहोस्, कष्टका दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। 18 मलाई सताउनेहरूमाथि बदनाम ल्याउनुहोस् तर मलाई बदनामीबाट जोगाउनुहोस्, परमप्रभु। तिनीहरूलाई भयभीत पार्नुहोस् तर मलाई डरदेखि बचाउनुहोस्। तिनीहरूमाथि विपत्ति ल्याउनुहोस् र तिनीहरूलाई चकनाचुर पार्नुहोस्। विश्राम दिनको प्रतिपालन 19 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, तँ गएर यहूदाका राजाहरू भित्र र बाहिर गर्ने जनसाधारणका मूल-ढोका भनिने ठाउँमा मेरो समाचार सुना। त्यसपछि यरूशलेमका अरू सबै मूल-ढोकाहरूमा जा। 20 यहूदाका राजा, सबै प्रजा र यरूशलेमका सबै बासिन्दाहरू र ती मूल-ढोकाहरूबाट पस्ने मानिसहरूलाई मेरो कुरा सुन्नू भन्। 21 तिनीहरूलाई भन् कि उनीहरूलाई आफ्नो ज्यानको माया छ भने विश्रामको दिनमा कुनै भारी बोक्नुहुँदैन र यरूशलेमका ती मूल-ढोकाहरूबाट कुनै बोझ बोकेर भित्र लैजानुहुँदैन। 22 विश्रामका दिनमा आफ्ना घरबाट केही थोक बोकेर बाहिर निकाल्नुहुँदैन। तिनीहरूले विश्रामको दिनमा केही काम गर्नुहुँदैन तर मैले तिनीहरूका पुर्खालाई आज्ञा दिएअनुसार त्यस दिनलाई पवित्र दिन मान्नुपर्छ। 23 तिनीहरूका पुर्खाले मेरा कुरा सुनेनन् र मेरा कुरामा ध्यान दिएनन् तर त्यसका सट्टामा तिनीहरू हठी भए। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र शिक्षा ग्रहण गरेनन्। 24 “यी मानिसहरूलाई भन् कि तिनीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नुपर्छ। विश्राम दिनमा तिनीहरूले कुनै भारी यस सहरका मूल-ढोकाहरूबाट बोकेर भित्र लैजानुहुँदैन। त्यस दिनलाई पवित्र दिन मान्नुपर्छ र त्यस दिन केही काम गर्नुहुँदैन। 25 तब दाऊद राजाका सिंहासनमा राज्य गर्ने तिनीहरूका राजाहरू र राजकुमारहरू यरूशलेमका मूल-ढोकाहरूबाट प्रवेश गर्नेछन्। तब तिनीहरू यहूदा र यरूशलेमका प्रजासाथ रथ र घोडाहरूमा सवार हुनेछन् र यरूशलेम सधैँ मानिसहरूले भरिभराउ हुनेछ। 26 यहूदाका सहरहरूबाट, यरूशलेमका छेउ-छेउका गाउँहरूबाट मानिसहरू आउनेछन्। तिनीहरू बेन्यामीनका इलाकाबाट, बेसीहरूबाट अनि पहाडहरू र दक्षिणी यहूदाबाट आउनेछन्। तिनीहरूले मेरो मन्दिरमा होमबलि र अरू बलिदानहरू, अन्नबलि र धूप अनि धन्यवादका बलिहरू ल्याउनेछन्। 27 तिनीहरूले मेरा आज्ञापालन गर्नुपर्छ र विश्रामका दिनलाई पवित्र दिन मान्नुपर्छ। त्यस दिन तिनीहरूले कुनै बोझ बोकेर यरूशलेमका मूल-ढोकाहरूबाट भित्र र बाहिर गर्नुहुँदैन। यदि तिनीहरूले त्यसो गरे भने म यरूशलेमका मूल-ढोकाहरूमा आगो लगाइदिनेछु। यरूशलेमका राजमहलहरू आगोले भस्म हुनेछन् र आगो कसैले निभाउन सक्नेछैन।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society